Logo

जुम्लामा १४ सय बढी मतदाता थपिए

जुम्लामा एक हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । जुम्लामा गत १७ मंसिरदेखि ९ पुस गतेसम्म सञ्चालित फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रममा एक हजार ४ सय ७६ जना थपिएका हुन् ।
जुम्लामा आठ स्थानीय तहमध्ये ६ वटा स्थानीय तहमा मात्रै फोटोसहितको मतदाता नामावली संकलन गरिएको निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले बताए । उनले भने, “स्थानीय तहमा संकलन भएका भन्दा कार्यालयमा संकलन गरिएको मतदाता संख्या बढी छन् । यद्यपि छुटेका १८ वर्ष पुगेका सबै नागरिकलाई मतदाताको पहुँचमा ल्याउने अपेक्षित लक्ष्य पूरा भएको छैन ।”
जुम्लाका ६ स्थानीय तहमध्ये तिला गाउँपालिकामा २ सय ९३, पातारासीमा ३ सय २३, हिमामा १ सय ३७, तातोपानीमा ३ सय, गुठीचौरमा ३ सय ८ र कनकासुन्दरी गाउँपालिकामा १ सय १५ जना नयाँ मतदाता थपिएको निर्वाचन अधिकारी शर्माले जानकारी दिए ।
मंसिर महिनामा जिल्ला प्रशासन कार्यालय जुम्लामा ४ सय ५१ जनाले फोटोसहितको मतदाता नामावली भरेका छन् भने निर्वाचन कार्यालय जुम्लाबाट ३ सय ४ र इलाका प्रशासन कायालय नराकोटबाट २ सय १३ जनाको मतदाता नामावली संकलन भएको छ । जसमा १ सय ३१ जान जिल्ला बाहिरका मतदाताले जिल्ला निर्वाचन कार्यालय जुम्लाबाट फोटोसहितको मतदाता नामावली भरेका छन् ।
जिल्लाका आठै स्थानीय तहमा केन्द्रबाटै १० दिनका दरले पहिलो चरणको मतदाता नामावली संकलन विशेष कार्यक्रम आयोजना गरिएको थियो । मतदाता नामावली संकलनमा सहभागी हुन पनि सूचना गरिएको थियो । तर तथ्यांक हेर्दा नामावली संकलनमा जुम्ली नागरिकको जुम्लामा मतदाताको निराशाजनक सहभागिता देखिएको छ भने जुम्लामा थपिएका १४ सय मतदातासहित ९ पुससम्म कायम भएको तथ्यांकअनुसार जुम्लाको कुल मतदाता संख्या ६८ हजार १ सय १४ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्