Logo

गाउँको प्रमुख नगदेबाली बन्दै तेजपत्ता


उदयपुर जिल्लाको रौता, आँपटार, खाँबु, साउने, चिलाउने लगायतका गाउँमा केही वर्ष अघिसम्म खसीबोकाको घाँसको रुपमा मात्रै प्रयोग हुने तेजपत्ता अहिले प्रमुख आम्दानीको माध्यम बनेको छ ।
५-६ वर्षअघि तेजपत्ताको महत्व बुझेका किसान यसको व्यावसायिक खेतीमा लागेपछि तेजपत्ता प्रमुख नगदेबाली बनेको हो । उनीहरुले अघिल्लो वर्षको तुलनामा हरेक वर्ष दोब्बर बढी आम्दानी गर्दै आएका छन् ।
तीन वर्ष अघिसम्म प्रति केजी १४ रुपैंयाँमा बिक्री हुने तेजपत्ता यसवर्ष प्रतिकेजी ३० रुपैयाँसम्ममा बिक्री गरिरहेका छन् । हरेक वर्ष मूल्य बढ्दै गएको र बजारको समस्या नभएकाले किसानले तेजपत्ताको व्यावसायिक खेती गर्दै प्रमुख नगदेबालीको रुपमा विकास गरिरहेको आँपटारका टामिन्द्र राई बताउँछन् ।
“जंगलमा प्राकृतिक रुपमा उम्रिएको तेजपत्तालाई व्यवसायिकरण गरी अहिले प्रत्येक किसानले आफ्नो बारीमा रोपेका छन्” राईले भने, “यसअघि परम्परागत रुपमा संकलन गरी बिक्री गर्दै आएका किसानले गत वर्षदेखि पातको गुणस्तर निर्धारण गरी व्यवस्थित रुपमा बिक्री गर्न थालेका छन् ।” त्यस क्षेत्रमा जडिबुटी र मसलाका लागि बहुउपयोगी मानिने विश्वकै सवैभन्दा उत्तम ‘सिनामोमन तमला’ जातको तेजपत्ता समेत पाइने राईले बताए ।
“पात संकलन गर्न, हाँगा काट्न र बोक्रा निकाल्न नजान्दा भनेजति मूल्य पाउन सकिएको थिएन” रौता कोल्टेका वीरबहादुर मगरले भने, “तर यी सबै कुरा सिकेपछि पात र बोक्राको फरक फरक मूल्य पाउन थालेका छौं ।” उनले गुणस्तरीय उत्पादन बजारसम्म पु¥याउन नसकेका किसानले प्रविधिबारे जानकारी पाएपछि दोब्बर बढी आम्दानी लिएको जानकारी दिए ।
सामुदायिक वन उपभोक्ता महासंघ उदयपुरको प्राविधिक सहयोगपछि किसानले बिगत १० वर्षदेखि आफैंले नर्सरी निर्माण गरी बिरुवा उत्पादन समेत गर्दै आएका छन् । एउटा हुर्किएको बिरुवाबाट कम्तिमा २० वर्षसम्म आम्दानी लिन सकिने भएकाले किसानले तेजपत्तालाई प्रमुख नगदेबाली मान्दै आएका छन् ।
भनेजस्तो आम्दानी भएपछि व्यावसाय बढाउनका लागि उनीहरुले गाउँगाउँमा समूह निर्माण गरेका छन् । व्यावसायिक रुपमा तेजपत्ता उत्पादन र बिक्री गरेका कारण त्यस क्षेत्रका किसान आर्थिकरुपमा सम्पन्न हुँदै गएका छन् ।
तेजपत्ताको बिक्रीबाट किसानले घर खर्च चलाउनुका साथै कतिपयले सुन र घरजग्गा समेत किनेका छन् । स्थानीय सीता राई गत वर्ष बिक्री गरेको तेजपत्ताको रकमबाट सुन किनेर लगाएको बताइन् ।
“खसीबाख्रालाई खुवाएर र बारीमै कुहिएर जान्थ्यो” उनले भनिन्, “गाउँलले १० वर्ष अघि मात्रै बिक्री हुने कुरा थाहा पाएर खेती सुरु गरेका हुन् ।” आफू जस्तै तेजपत्ता बेचेर आएको पैसाले सुन किनेर लगाउने महिला तीन दर्जन भन्दा बढी भएको सीताले बताइन् ।
उदयपुरमा वार्षिक करीव १ हजार ५ सय मेट्रिक टन तेजपत्ता उत्पादन हुने गरेको छ । काठमाडौं, विराटनगर, तथा भारतका विभिन्न क्षेत्रमा यसको बिक्री गरिन्छ । सडक र यातायातको अभावका कारण समयमै बजारसम्म ढुवानी गर्न नसक्दा जिल्लाको बाँस्बोटे, ताम्लिछा, बलम्तालगायतका गाउँमा लगाएको तेजपत्ता भने सडेर खेर जाने गरेको किसानहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्