Logo

मुख्यमन्त्री एकीकृत बस्ती विस्तार कार्यक्रम

अझै बनेन सुकुम्बासीको आवास गृह


मुख्यमन्त्री एकीकृत बस्ती विस्तार कार्यक्रम अन्तरसुदूरपश्चिम प्रदेशको तीन ठाउँमा बनिरहेको ५७ वटा दुई कोठे आवास एक वर्षमा पनि बन्न सकेको छैन ।
कैलालीको भजनी नगरपालिका–९, भुरुवाको राजी बस्ती, कञ्चनपुरको वेटकोट नगरपालिका–५, धर्मपुरमा २५/२५ वटा र डोटीको दिपायल सिलगढी नगरपालिका–७, राजपुरको वादी बस्तीमा सातवटा आवास गृह निर्माण भइरहेको छ । तर गत वर्ष पुस महिनादेखि सुरु भएको निर्माण कार्य पूरा भएको छैन । स्थानीयका अनुसार निर्माण कम्पनीले आवास निर्माणका सामग्री उपलब्ध नगराएको हुनाले निर्माणमा ढिला सुस्ती भएको हो ।
मुख्यमन्त्री एकीकृत बस्ती विस्तार कार्यक्रम कार्यान्वयन गरिरहेको सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले भजनीमा बीएण्डबी बिल्डर्स तथा वेदकोट र दिपायल सिलगढीमा नागार्जुन कन्स्ट्रक्सनले निर्माणको ठेक्का पाएका छन् । भजनीमा बीएण्डबीले एक करोड एक लाख २९ हजार ३ सय १६, नागार्जुनले वेदकोटमा एक करोड एक लाख ८० हजार ८२७ र दिपालय सिलगढीमा ३६ लाख ४० हजार ७ सय ९५ रुपैयाँ (भ्याटबाहेक) मा ठेक्का कबुल गरेका छन् । तर पनि निर्माण कम्पनीहरूले पेटी ठेकदारमार्फत घर निर्माण गराइरहेका छन् ।
स्थानीयका अनुसार बीएण्डबीले निर्माण सामग्री आफूले उपलब्ध गराउने पेटी ठेकेदार विष्णु डगौरालाई १५ लाख रुपैयाँ निर्माणको जिम्मा लगाएको छ । डगौराले निर्माण भइरहेको २५ वटा घरको चुलीसम्म स्ट्रकचर बनेको बताए । निर्माणाधीन घरमा छाना हाल्ने, प्लास्टर गर्ने, ग्यालरी जोड्ने, ट्वाइलेट बाथरुम बनाउने र रंग रोगन गर्ने काम बाँकी छ । उनले सामग्री उलब्ध भएमा अबको दुई महिनामा सबै घरको निर्माण पूरा गरी हस्तान्तरण गर्न सकिने बताए ।
एक वर्षदेखि घर निर्माण पूरा नहुँदा घर निर्माणका लागि भएको काठेघर भत्काएर जग्गा दिएका अल्पसंख्यक राजी समुदाय समस्यामा परेका छन् । “तत्कालै पक्की घर निर्माण गरेर दिन्छौं भनेपछि पुसको चिसोमा घर भत्काएर गोठमा बस्यौं,” राजीबस्तीकी बेर्ली राजीले भनिन्, “गत वर्षको चिसो खपी नसक्नु भयो । बर्खा पनि गोठमै काट्यौं । यसपालिको चिसोमा त नयाँ घर बस्न पाइएला भन्ने आशा थियो । त्यो पनि पूरा भएन ।”
स्थानीय बल्कु राजीले नयाँ घर पाउने आशमा चिसो र बर्खामा बालबालिका र बुढापाकालाई बचाउनै मुस्किल भइरहेको बताए । उनले नयाँ पक्की घर पाउनु खुशीको कुरो भए पनि निर्माणमा ढिलाइले गर्दा त्यो खुशी पाउन कठिन भएको बताए । “प्रदेश सरकारले घर बनाएर दिँंदै छ । यो हाम्रो लागि एकदमै खुसीको कुरा हो,” उनले भने, “हाम्रो समस्यालाई हेरेर छिट्टै घर बनाउन लगाउनु पर्छ ।”
यसैगरी, वेदकोटमा बनिरहेको मुक्तकमैया, मुक्तहलिया र आरक्ष पीडित समुदायको घर निर्माण कार्यको प्रगति पनि राजी बस्तीको जस्तै रहेको मन्त्रालयले जनाएको छ । तर दिपालय सिलगढीमा निर्माण कार्य सबैभन्दा सुस्त छ । मन्त्रालयका अनुसार सात घरमा दुई घरको निर्माण कार्य प्रारम्भ नै भएको छैन, तीन घरको जग हाल्ने काम मात्रै पूरा भएको छ र दुई वटा घरको मात्रै चुलीसम्मको संरचना तयार भएको छ । प्रदेश सरकारले ठेक्का लागि निर्माण कार्य प्रारम्भ भएको आयोजनाको म्याद चैत मसान्तसम्म थप्ने निर्णय गरेपछि आवास निर्माण कार्यको पनि स्वतः म्याद थपिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्