Logo

हिलेपानी र भालुखोप डाँडामा बोरिङबाट पानी

हिलेपानी र भालुखोप डाँडामा बोरिङबाट पानी

रामेछापको रामेछाप नगरपालिका–७ हिलेपानी र ओख्रेनीको भालुखोप डाँडामा बोरिङ (ड्रिल) प्रविधिबाट खानेपानी निकालिएको छ । १ हजार पाँच सय मिटर उचाइमा रहेको रामेछापको हिलेपानी कालीकुवामा बोरिङ प्रविधिमार्फत खानेपानी निकालिएको हो । हिलेपानीमा पूजाआजासहित बोरिङ प्रविधिबाट खानेपानी तान्ने कामको सुरुवात गरिएको थियो ।
बोरिङ खन्ने क्रममा ४५ मिटरको गहिराइमै पानीको स्रोत भेटिएको र अझ गहिराइमा जाँदा पानीको मात्रा पनि बढ्दै गएको रामेछाप नगरपालिका–७ का वडाध्यक्ष समिर कार्कीले बताए । हिलेपानी र भालुखोपमा यो प्रविधिमार्फत पानी परीक्षण पूर्णरूपमा सफल भए खानेपानीको समस्या भोग्दै आएका वडा नम्बर ७ सुकाजोरका ५ सय घरधुरी र भालुखोपका ३ सयभन्दा बढी घरधुरी लाभान्वित हुनेछन् ।
वडाध्यक्ष कार्कीका अनुसार हिलेपानीमा बोरिङ प्रविधिमार्फत दिगोरूपमा पानी निस्कन सक्ने प्राविधिकको अनुमान छ । खानेपानीको समस्या भोग्दै आएको हिलेपानी आसपासका क्षेत्रमा यो प्रविधि सफल भए अन्य क्षेत्रमा पनि बोरिङ प्रविधि प्रयोग हुनसक्नेछ । यसअघि रामेछाप नगरपालिका–६ र ७ को सिमाना भालुखोपमा पनि यो प्रविधि सफल भएको थियो । रामेछापको मन्थली नगरपालिका, रामेछाप नगरपालिकाका अधिकांश क्षेत्र सुख्खाग्रस्त रहेकाले तामाकोसी नदी र अन्य खोलाबाट लिफ्टमार्फत खानेपानी आयोजनाको काम अगाडि बढाइएको छ । लिफ्ट खानेपानी आयोजना खर्चिलो भएकाले सम्भावित खानेपानी स्रोतको पहिचान गरी बोरिङ प्रविधिमार्फत खानेपानीको मुहानको खोजी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्