Logo

अस्ताए सिंहदरबारलाई गाउँ जोड्ने योजनाकार

सात दशकदेखि राष्ट्रिय राजनीतिमा सक्रिय जीवन बिताइरहेका विकासका पहरेदार पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । लामो समयदेखि मुटु र स्वासप्रश्वास समस्याबाट ग्रसित रहेका अधिकारीको शनिबार साँझ ९:३५ बजे काठमाडौंको मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा निधन भएको हो । ८२ वर्षीय अधिकारीलाई लामो समय ललितपुरको मेडिसिटी अस्पतालमा राखिएको थियो । स्वास्थ्यमा सुधार आउन नसकेपछि गत माघ २४ गते मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा सारिएका अधिकारीको शनिबार साँझ निधन भएको अस्पतालले जनाएको छ ।
नेपालमा पहिलोपटक कम्युनिस्ट पार्टीका तर्फबाट पहिलो बजेट संसद्मा प्रस्तुत गर्ने तत्कालीन अर्थमन्त्री अधिकारीको निधनले उदाउँदै गरेको मुलुकको विकासलाई अपूरणीय क्षति पुगेको छ । अधिकारी सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली नेतासमेत थिए । २०५१ सालमा तत्कालिन नेकपा एमालेको ९ महिने शासनकालमा अर्थमन्त्री बनेका उनले आफ्नो पालामा ‘आफ्नो गाउँ, आफैं बनाउँ’ भन्ने नारासहित विभिन्न सामाजिक सुरक्षाका कार्यक्रम ल्याएर नेपाल कम्युनिष्ट पार्टीलाई नयाँ शिराबाट परिचित गराएका थिए । तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको ९ महिने सरकारले ल्याएको नीति तथा कार्यक्रमअनुसार आएको बजेट तथा कार्यक्रमको चर्चा अहिले पनि उत्तिकै छ । सामाजिक सुरक्षा भत्तालगायत कार्यक्रम र देशका ज्येष्ठ नागरिकको सम्मान गर्नु तथा जीवनयापनमा टेवा पु¥याउनका लागि ७५ वर्ष उमेर पुगेका सम्पूर्ण ज्येष्ठ नागरिकलाई भत्ता वितरणको नीति मनमोहन सरकारले ल्याएको थियो ।
त्यही नीति तथा कार्यक्रमलाई टेकेर अहिलेको शक्तिशाली मानिने दुईतिहाइ बहुमतको कम्युनिस्ट नेतृत्वको सरकारले पनि नीति तथा कार्यक्रम ल्याएको छ । अहिलेको सरकारले ल्याएका अधिकांश कार्यक्रम तत्कालिन मनमोहन अधिकारी नेतृत्व सरकारको पालामा अर्थतन्त्रको दिगो विकासका लागि उद्योग, व्यापार पर्यटन तथा वित्तीय क्षेत्रको प्रवद्र्धन गर्ने नीति सार्वजनिक गरिएका कार्यक्रम हुन् । समाजवाद उन्मुख अर्थतन्त्रको वकालत गर्दै आएका अधिकारी नेपालको राजनीतिलाई शुक्ष्म रुपमा बुझ्ने अर्थमन्त्रीमा चिनिन्छन् । उनी २०१५ सालमा बनेको संविधानदेखि पछिल्लो २०७२ सालमा जारी भएको संविधान निर्माणका पहरेदारसमेत हुन् । समृद्धि र विकासका पक्षपाती नेताका रुपमा चिनिने मन्त्री अधिकारीलाई पछिल्लो पटक जिउँदो इतिहासका साक्षी भन्ने गरिन्थ्यो ।
सरकारी, निजी तथा ज्येष्ठ नागरिकको मनमा बस्न सफल अधिकारीले हालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग लामो समयदेखि निकट रहेर काम गरेका थिए । अधिकारी आफ्नो पार्टीभित्र मात्र नभै र समग्र राजनीतिक वृतमा खरो, निर्डर र इमान्दार नेताका रुपमा परिचित भए पनि पछिल्लो समय भने उनको आफ्नै पार्टीले उपेक्षा गरेको गुनासो भने उनी आफैंले गरेका थिए । केपी शर्मा ओली नेतृत्वको सरकारले आफूलाई उपेक्षा गरेको आफ्ना भावानाहरु अनुसरण नगरेकोमा भने उनी चिन्तित थिए । तथापी पार्टी राजनीतिमा दरिलो खम्बाका रुपमा समेत सधैं नै बनिरहे । लामो समयसम्म राष्ट्रिय राजनीतिमा सक्रिय अधिकारीले उपप्रधानमन्त्रीका अलावा अर्थमन्त्री, यातायात तथा निर्माणमन्त्रीसमेत भए । उनी चारपटक सांसदमा निर्वाचित भएका थिए । अधिकारीले संसदीय दलको उपनेता, प्रमुख सचेतक, पार्टीको आर्थिक, उद्योग, संसदीय, अनुगमन जस्ता विभाग प्रमुख जस्ता भूमिका निर्वाह गरेका थिए ।
अस्पताल भर्ना हुनुअघि कारोबारलाई अन्तर्वार्ता दिँदै अधिकारीले उत्पादन, रोजगारी, निर्यात प्रबद्र्धन र आयात प्रतिस्थापनलाई ओली सरकारकोे मुख्य एजेन्डा बनाउन सुझाव दिएका थिए ।
अर्थशास्त्र र कानुनमा स्नातकोत्तर गरेका अधिकारी २००८ सालदेखि राजनीतिमा सक्रिय रहँदै आएका थिए । विधिको शासन र पूर्वाधार विकासमा ओली सरकारले विशेष जोड दिनु पर्ने उनको भनाइ थियो ।
राजनीतिक यात्राका क्रममा चार वर्षसम्म भूमिगत जिवन बिताएका उनी तीन वर्ष जेल जिबन समेत बिताएका थिए । अधिकारीका नेपालमा औद्योगीकरणका समस्या, मेरो जीवनयात्रा नामक किताव पनि प्रकाशनमा छन् । ८२ वर्षको उमेरमा निधन भएका अधिकारीको महोत्तरी जिल्लामा जन्म भएको थियो । स्थायी ठेगाना मोरङ विराटनगरमा रहेको अधिकारी ललितपुरको सानेपामा बस्दै आएका थिए । उनका तीन छोरी छन् । सुकुम्बासी बसोबासको विकराल समस्या समाधान गरी जनतालाई वैकल्पिक रोजगारीका अवसरहरू उपलव्ध गराउने नीति मनमोहन नेतृत्वको सरकारका पालामा दिएको थियो भने ओली नेतृत्वको सरकारो पालामा यी कुरा संविधानप्रद भएकाले सोहीअनुसार अंगिकार गरिने बताएको छ । नौ महिने शासन कालमा ल्याइएको नीति तथा कार्यक्रमले मुलुकको समग्र विकासको पूर्वसर्त रहेको उल्लेख गरेको थियो त्यही ०५२÷०५३ को नीति तथा कार्यक्रममा अहिले समृद्धिको पूर्वसर्त विकास भएकोले कृषिलगायतका क्षेत्रबाट विकासको काम बढाईने कार्यक्रम ओली सरकारले राखेको छ ।
तत्कालिन समयमा पनि कृषिको विकासलाई एकीकृत तथा समन्वयात्मक ढंगले अगाडि बढाउन साना सिँचाइ, ग्रामीण विद्युतीकरण, पूर्वाधार निर्माण, बजार तथा प्रविधि विकासका कार्यक्रमहरू एकसाथ अगाडि बढाउने ढंगले कार्यक्रमहरू निर्माण गरिएका थिए । मनमोहन अधिकारीको नीति तथा कार्यक्रमले पनि कृषिपछि दोस्रो प्राथमिकतामा ऊर्जालाई राखिएको थियो । अहिले २७ वर्षपछिको पनि सरकारको प्राथमिकतामा मुख्यतया यही विषयलाई राखेको छ । तत्कालिन कार्यक्रमले एक दशकको अवधि अर्थात् २०६२ मा देशमा गरिबी र अशिक्षा हट्ने लक्ष्य राखिएको थियो । वर्तमान अवस्थामा देशमा २१ प्रतिशत जनाता गरिबीको रेखामुनि रहेको छ ।
सामान्यतया २४ वर्षअघि अधिकारीले अबलम्वन गरेका धेरै नीतिलाई अहिलेको सरकारले पनि प्राथिमकिता दिएको छ भने त्यो समयमा विस्तार गरिएका सामाजिक सुरक्षा भत्तालगायतका कामलाई फरक मोडेलबाट अघि बढाइने उल्लेख गरिएको छ । त्यसपछि पनि पटक–पटकको बजेट अधिकारीले प्रस्तुत गर्ने मौका पाएका थिए । उनले ल्याउने बजेट तल्लो तहसम्म रकमको विनीयोज हुने विज्ञहरूले बताउने गरेका छन् । नेपालको इतिहासमा कम्युनिष्ट पार्टीबाट अर्थमन्त्री बन्ने प्रभावशाली नेताको श्रेय उनै अर्थमन्त्री अधिकारीलाई जाने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्