कच्चा पदार्थको उच्च भन्सार नै उत्पादनमूलक उद्योगको बाधक

स्वदेशमै उद्योगधन्दा सञ्चालन गरी आर्थिक विकासमा उल्लेख्य योगदान पुराउने सरकारी नारा केवल कागजमै सीमित भएको छ । नेपालमा रोजगारी सिर्जना गरी कुल गार्हस्थ्य उत्पादनमा उद्योगको योगदान बढाउने लक्ष्यसहित स्थापित उद्योगहरू तयारी सामानमा लाग्ने भन्दा कच्चा पदार्थमा लाग्ने भन्सार शुल्क बढी हुँदा मारमा परेका छन् । यही भन्सार शुल्क उच्च हुँदा स्थापित कतिपय उद्योग बन्द हुन लागेका छन् भने नयाँ उत्पादनमूलक उद्योग खुल्न सकेका छैनन् ।
यसको पछिल्लो उदाहरण हेटौंडामा सञ्चालित निम्बस समूह अन्तर्गतको प्रोजियोकेम इन्डष्ट्रिज बनेको छ । पर्याप्त जनशक्ति, लगानी र नयाँ आइडिया हुँदाहुँदै पनि उद्योगले नयाँ उत्पादन थप्न सकेको छैन । उद्योगका म्यानेजर शैलेश लामिछाने अधिकांश कच्चा पदार्थ आयात गर्नुपर्ने भन्दै तयारी उत्पादन र कच्चा पदार्थको भन्सार दर फरक हुँदा तयारी सामानको भन्दा कच्चा पदार्थको भन्सार दर बढी भएपछि प्रतिस्पर्धी क्षमता गुमेको बताउँछन् । “कम्पनीले उच्च भन्सार दरका कारण आयातीत वस्तुसँग प्रतिस्पर्धा गर्न नसकेपछि ४० करोड रुपैयाँ लगानीमा सञ्चालन गरिरहेको डिओपी प्लान्ट बन्द गर्न लागेका छौ ” उनले भने, “तयारी वस्तुमा आयात गर्दा लाग्ने शुल्क कच्चा पदार्थमा लाग्ने भन्दा तेब्बर बढी छ । यस्तो अवस्था उद्योग कसरी चल्छ ?” पत्रकारहरूसंग कुरा गर्दै उनले सरकारको नीति परिवर्तन नभएसम्म उत्पादनमूलक उद्योगको भविष्य संकटमा रहेको बताए ।
करिब ३ अर्ब रुपैयाँ लगानीमा यो कम्पाउन्डभित्र केमिकल, ड्रम र झोला बनाउने फेब्रिक उद्योगहरू सञ्चालनमा छन् भने रंगको कच्चा पदार्थ इमल्सन बनाउने उद्योग सञ्चालनको तयारीमा छ । हेटौँडा औद्योगिक क्षेत्रभित्र दुई सय रोपनी जमिनमा फैलिएको छ । भारत तथा तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गरी संचालन गर्नुपर्ने उद्योगहरू कच्चा पदार्थको भन्सार शुल्ककै कारण उत्पादनलागत महँगो भएको हो । अधिकांश उत्पादनमूलक उद्योगहरू कच्चा पदार्थ आयात गर्ने गरेका छन् । निम्बस समूहका प्रबन्ध निर्देशक आनन्द बगारियाले उत्पादनमूलक उद्योगका लागि सबैभन्दा ठूलो चुनौती कच्चा पदार्थमा लाग्ने भन्सार भएको बताउँछन् । कच्चा पदार्थमा धेरै भन्सार शुल्क भएपछि तयारी सामानसंग प्रस्तिस्पर्धा गर्न नसक्ने उनको अनुभव छ । “सरकारले औद्योगीकरण गर्ने भन्छ तर भन्सार दरमै न्याय गर्न सक्दैन अनि मुलुक कसरी अघि बढ्छ ?”, निम्बसका प्रबन्ध निर्देशक बगरियाले भने । डिओपी प्लान्टले जुत्ता तथा कार्पेटलाई मुलायम र लेसिलो बनाउने कच्चा पदार्थ उत्पादन गर्दै आएको छ । नेपालमा यस्तो कच्चा पदार्थको बजार मासिक ६ सय टन रहेको अनुमान गरिन्छ । ४० करोड रुपैयाँ लगानीको डिओपी प्लान्ट बन्द गर्ने तयारीसँगै उद्योगले ८० करोड रुपैयाँ लागतमा नयाँ उद्योगको स्थापना गर्ने तयारी भने अन्तिम चरणमा पु¥याएको छ । प्रोजियोकेमका म्यानेजर लामिछानेले हेटौंडामा स्वदेशी केमिकल हब बनाउने उद्देश्यले बृहत् अध्ययनपछि इमल्सनसहितका अन्य तीन प्लान्टमा थप एक अर्ब लगानी थप्ने जोखिम उठाएको बताए । हाल कम्पनीले विभिन्न आकारमा ड्रमहरूको निर्माण गरिरहेको छ भने केही समयभित्रै रंग उद्योगहरूका लागि विभिन्न आकारका बट्टाहरूको निर्माण थाल्ने तयारी गरेको छ । रंग हाल्ने बट्टाहरू हाल ५० प्रतिशतको हाराहारीमा आयात भइरहेका छन् ।
कृषिजन्य उद्योग, पेन्ट्स, दाना, जडिबुटी तेल प्रशोधन लगायतका उद्योगलाई चाहिने कच्चा पदार्थ आयात गर्दा तयारी सामग्री आयात गर्दा भन्दा धेरै भन्सार शुल्क लाग्दै आएको छ । कच्चा पदार्थ आयात गर्नुपर्ने नेपाली उद्योगहरूले १५ प्रतिशतसम्म भन्सार शुल्क बुझाउँदै आएका छन् । दाना, पेन्ट्स, जडिबुटी तेल प्रशोधन लगायतमा कच्चा पदार्थ भारत तथा तेस्रो मुलुकबाट आयात हुने गरेको छ । तेस्रो मुलुकबाट भटमासको दाना आयात गर्दा लाग्ने १० प्रतिशत भन्सार शुल्कमा ५० प्रतिशत छुट दिएर ५ प्रतिशत मात्रै लिने गरेको छ । भारतबाट भटमासका दाना आयात गर्दा भन्सार शुल्क र ५ प्रतिशत कुषि सुधार शुल्क दुवै छुट छ । भारतबाट आयात हुने कच्चा पदार्थमा भन्सार शुल्क कम भए पनि गुणस्तर कमजोर भएका कारण महंगो भए पनि तेस्रो मुलुकबाट आयात हुन्छ ।