म्याग्दीमा सुविधा सम्पन्न होटल निर्माणमा निजी लगानी बढ्दो «

म्याग्दीमा सुविधा सम्पन्न होटल निर्माणमा निजी लगानी बढ्दो


म्याग्दीमा पछिल्लो समय पर्यटकलाई लक्षित गरेर सुविधा सम्पन्न होटल निर्माणमा लगानी बढ्दो छ । भीआईपी पर्यटक तथा बिरामीलाई लक्षित गरेर म्याग्दीका प्रसिद्ध दुई तातोपानी कुण्डमा दुई व्यवसायीले ४० करोडभन्दा बढी निजी लगानी गरेका छन् ।
पर्यटक र बिरामी अत्यधिक आउने बेनी नगरपालिका–४ सिगाँतातोपानी १५ करोड लगानीमा हेलिप्याडसहितको सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ भने अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा धौलागिरि क्षेत्रकै ठूलो होटल निर्माणाधीन अवस्थामा छ । नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रमोद श्रेष्ठले प्रसिद्ध सिंगा तातोपानीमा होटल हट स्पिरिङ सञ्चालन गरेका छन् । तातोपानीमा आउने भीआईपी पर्यटक एवं विरामीलाई लक्षित गरेर स्टाण्डर, डिलक्स, सेमिसुइट, र सुइटरुममा विभाजन गरी ३६ कोठासहित लिफ्ट सुविधा रहेको होटल सञचालन गरेको संचालक श्रेष्ठले बताए ।
सदरमुकाम बेनीमा व्यवसाय गर्दै आएका राजु हमालले अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा २५ करोड लगानीमा ५७ कोठा क्षमताको ‘होटल नेचुरल स्प्रिङ प्रालि’ सञ्चालनमा ल्याउन लागेका छन् । रोयल, डिलक्स र साधारण गरी तीनस्तरका सुविधासहितको कोठाहरूको व्यवस्थासहित होटल निर्माण गरिरहेको हमालले बताए ।
करिब ८ रोपनी क्षेत्रफलमा ६ तलाको भवन निर्माण भइरहेको छ । होटलको भौतिक पूर्वाधारतर्फको करिब ६५ प्रतिशत काम पूरा भएको र आगामी भदौदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको उनको भनाइ छ । होटलमा पार्किङ र लिफ्ट सुविधासँंगै १ सय ५० जना क्षमताको सेमिनार हल, मसाज, क्याफे र लोकलमार्टसमेत सञ्चालनमा आउनेछन् ।
धौलागिरि क्षेत्रकै ठूलो, स्टार होटलका सुविधा उपलब्ध गराउँदै पर्यटन प्रवद्र्धनमा समेत सघाउने अपेक्षा गरेको उनले बताए । यहाँको प्राकृतिक तातोपानीको कुण्ड पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
तातोपानीमा अहिले ठूला ७ र साना १५ होटलमा ४ सय जनासम्म पर्यटकहरू बस्न सक्ने क्षमताका होटल छन् । अन्नपूर्ण राउण्ड पदमार्ग र मुस्ताङ जाने एक मात्रै बेनी–जोमसोम सडक खण्डले समेटिएको ठाउँ भएकाले तातोपानीमा सञ्चालनमा आउन लागेको यस होटलले पर्यटकलाई आरामदायी बसोबासको प्रवन्ध मिलाउन र पर्यटन प्रवद्र्धनमा सघाउने वडा नम्बर २ का वडाध्यक्ष ओमप्रसाद फगामीले बताए ।
पोखरादेखि कुस्मा, बेनी हुँदै हिमालपारिको जिल्ला मुस्ताङ जाने एकमात्रै सडक बेनी–जोमसोम–कोरला सडकअन्तर्गत रहेको यस होटल सञ्चालन भएमा आन्तरिक तथा बाह्य पर्यटकको बसाइ लम्ब्याउन टेवा पु¥याउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्