सिमेन्ट उद्योगमा १९ अर्बको लगानी प्रतिबद्धता

चालू आर्थिक वर्षको सात महिनामा सिमेन्ट उद्योगमा मात्रै निजी क्षेत्रले १९ अर्ब ६६ करोड ४५ लाख १२ हजार ५ सय रुपैयाँबराबरको लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । सरकारले अगाडि सारेको आर्थिक समृद्धिको नारालाई पूरा गर्ने र १ हजार ७ सय ५० जनालाई रोजगारी दिने लक्ष्यका साथ उद्योग स्थापनाको प्रतिबद्धता आएको हो । चालू आर्थिक वर्षको सात महिनामा सिमेन्ट उद्योगमा मात्रै निजी क्षेत्रले १९ अर्ब ६६ करोड ४५ लाख १२ हजार ५ सय रुपैयाँबराबरको लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । सरकारले अगाडि सारेको आर्थिक समृद्धिको नारालाई पूरा गर्ने र १ हजार ७ सय ५० जनालाई रोजगारी दिने लक्ष्यका साथ उद्योग स्थापनाको प्रतिबद्धता आएको हो ।
उद्योग विभागमा दर्ता भएका उद्योगको आधारमा पछिल्लो समय निजी क्षेत्र सिमेन्ट उद्योग स्थापनाका लागि आकर्षित भएको र ठूलो मात्रामा लगानी गर्न तयार भएको देखिएको छ । खाना पकाउने ग्यासको व्यवसाय गर्दै आउनुभएका उद्योगी शिवप्रसाद घिमिरेसहित नयाँ उद्योगीले समेत सिमेन्ट उद्योगमा लगानी गर्ने इच्छा देखाएका हुन् । विभागको विवरणअनुसार पछिल्लो दिनमा झापाको तोपगाछीमा ए प्लस सिमेन्ट उद्योग स्थापना गर्ने भन्दै उद्योगी गुणराज खत्रीले आवेदन दिएका छन् । कुल पुँजी ४० करोड ८० लाख रुपैयाँबराबरको लगानी गर्ने लक्ष्य राखिएको छ । सो उद्योगले छ हजार मेट्रिक टन पिपिसी र छ हजार मेट्रिक टन ओपिसी सिमेन्ट उत्पादन गर्ने र ६० जनालाई रोजगारी दिनेछ । यस्तै स्याङजाको वालिङ–१ मा अथर्व सिमेन्ट उद्योग स्थापना गर्ने गरी उद्योगी पिताम्बर गैरेले विभागमा उद्योग दर्ता गराएका छन् । उद्योगमा कुल पुँजी १ अर्ब ५० करोड रुपैयाँबराबरको लगानी हुनेछ । सो उद्योगले २ सय ५० जनालाई रोजगारी दिनेछ । उद्योगले एक लाख ५० हजार मेट्रिक टन ओपिसी, एक लाख ५९ हजार मेट्रिक टन पिपिसी र ८८ हजार ९८० मेट्रिक टन क्लिङ्कर उत्पादन गर्नेछ । कपिलवस्तुको शिवराज नपा–८ मा उद्योग स्थापना गर्ने गरी उद्योगी राहुलकुमार अग्रवालले सिनर्जी सिमेन्ट प्रालिले विभागमा उद्योग दर्ता गराएका छन् । सो उद्योगमा ९ अर्ब ७८ करोड ५८ लाख ९५ हजार रुपैयाँबराबरको लगानी गरिनेछ । उद्योगले ३ सय ९९ जनालाई रोजगारी दिनेछ । विभागमा प्रस्तुत गरिएको विवरणअनुसार उद्योगले आठ लाख ३८ हजार २०० मेट्रिक टन ओपिसी र तीन लाख ३० हजार मेट्रिक टन पिपिसी सिमेन्ट उत्पादन गर्नेछ । यस्तै हाल सञ्चालनमा रहेको मारुती सिमेन्ट उद्योगले सिरहा गोलबजार–९ मा सोही उद्योगको नयाँ शाखा उद्योग स्थापना गर्ने भएको छ । सो उद्योगले २ अर्ब ५७ करोड ८८ लाख २५ हजार रुपैयाँबराबरको लगानी गर्नेछ । उद्योगले ५८७ जनालाई रोजगारी दिनेछ । उद्योगबाट ६ लाख ६० हजार मेट्रिक टन ओपिसी र १३ हजार २०० मेट्रिक टन क्लिङ्कर उत्पादन गर्नेछ ।
यस्तै उद्योगी देवीप्रसाद मैनालीले काबेली सिमेन्ट इन्ड्रस्ट्रिज विभागमा दर्ता गराउनुभएको छ । झापा हल्दिबारीमा उद्योग स्थापना गर्ने तयारी गरिएको छ । उद्योगले रु ५० करोड लगानी गर्ने भएको छ । कुल ७६ जनालाई रोजगारी दिने लक्ष्य राखेको उद्योगले १ लाख ५० हजार मेट्रिक टन ओपिसी र एक लाख मेट्रिक टन पिपिसी सिमेन्ट उत्पादन गर्नेछ । यस्तै ग्यास व्यवसायी शिवप्रसाद घिमिरेले पनि गरुड सिमेन्ट उद्योग स्थापना गर्ने तयारी गरेका छन् । कुल ३ सय ७८ जनालाई रोजगारी दिने लक्ष्यसहित सो उद्योगमा व्यवसायी घिमिरेले कुल पुँजी ४ अर्ब ८९ करोड १७ लाख ९२ हजार ५ सय रुपैयाँबराबरको लगानी गर्ने तयारी गरे । उद्योगले ६ लाख २३ हजार ७०० मेट्रिक टन ओपिसी सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखिएको छ । सरकारले लिएको नीतिका कारण नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर बनेको छ । सो उद्योगमा २ खर्ब रुपैयाँको लगानी भएको र वार्षिक १ खर्ब ५० अर्ब रुपैयाँको कारोबार हुँदै आएको सिमेन्ट उत्पादनमा नेपाल यसै वर्षदेखि आत्मनिर्भर भएको हो । निजी क्षेत्र प्रवेश भएको झण्डै १६ वर्षको अन्तरालमा आत्मनिर्भरमा पुगेको बताउँदै नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवराज थापाले अर्को वर्षदेखि नेपाल सिमेन्ट निर्यात गर्ने अवस्थामा पुग्ने बताए ।
संसारमा सन् १८४५ देखि सिमेन्ट उत्पादन सुरु भए पनि नेपालमा सन् १९६० देखि मात्रै उत्पादन सुरु गरिएको थियो । नेपालमा हिमाल सिमेन्टले पहिलो उत्पादन सुरु गरेको थियो । निजी क्षेत्रबाट भने १६ वर्ष पहिलेदेखि मात्रै लगानी शुरु गरिएको हो । नेपालमा हाल ५६ सिमेन्ट उद्योगले उत्पादन गर्दै आएका छन् । उदयपुर र हेटौंडा सिमेन्ट उद्योग सरकारी स्वामित्वको हो ।
नेपालमा गत वर्ष ९० लाख टन सिमेन्ट उत्पादन भएको र झन्डै त्यति नै खपत भएको छ । नेपालका उद्योगको क्षमता भने एक करोड ३० लाख टन छ । विश्वमा सिमेन्टको कुल उत्पादन वार्षिक ४ अर्ब २० करोड टन रहेकामा सबैभन्दा बढी चीनले सिमेन्ट उत्पादन गर्दै आएको छ । कुल उत्पादनको ५५ प्रतिशत चीनले उत्पादन गर्ने गरेको छ । खानी तथा भूगर्भ विभागका अनुसार १ सय ६८ उद्योगलाई उत्खनन अनुमति दिइएको र ४० वटालाई उत्खनन अनुमतिको प्रक्रियामा छ ।
रमेश लम्साल