बेमौसमी वर्षाले धानबालीमा क्षति «

बेमौसमी वर्षाले धानबालीमा क्षति

देशमा गत असोज ३१ गतेदेखि लगातार चार दिनसम्म परेको अविरल पानीले गर्दा धनजनमा ठूलो क्षति पु-याएको छ । त्यसमा पनि सबैभन्दा बढी क्षति कृषिलगायत धान बालीमा परेको छ । मूलतः नेपाल सरकारको प्रारम्भिक क्षति विवरणअनुसार धानमा मात्र ११ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । यसमा सरकारले साढे ५ अर्ब रुपैयाँ पीडित किसानलाई राहतस्वरूप दिने निर्णय गरेको छ । त्यसका लागि किसानको बैंकमा सीधै रकम पठाइनेछ । यसरी सरकारको निर्णयअनुसार १० कट्ठासम्म खेत भएका साना किसानलाई ६५ प्रतिशत राहत उपलब्ध गराउने निर्णय भएको छ । यस्ता किसानले प्रतिकट्ठा १ हजार ९ सय २१ रुपैयाँका दरले राहत पाउनेछन् । त्यस्तै, ४० कट्ठा (दुई बिघा) सम्म जमिन भएका किसानले पूर्ण क्षति बेहोरेको भए ३० प्रतिशत राहत पाउनेछन् । यस्ता किसानलाई प्रतिकट्ठा ८ सय ८७ रुपैयाँका दरले राहत दिइनेछ भन्ने सम्बन्धित क्षेत्रले उल्लेख गरेको छ । त्यसरी नै पूर्ण क्षति बेहोरेका दुई बिघाभन्दा बढी खेती भएका ठूला किसानलाई सरकारले २० प्रतिशत राहत उपलब्ध गराउनेछ । यस्ता किसानले प्रतिकट्ठा ५ सय ९१ रुपैयाँका दरले राहत पाउनेछन् । आंशिक क्षति भोगेका सबै किसानलाई २० प्रतिशतका दरले राहत उपलब्ध गराइनेछ । यस्ता किसानलाई पनि प्रतिकट्ठा ५ सय ९१ रुपैयाँका दरले राहत दिने घोषणा भएको छ । यसका साथसाथै अविरल वर्षाले गरेको क्षतिका कारण किसानहरू अत्तालिएपछि सरकारले छिटोभन्दा छिटो तथ्यांक संकलन गरी राहत घोषणा गरेको हो ।

कृषि मन्त्रालयका अनुसार देशभर १ लाख ११ हजार ६ सय ९ हेक्टरमा लगाइएको धानबालीमा वर्षाले क्षति पु-याएको छ । यसरी माथिको तालिकालार्ई समष्टि रूपमा अवलोकन गर्ने हो भने सबैभन्दा बढी लुम्बिनी प्रदेशमा क्षति भएको छ । यहाँ ४२ हजार ४ सय २७ हेक्टरमा लगाइएको धानबाली अर्थात् कुल देशको क्षतिमध्ये ३८.०१ प्रतिशत पूर्ण रूपमा क्षति भएको छ । जसबाट किसानको ४ अर्ब ५१ करोड ४२ लाख ३३ हजार रुपैयाँ नोक्सान भएको उक्त तालिकाबाट पनि स्पष्ट रूपमा अध्ययन गर्न सकिन्छ । यसमा पनि खासगरीकन लुम्बिनीको बर्दिया, कपिलवस्तु, बाँके र रुपन्देहीका किसानको बढी क्षति भएको मन्त्रालयले जनाएको छ । त्यसपछि सुदूरपश्चिममा ३६ हजार ४ सय ५५ हेक्टरमा लगाइएको धानबालीमा अर्थात ३२.६६ प्रतिशत क्षति हुँदा किसानको ३ अर्ब ८७ करोड ८७ लाख ८० हजार रुपैयाँको नोक्सान भएको छ । यसर्थ मुख्यगरी धेरै धान उत्पादन हुने कैलाली र कञ्चनपुरमा ठूलो क्षति भएको छ ।
त्यस्तै, अन्नको भण्डार मानिने प्रदेश नम्बर २ मा भने बढी क्षति पुगेको छैन । यो प्रदेशमा १५ हजार १ सय ४६ हेक्टरमा लगाइएको धानबालीमा अर्थात १३.५७ प्रतिशत क्षति हुँदा १ अर्ब ६१ करोड १५ लाख ८२ हजारबराबरको क्षति भएको छ । त्यसरी नै प्रदेश १ मा भने १३ हजार ९२ हेक्टरमा लगाइएको धानबालीमा अर्थात् ११.७३ प्रतिशत क्षति हुँदा १ अर्ब ३९ करोड २९ लाख ३६ हजारबराबरको क्षति भएको छ । त्यसरी नै कर्णाली प्रदेशमा भने २ हजार ७ सय ६७ हेक्टरमा लगाइएको धानबालीमा अर्थात् २.४८ प्रतिशत क्षति हुँदा २९ करोड ४४ लाख ९ हजारबराबरको क्षति भएको छ । त्यसरी नै गण्डकी प्रदेशमा भने १ हजार १ सय ९२ हेक्टरमा लगाइएको धानबालीमा अर्थात् १.०७ प्रतिशत क्षति हुँदा १२ करोड ६८ लाख २९ हजार बराबरको क्षति भएको र बागमती प्रदेशमा भने ५ सय ३० हेक्टरमा लगाइएको धानबालीमा अर्थात ११.७३ प्रतिशत क्षति हुँदा ५ करोड ६३ लाख ९२ हजार बराबरको क्षति भएको माथि उल्लेखित तालिकाबाट पनि स्पष्ट हुन्छ ।
नेपालमा धानलाई प्रमुख खाद्यान्नका रूपमा लिइन्छ । यो खाद्यान्न बाली धानको सबैभन्दा बढी आयात हुने रूप चामल पनि हो । देशको ४७ लाख हेक्टर खेतीयोग्य जमिनमध्ये ३० लाख ९१ हेक्टरमा मात्र खेती गरिएको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ । यसरी कृषिको क्षेत्रफललाई हेर्ने हो भने हिमाली क्षेत्रमा ३५ प्रतिशत, पहाडी क्षेत्रमा ४२ प्रतिशत र तराई क्षेत्रमा २३ प्रतिशत मात्र जमिन छ । यसका साथसाथै अर्कोतिर हेर्ने हो भने मुलुकको कुल खेतीयोग्य जमिनको लगभग २० देखि २५ प्रतिशत जमिन बाँझो छ । यसरी बाँझो हुनुमा खासगरी वैदेशिक रोजगारीका लागि युवाशक्ति पलायन हुनाले हो । यसबाट राष्ट्रको धान उत्पादनमा प्रत्येक वर्ष नकारात्मक प्रभाव परेको छ । यो वर्ष नेपालमा झन्डै ५५ लाख ५१ हजार मेट्रिक टन धान उत्पादन भएको तथ्यांक कृषि मन्त्रालयले सर्वजनिक गरेको छ । यो परिमाण गत वर्षको तुलनामा करिब ५९ हजार मेट्रिक टन अर्थात् १.०५ प्रतिशतले कम हो ।
गत वर्ष ५६ लाख १० हजार मेट्रिक टनभन्दा बढी धान उत्पादन भएको थियो । फलतः समयमा मल आपूर्ति पर्याप्त मात्रमा हुन नसकेको र रोगको कारणले यो वर्ष धान उत्पादनको कम भएको सम्बन्धित पक्षको भनाइ छ । गत वर्षको पाँच महिनामा १७ अर्ब १८ करोड ८६ लाख ९ हजार मासिक अर्थात् औसत ३ अर्ब ६३ करोड ५७ लाखको चामल आयात गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ६५.३ प्रतिशतले बढी हो । धान खेतीमा सुधार नगरीकन, यहाँ चामल आयात घटाउन गाह्रो छ ।
समष्टि रूपमा अध्ययन गर्ने हो भने गत कात्तिक पहिलो सातामा परेको अविरल परेको बेमौसमको वर्षाले मुलुकका सातै प्रदेशमा भने १ लाख ११ हजार ६ सय ९ हेक्टरमा लगाइएको धानबालीमा क्षति हुँदा ११ अर्ब ८७ करोड ५१ लाख ६१ हजार बराबरको क्षति भएको माथि उल्लिखित तालिकाबाट पनि स्पष्ट हुन्छ । सो वर्षाका कारण सबैभन्दा बढी क्षति लुम्बिनी प्रदेशमा र कम क्षति बाग्मतीमा पुगेको छ । फलतः लुम्बिनीका कैलाली र कञ्चनपुर धान खेतीका लागि पकेट क्षेत्र मानिन्छ ।
यस क्षतिबाट कुल धान उत्पादनमा १० प्रतिशतले घट्न सक्ने विज्ञहरूको राय पनि रहेको छ । यसर्थ नेपालीहरूको दैनिक आहारामा ऊर्जाको ४० प्रतिशत र प्रोटिनको २३ प्रतिशत योगदान चामलकै रहेको छ । अतः मुलुकमा वार्षिक करिब ४० लाख मेट्रिक टन चामल आवश्यक पर्ने अध्ययनले देखाएको छ, जसमध्ये ३३ लाख १२ हजार मेट्रिक टन उत्पादन र आपूर्ति हुने गरेको छ भने ६ लाख ८८ हजार मेट्रिक टन अपुग हुने गरेको छ । मागअनुसारको उत्पादन नहुँदा आर्थिक वर्ष २०७५-०७६ मा धान तथा चामल गरी ३२ अर्ब ५९ करोड रुपैयाँको आयात भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको आँकडा छ । मुलुकमा पछिल्लो पाँच वर्षको धान उत्पादनको स्थितिलाई अवलोकन गर्ने हो भने आब २०७३-०७४ मा ५२ लाख ३० हजार ३ सय २७ मे.टन, २०७४-०७५ मा ५१ लाख ५१ हजार ९ सय २५ मे.टन, २०७५-०७६ मा ५६ लाख १० हजार ११ मे.टन, २०७६-०७७ मा ५५ लाख ५० हजार ८ सय ७८ मे.टन र २०७७-०७८ मा ५६ लाख २१ हजार ७ सय १० मे.टन धान उत्पादन भएको अनुमान गरिएको थियो । त्यसरी नै अहिलेसम्म धान देशको सबैभन्दा महत्वपूर्ण बाली हो । यसमा पनि दुईतिहाइभन्दा अधिक किसानको आजीविका र आम्दानीको प्राथमिक स्रोत पनि यही हो । यो देशको संस्कृतिसँग गहिरो गरी जोडिएको छ । यसले कृषि कुल गार्हस्थ्य उत्पादनमा २० प्रतिशत र कुल गार्हस्थ्य उत्पादनमा सात प्रतिशतभन्दा बढी योगदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्