जीवित देवी कुमारीको परम्परा «

जीवित देवी कुमारीको परम्परा

नेपाललगायतका दक्षिण एसियाली देशहरूमा बालिकाहरूलाई कुमारी देवीको रूपमा पूजा गर्ने परम्परा छ । तर, जीवित देवीको रुपमा कुमारी पुजा गर्ने प्रचलन नेपालमा मात्रै छ ।
कुमारी जीवनचक्रको एउटा अवस्था हो । काठमाडौंमा शाक्य तथा ललितपुर र भक्तपुरमा बज्राचार्य परिवारबाट कुमारी छानिन्छ । सामान्यतया तीन वर्ष पूरा भएकी बालिका कुमारीका रूपमा स्थापना गरिन्छ । कुमारी छान्दा चिना हेरिन्छ, ग्रह एवं नक्षत्र मिलाइन्छ, उनीहरूको अनुहार उज्यालो, दाँत मिलेको, नाक सलक्क भएको, आँखा तेजिलोजस्ता विशेषता हेरिन्छ । यी सबै गुण भएका निडर र सहनशील बालिका नै कुमारी छानिन्छ । कुमारीको निधारमा रातो रंगको शृंगार हुन्छ ।
त्यसबीचमा तेस्रो आँखा बनाइएको हुन्छ । यी दुवै कुराको अर्थ छ । तेस्रो आँखा विवेकको प्रतीक हो । अनि, शृंगारमा प्रयोग गरिने सिन्दूर रंगले चाहिँ काम, क्रोध, मोह र उत्तेजनाविहीन अवोधपन जनाउँछ । हामीले त्यसैलाई पूजा गर्ने हो । उमेरको एउटा अजश्थमा पुगेपछि इच्छा, आवेग, तिर्सना र तृष्णा पैदा हुन्छ । त्यसैले कुमारी परिवर्तन गरिन्छ । कुमारी पूजा गर्ने चलन नेवार समुदायमा मात्रै होइन, अन्यमा पनि हुन्छ । अन्य मुलुकमा पनि छ । तर, काठमाडौं, ललितपुर र भक्तपुरमा जीवित देवी मानिने कुमारीका आ–आफ्नै परम्परा छन् । कुमारी मान्ने बेग्लै परम्पराले पनि उपत्यकाका तीन जिल्लाको विविधता झल्काउँछ । त्यसो त कुमारी मान्ने केही धार्मिक परम्परा भएजस्तै कुमारीलाई दिइने सेवा–सुविधा र परम्परा पनि तीन जिल्लामा फरक पाउन सकिन्छ ।
जीवित कुमारी बौद्धहरूका लागि वज्रादेवी हो भने हिन्दूका लागि भवानी । दुवै रूपमा शक्ति एवम् समृद्धिकी देवी । बौद्ध एवम् हिन्दू धर्मका अनुयायी समान रूपले यी जीवित देवीको श्रद्धा गर्छन् । काठमाडौं, पाटन र भक्तपुर तीनै ठाउँमा कुमारी छनोट गरिने धार्मिक तथा सांस्कृतिक विधि उस्तै भए पनि समय र शैली भने फरक छ । काठमाडौंमा शाक्य तथा भक्तपुर र ललितपुरमा बज्राचार्य थरका बालिका कुमारी हुन्छ । सामान्यतया तीनदेखि आठ वर्षका बालिकालाई कुमारीका लागि छनोट गरिन्छ । त्यसका लागि तलेजु भवानीका पुजारी अर्थात् बडागुरुले कुनै पनि घाउचोट नलागेको र ३२ लक्षणले युक्त बालिका छान्छन् । काठमाडौंमा पहिलो चरणमा नौ जना छनोटमा पर्छन् र त्यसमध्येबाट एक कुमारी छानिन्छ । पाटनमा भने पहिलो चरणमा तीन जना छनोट गरिन्छ । भक्तपुरमा सीधै कुमारीको छनोट हुन्छ ।
कुमारीको पूजाको सन्दर्भमा विभिन्न धार्मिक र सांस्कृतिक मान्यता छ । कुमारी पूजा गर्दा अनिष्ट हुन पाउँदैन भन्ने मान्यता छ । क्रोध, लोभ र मोह नभएकी अबोध बालिकाको पूजा गर्नु भनेको पहिलो त सत्य र निश्चलताको कामना गर्नु हो । नेवारी समुदायमा हरेक शुभकार्यअघि कुमारी पूजा गर्ने चलन छ । आफ्नो मनोकांक्षा पूरा हुने कामना गरेर पनि कुमारीको पूजा गरिन्छ । काठमाडौं र पाटनका कुमारीलाई इन्द्रजात्रा, दसैं, गाईजात्रा, घोडेजात्राजस्ता विशेष १३ पर्वमा शहरका निश्चित क्षेत्र परिक्रमा गराई पूजा गर्ने प्रचलन छ ।
नेवाः संस्कृति र जात्रा पर्वमा जीवित देवीको विशिष्ट स्थान रहेको छ ।
रातो मच्छिन्द्रनाथ तान्ने बेला, भोटो जात्रा, बडादसैको अवसरमा पाटन दरबार क्षेत्रमा हुने पूजाआजामा कुमारीलाई आसनमा राखेर उपस्थिति गराउने गरिन्छ । ललितपुर पाटनको रत्नाकर महाविहारसँगै रहेको कुमारी घरमा हाल निहीरा बज्राचार्य जीवित देवी कुमारीका रूपमा छिन् । २०७४ सालको माघमा निहीरा कुमारीका लागि छनोट भएपछि तान्त्रिक विधिपूर्वक गोप्य पूजा साधना गरियो । पूजापछि बाजागाजासहित कुमारी घरको सिंहासनमा राखियो । पाँच वर्षकी निहीरा सामान्य बालिकाबाट देवी स्वरूपमा पुजिन थालिन् । कुमारी परम्पराको नियमभित्र बाँधिइन् । हरेक दिन दशनार्थीहरू उनको अगाडि आएपछि घुँडा टेकेर सम्मानमा झुक्छन् । उनी निधारमा टीका लगाइदिन्छिन् । हात टाउकोमाथि राखेर आशीर्वाद दिन्छिन् ।
—रोजिना महर्जन

प्रतिक्रिया दिनुहोस्