बेमौसमी वर्षासँंगै आएको बाढीले बझाङका पक्की पुल जोखिममा «

बेमौसमी वर्षासँंगै आएको बाढीले बझाङका पक्की पुल जोखिममा


सेती नदी तथा अन्य खोलामा आएको बाढीले बझाङ जिल्ला सदरमुकाम चैनपुर जोडने जयपृथ्वी राजमार्गका पक्की पुल जोखिममा परेका छन् ।
कतिपय ठाँउमा बाढीले कटान गरेर जोखिममा पारेको छ भने कतिपय ठाँउमा पुलनै पुरिने अवस्था आएको छ । मुख्य राजमार्ग जोडने सेती नदीमाथि बनेका र अन्य खोलामा निर्माण भइसकेका र निमार्णाधीन पुलहरू जोखिममा छन् । जयपृथ्वी राजमार्ग र सेती लोकमार्ग जोडने झनाना पक्की पुल, मौरीबगरमा रहेको तारुगाड पक्की पुल, चैनपुर ताक्लाकोट सडकखण्डमा पर्ने सुनिकोट गाड पक्की पुल, नारुगौडामा र तमैलमा बन्न लागेको निमार्णाधीन पक्की पुल जोखिममा रहेका छन् । कात्तिक पहिलो साता आएको बेमौसमी वर्षाका कारण गएको बाढीपहिरोले पक्कीपुल जोखिममा परेका हुन् ।
जयपृथ्वी राजमार्ग र सेती लोकमार्ग जोडने झनाना पक्की पुलबाट सवारी गुडाउन बन्द गरिएको छ । पुलको झनाना बजारतर्फको पिल्लरमा सेती नदीको बहाबले क्षति पुगेको थियो । प्राविधिकको टोलीले पुलको पिल्लरमा क्षति पुगेको जनाएको छ । पिल्लर कमजोर भएकाले ठूला सवारी हाँक्न जोखिम रहेकोले प्राविधिक टोलीले पुलमा गाडी नचलाउन सुझाव दिएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए । सेतीपारिका तीन गाउँपालिका तथा छिमेकी जिल्ला बाजुरा र अछामलाई सडक संजालसँंग जोडन तमैलमा निर्माण हुन लागेको पक्की पुलको एकातर्फको पूरै भाग बगाएको छ ।
तमैल पुल निर्माणको अन्तिम चरणमा थियो । निर्माण कम्पनीले पुलको ६५ प्रतिशत काम सम्पन्न भएको जनाएको छ । तर सेती नदीमा आएको बाढीले तमैलतिरको जमिन बगाएर पुललाई नदीको बीचमा राखेको छ । २०७३ सालमा ठेक्का सम्झौता गरी तीन वर्षमा सम्पन्न गर्ने गरी केइस कन्सट्रक्सनले ११ करोडमा पुल निर्माणको जिम्मा लिएको थियो । ठेकेदारको लापरबाहीले समयमै निर्माण गर्न नसकिएको पुल सेती नदीले बगाउँदा झन अलपत्र परेको छ । बाढीले पुलमा पु¥याएको क्षतिका विषयमा चैनपुर ताक्लाकोट सडक परियोजनाको उत्तर खण्डले विभागमा पत्र पठाइसकेको छ । पुल निर्माणको कामलाई कसरी निरन्तरता दिने भन्ने विषयमा छलफल गर्न कार्यालय प्रमुख काठमाडौं गइसकेकाले निर्माणकार्य चाँडै सुरु हुने प्राविधिक विष्णु खातीले बताए ।
दुर्गाथली गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र रहेको मौरीबगरको तारुगाड पुल पनि जोखिममा छ । तारुगाड खोलामा आएको बाढीले ढुंगा माटो थुपारेपछि पुल जोखिममा रहेको छ । तारुगाड खोला अहिले पुलको एकापट्टि भएर बगिरहेको छ । अरुभागमा ढुंगा र माटो थुपरिएर बाँधजस्तै बनेको यातायात व्यवसायी चक्र बोहराले बताए । जिल्लामा बिनास्टिमेट निर्माण गरेका ग्रामीण सडकका कारण पुल जोखिममा रहेको उनको भनाइ छ । उनले भने, “गाउँगाउँ जाने सयौं ग्रामीण सडक डोजरले खनिएका छन् । वर्षाको समयमा डोजरले खनेको माटो पानीले बगाएर भलको रूप लिई खोलासम्म पुग्छ ।
यस्ता खोलामा बगेको भल मिसिएर बाढीको रूप लिई ठूलो क्षति हुने गरेको छ । यो पुल पनि ग्रामीण सडककै कारण जोखिममा परेको हो ।” यस्तै अवस्था रहिरहे आउने असारमा पुलको नामोनिसाना नरहने उनको भनाइ छ । चैनपुर ताक्लाकोट सडक खण्डमा पर्ने सुनिकोट गाडको पुल पनि जोखिममा छ । सुनिकोट गाडमा आएको बाढीले पुलको वरपरको भू–भाग कमजोर बनाई पुल जोखिममा पारेको छ । केदारस्युँ गाउँपालिकाको नारुगौडामा निमार्णाीधन पक्कीपुल पनि जोखिममा रहेको छ । पुल छेउसम्म सेती नदी पुगिसकेको छ । बेमौसमी वर्षाका कारण नारुगौडामा सडक पनि बगाएको थियो । अहिले नयाँ ट्रयाक खोलेर राजमार्ग सुचारु भए पनि नारुगौडाको पुल पनि दिगो रूपमा सञ्चालन हुनसक्ने स्थिति छैन ।

प्रतिक्रिया दिनुहोस्