Logo

पश्चिम सेती आयोजना आफ्नै कार्यकालमा सुरु हुने प्रधानमन्त्री ओलीको दाबी

डडेल्धुरा-प्रधानमन्त्री केपी शर्मा ओलीले बहुचर्चित पश्चिम सेती जलविद्युत् आयोजना आफ्नै कार्यकालमा निर्माण सुरु हुने दाबी गरेका छन् ।
डडेल्धुरा सदरमुकामदेखि तीन किलोमिटर दूरीमा रहेको स्याउले बजारनजिकै दूधकाँडेमा निर्मित स्याउले १३२ केभी सबस्टेसन आयोजनाको मंगलबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री रहेकै बेला पश्चिम सेती आयोजनाको निर्माणकार्य आरम्भ हुने जिकिर गरे ।
ट्युब र तुइनको प्रयोग गरेर महाकाली नदीमा जोखिमपूर्ण यात्रा गर्नु परिरहेको बताउँदै प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणका क्रममा उत्तरप्रदेश र उत्तराखण्ड सरकारका मुख्यमन्त्रीसँग महाकाली नदीमा पुल निर्माणका लागि छलफल गरेको र चाँडै महाकाली नदीमा पक्की पुल निर्माण गरिने बताए । सरकारले चामत्कारिक ढंगबाट विकास कार्य गरिरहेको दाबी गर्दै आएका प्रधानमन्त्री ओलीले केही दिनमै पानी जहाज सञ्चालनमा आउने र पूर्व–पश्चिम रेलमार्गका लागि अध्ययन भइरहेकाले रेल सेवासमेत चाँडै सञ्चालनमा आउने बताए ।
हरेक ग्रामीण सडकलाई अनिवार्य रूपमा दुई लेनको बनाउने बताउँदै प्रधानमन्त्री ओलीले आत्मनिर्भर अर्थतन्त्रको विकास गर्दै आत्मविश्वासका साथ आफ्नो विकास आफैले गर्ने बाटोमा सरकार अघि बढिरहेको बताए । नेपाल प्राकृतिक स्रोतले भरिपूर्ण देश भएकाले देश विकासका लागि हरेक नेपालीमा आत्मविश्वास हुनुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले वैदेशिक सहयोगसमेत जुटाएर विकासका योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार कटिबद्ध रहेको जिकिर गरे ।
उनले हरेक दिन विकासका नयाँ आयोजना शुभारम्भ भइरहेको बताउदै सुखी र समृद्ध नेपाल निर्माणको दिशातर्फ सरकारअघि बढिसकेको दाबी गरे । मुुलकमा भ्रष्टाचार नियन्त्रणका लागि आफू कडाइका साथ प्रस्तुत भएकै कारण कारबाही हुने डरले भ्रष्टाचारमा संलग्न अख्तियार दुरुपायोग अनुसन्धान आयोगका आयुक्त नै राजीनामा दिन बाध्य भएको बताउँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा संलग्न कसैलाई पनि नछाडिने प्रतिबद्धता ब्यक्त गरे ।
ऊर्जामन्त्री वर्षमान पुनको सभापतित्वमा सम्पन्न उदघाटन समारोहमा भौतिक योजनामन्त्री रघुवीर महासेठ, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित नेपाल सरकारका उच्च अधिकारी, सुदूरपश्चिम प्रदेश सरकारका मुुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री पठानसिँह बोहरालगायत उच्चपदस्थ अधिकारी सहभागी थिए ।
सुदूरपश्चिम प्रदेशका सातवटा पहाडी जिल्लाकमा विद्युत् वितरण प्रणालीलाई व्यवस्थित बनाउने उद्देश्यले नेपाल सरकारको लगानीमा सबस्टेसन निर्माण गरिएको हो ।
सबस्टेसन निर्माण गर्न ४५ करोड पाँच लाख ११ हजार ३८ रुपैयाँ ६७ पौसाको लागत अनुमान गरिएको आयोजनाले जनाएको छ । इष्ट इन्डिया उद्योग र वाईबा इन्फाटेक जेभीले निर्माणकार्य सम्पन्न गरेको सबस्टेसनमा ३० एमभीए क्षमताको १३२-३३ केभीको एउटा पावर ट्रान्सफर्मर र ८ एमभीए क्षमताको ३३-११ केभीको एउटा वितरण टान्सफर्मर गरि दुईवटा ट्रान्सफर्मर राखिएका छन् ।

देउवाको गृह जिल्लामा प्रम ओलीलाई कालो झण्डा
आयोजना उद्घाटनका लागि आयोजनास्थल पुग्नु अघि स्याउले बजारमा प्रधानमन्त्री ओलीलाई कांग्रेस डडेल्धुराका कार्यकर्ताले कालोझण्डा देखाएका थिए । कालोझण्डा देखाउने कार्यमा संलग्न रहेको भन्दै कांग्रेस डडेल्धुरा जिल्ला कार्यसमितिका सदस्य गोकुल शाही, नेपाल दलित संघ डडेल्धुराका अध्यक्ष सन्तोष जैरु, नेपाल सांस्कृतिक संघ डडेल्धुराका अध्यक्ष प्रकाश जैरु, नेपाल नाई संघ डडेल्धुराका अध्यक्ष शियाशरण ठाकुर, स्ववियु सभापति जगत ऐर, पदम खाती, पदम भण्डारी, रामबहादुर भण्डारी र संजय जैरुलाई केहीबेर हिरासतमा राखेर छाडिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्