रसुवागढी नाका सुनसान

नुवाकोट-चीनसँग सञ्चालनमा रहेको एकमात्र व्यापारिक मार्ग रसुवागढी नाका चिनियाँ ल्होसार पर्वको कारण सुनसान भएको छ । चिनियाँ नागरिकले नयाँ वर्षको स्वागतमा ल्होसार पर्व विभिन्न कार्यक्रम गरेर मनाउन व्यस्त भएपछि माघ तेस्रो सातादेखि रसुवागढी नाकाको चहलपहलमा गिरावट आएको हो । नेपालबाट चीन प्रवेश र नेपाल आउने मालबाहक साधनमा चिनियाँ पक्षले शिल लगाउन छाडेपछि नाका सुनसान भएको रसुवागढी भन्सारका सूचना अधिकृत भूपेन्द्र कार्कीले जानकारी दिए ।
उनको अनुसार चिनियाँ पक्षले औपचारिक जानकारी नदिए पनि गत माघ २५ गतेदेखि त्यहाँका बासिन्दाले नयाँ वर्ष र ल्होसार पर्वका कारण ब्यापारिक कारोबार रोकेपछि नेपालमा सामान ल्याउने केरुङलगायतका मुख्य बजार सुनसान देखिएका छन् । चिनियाँ पक्षले फागुन १५ गतेपछि मात्र आयात–निर्यात सामग्रीमा शिल लगाउने जनाएको व्यापारीले बताएका छन् ।
विनासकारी भूकम्पपछि सिन्धुपाल्चोकस्थित तातोेपानी नाका बन्द हुँदा नेपालमा चिनियाँ सामग्री आयात तथा निर्यातका लागि हाल रसुवागढी नाका सबैभन्दा बढी प्रयोगमा ल्याइएको छ । नेपालतर्फ कमजोर संरचनामार्फत सञ्चालनमा रहेको रसुवागढी नाकालाई चीन सरकारले २०७४ भदौ १४ मा अन्तर्राष्ट्रिय नाका घोषणा गरेको थियो । दैनिक एक करोड रूपैयाँको हाराहारीमा राजस्व संकलन गर्दै आएको यो नाकाबाट यस आर्थिक वर्षमा ७ अर्ब १५ करोड रूपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ ।
चालु आवको ६ महिनामा १७ अर्ब ३४ करोड ८१ लाख रूपैयाँ बराबरको सामान आयात भएको भन्सार कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी कार्कीका अनुसार यो अवधिमा ५३ करोड १६ लाख रूपैयाँ मूल्य बराबरको सामान नेपालबाट चीनतर्फ निर्यात भएको छ । राजस्व संकलनतर्फ ६ महिनामा ५ अर्ब ६१ करोड रूपैयाँ भन्दा बढी प्राप्त भइसकेको छ ।