बिक्री नभएका खसीबोका जिल्ला फिर्ता «

बिक्री नभएका खसीबोका जिल्ला फिर्ता

गत वर्षको तुलनामा यस वर्ष दसैंमा खसीबोका कम बिक्री भएसँगै व्यपारीहरु बाँकी रहेका खसीबोका गाउँ फर्काउन थालेका छन् ।
दसैंमा काठमाडौं उपत्यकाबाट सर्वसाधारणहरु गाउँ फर्किएपछि खसीबोका बजारमा गत वर्षको झैं बिक्री वितरण नहुँदा बाँकी रहेका खसीबोका व्यापारीले गाउँ फर्काउन थालेका हुन् ।
काठमाडौं उपत्यकामा यस वर्ष माग भन्दा धेरै खसीबोका भित्र्याएपछि बिक्री नभएको काठमाडौं चौपाया खरिद बिक्री प्रालिका बजार व्यवस्थापक जीवरराज खतिवडाले बताए । उनले कोरोना महामारीको जोखिम कायमै भएकोले त्यसको असर पशुचौपाय व्यापारमा पनि परेको बताए । गत वर्षको तुलनामा यस वर्ष विक्री वितरण कम भएको बताउँदै उनले माग नहेरी अप्रत्यासीत रुपमा व्यापारीहरुले खसीबोका भित्र्याउँदा चाहेजस्तो बिक्री हुन नसकेको बताए ।
यस वर्ष काठमाडौं चौपाया खरिद बिक्री प्रालिमा ३५ हजारसम्म खसीबोका ल्याएको र २५ हजारसम्म बिक्री भएको उनले बताए । खतिवडाले नेपाल सरकारले बजारको मागअनुसार काम नगरेको भन्दै सरकार पक्षबाट बजारीकरणको व्यवस्था मिलाइनु पर्ने बताए ।
यस वर्ष काठमाडौं उपत्यकामा व्यपारीहरुले ६५ हजार खसीबोका भित्र्याएको बताइएको छ । बिक्री हुन नसकेका खसीबोका भने धमाधम गाउँ फर्काइएको व्यवसायीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्