औषधिमा आत्मनिर्भर हुने लक्ष्य अधुरै «

औषधिमा आत्मनिर्भर हुने लक्ष्य अधुरै


मुलुकले साढे दुई दशकदेखि नै औषधिमा आत्मनिर्भर हुने लक्ष्य अघि सारे पनि अझै पूरा हुन सकेको छैन । औद्योगिक वातावरण नहुनु तथा सरकारको अस्थिर नीतिका कारण औषधि उद्योगहरूले अपेक्षित लगानी बढाउन नसकेको व्यवसायीहरू बताउँछन् । कच्चा पदार्थको उपलब्धता, जनशक्तिको कमी तथा कर्जाको समस्यालगायत कारणले औषधि उत्पादनमा नेपाल आत्मनिर्भर बन्न नसकेको उनीहरूको भनाइ छ ।
राष्ट्रिय औषधि नीति २०५१ ले नेपाली औषधि उद्योगहरूलाई राष्ट्रिय प्राथमिकताको सूचीमा राखी १० वर्षभित्रमा ८० प्रतिशत अत्यावश्यक औषधि स्वदेशमा नै उत्पादन गर्ने लक्ष्य लिएको छ । नीति आएको २७ वर्ष भइसके पनि १० वर्षमा पूरा गर्ने लक्ष्य भने अधुरै छ । लक्ष्यअनुसार काम नहुँदा बर्सेनि अर्बौं रुपैयाँ बराबरको औषधि आयात गर्नु परिरहेको अवस्था छ ।
नेपालमा उत्पादित औषधिको वार्षिक ५० अर्बको बजार रहे पनि यसको आधाभन्दा बढी विदेशबाटै आयात हुने गरेको छ । औषधिको माग प्रत्येक वर्ष १८ देखि २० प्रतिशतले बढ्दै गएको व्यवसायीहरू बताउँछन् । औषधि उत्पादक संघका अनुसार आधारभूत औषधि मात्रै पनि स्वदेशमै उत्पादन गर्न सकियो भने औषधिमा ८० प्रतिशत आत्मनिर्भर बन्न सकिन्छ । औषधि व्यवस्थापन विभागमा हालसम्म १ सय ३ वटा औषधि उद्योग दर्ता भए पनि ६६ वटा उद्योगमात्र पूर्ण सञ्चालनमा रहेको उद्योग विभागको तथ्यांकमा उल्लेख छ ।
१५औं योजनामा औषधिलगायतका स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगको प्रवद्र्धन र पूर्वाधार निर्माणमा सहयोग र सहजीकरण गरिने औद्योगिक क्षेत्रमा आवश्यक भौतिक पूर्वाधार निर्माण तथा विस्तार गर्न निजी क्षेत्रसँग समन्वय र सहकार्य गरिने भनिए पनि कार्यान्वयन हुन नसकेको औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डे बताउँछन् । सरकारको नीति राम्रो भए पनि कार्यान्वयन कमजोर हुँदा औषधिमा आत्मनिर्भर बन्न नसकेको उनको भनाइ छ । “राष्ट्रिय स्वास्थ्य नीति–२०७१ ले गुणस्तरीय औषधि र आपूर्ति सुनिश्चितता गरी आन्तरिक उत्पादनलाई बढावा दिने र १५ प्रतिशतसम्म महँगो भए पनि नेपाली उत्पादन नै खरिद गर्न सकिने व्यवस्था गरेको थियो । तर, त्यो पनि कार्यान्वयनमा आएन,” अध्यक्ष पाण्डे भन्छन् ।
सरकारले बर्सेनि बजेटमा औषधि उद्योगको प्रवद्र्धन गर्ने नीति ल्याइने उल्लेख गर्दै आएको छ । अघिल्लो वर्षको बजेटमा दुई दर्जन औद्योगिक वस्तुहरूमा आत्मनिर्भर हुने गरी स्वदेशी उद्योगहरूको विकास, विस्तार र आधुनिकरणका लागि प्रोत्साहन गरिने उल्लेख गरिएकोमा औषधिलाई पनि समावेश गरिएको थियो । बजेट कार्यान्वयनकै क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आव २०७६/०७७ को कोषेढुंगााको रूपमा दुई दर्जन औद्योगिक वस्तुहरूमा आत्मनिर्भर हुने भनिएको छ । जसमा औषधिलाई प्राथमिकताका साथ राखिएको छ ।
व्यवसायीहरूका अनुसार औषधि परीक्षणका लागि यहाँका अधिकांश उद्योगका आफ्नै प्रयोगशाला छन् । तर अधिकांश उद्योग अहिले पनि पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन् । औषधिको गुणस्तर विश्वभर नै एउटै खालको हुनुपर्छ ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै हरेक औषधिको उत्पादन हुने गर्दछ । नेपाली उद्योगले यी मापदण्ड पूरा गरे पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । “नेपाली उद्योगको उत्पादनमा गुणस्तरको समस्या छैन,” अध्यक्ष पाण्डे भन्छन्, “नेपालमै अन्तर्राष्ट्रिय गुणस्तरका औषधि उत्पादन हुने गरेका छन्, खुल्ला सिमानाका कारण पनि नेपालमा उत्पादन भएका औषधि छिमेकी मुलुकमा अवैध रूपमा निर्यात हुनसक्ने सम्भावना रहेकाले हामीले नेपालमै खपत हुने व्यवस्था मिलाउनुपर्छ ।” यद्यपि पछिल्ला वर्षमा स्वदेशी औषधि उद्योगको संख्या र उत्पादन दुवै बढेको संघको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्