गलैंचा उद्दोगका मजदुरहरूद्वारा आन्दोलनको चेतावनी

गलैंचा उद्योगका मजदुरहरूले आन्दोलनको चेतावनी दिएका छन् । राज्यले तोकेको न्यूनतम ज्याला कार्यान्वयन नभएको भन्दै गलैंचा उद्योग सम्बद्ध ट्रेड युनियनहरूले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आन्दोलनको चेतावनी दिएका हुन् ।
नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, लोसपा, राप्रपा र विप्लव निकट ट्रेड युनियनहरूले माग पूरा नभए तिहार र छठलगत्तै सडक संघर्षमा उत्रने बताए ।
नेपाल गलैंचा श्रमिक संघका अध्यक्ष सविरमान विकले आफूहरूमाथि अन्याय भइरहेको भन्दै अन्तिम विकल्पका रुपमा आन्दोलनमा जाने बताए । उनले भने, ‘छठ पछि निर्मम संघर्षमा जान्छौं ।’ उनले पटक–पटक ध्यानाकर्षण गर्दा पनि सुनुवाइ नभएकाले सडकमा जाने अवस्था आउन लागेको बताए ।
नेपालको अर्थतन्त्रमा राम्रै टेवा पुर्याउन सफल नेपाली गलैंचा उद्योग भित्र प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अहिले पनि १०औं हजार श्रमिक कार्यरत रहेको बताए । लगभग ४० देखि ५० को दशकमा नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको गलैंचा उद्योगहरू क्रमिक रूपमा खुम्चिँदै गएको र अहिले तेस्रो स्थानमा पुग्दा आफूलाई दुःख लागेका सुनाए । उनले भने, ‘गलैंचा उद्योगलाई व्यावसायिक रुपमा विकास भएदेखि नै गलैंचा श्रमिकहरू आफ्नो पेशागत अधिकार र पहिचानको निम्ति अनवरत संघर्षरत रहेका छन् ।’
जुट गार्मेन्ट, कार्पेट र टेक्सटायल मजदुर युनियन नेपालका उप–प्रमुख युवराज जिरेलले अब सडक संघर्षको विकल्प नदेखिएको बताए । आफूहरूमाथि निकै शोषण भइरहेको भन्दै संघर्षमा जाने वाध्यता देखिएको बताए । गलैंचा उद्योगमा मकवानपुर, बारा, पर्सा, सर्लाही, रौतहट, सिन्धुली र अन्य जिल्लासहित विशेष गरी ६ वटा जिल्लामा बसोबास रहेका निम्नवर्गका समुदायका बालबच्चाहरू उद्योगभित्र पिल्सिएको अवस्थामा श्रम गरी बाँच्न बाध्य पारिएको बताए । उनले भने, ‘उद्योगभित्र श्रम शोषणको विविध तरिकाहरू छन् ।’
अखिल नेपाल गलैंचा मजदुर संघका अध्यक्ष सोनाम सिं घिसिङले नेपाल सरकारले तोकिएको न्यूनतम ज्याला कार्यान्वयन नहुनु, श्रमिकलाई मेरो श्रमिक हो भन्ने कुनै आधार प्रमाण नदिनु, परिचय पत्रको व्यवस्था नगर्नु, श्रम ऐन कानुनले दिएको अधिकारबाट बन्चित गराइरहेको बताए । उनले रोजगार सम्झौता बिना काम लगाउनु, कामदारको हाजिरी नराख्नु, व्यवसायीहरूबाट नै ठेकेदारी प्रथालाई प्राथमिकता दिनु लगायतको विभिन्न अधिकारबाट बन्चित गराएको समेत बताए ।
नेपाल समाजवादी गलैंचा मजदुर संघका अध्यक्ष मोलम लामाले उद्योगभित्र अत्यधिक बालश्रम हुनु, व्यवसायी–व्यवसायीबीच नै प्रतिस्पर्धामा श्रमिकलाई पशु खरिद बिक्रीजस्तै गरी अग्रिम पेस्की बाँड्ने र पेस्की असुल्ने नाममा श्रमिकको घरघरमा गएर समाउने कुटपिट अपहरण र हत्या गर्नेसम्मको गतिविधि गर्न पछि नपर्ने आरोप लगाए । अन्यायले हद नाघेको भन्दै कडा संघर्षको चेतावनी दिए ।
अखिल नेपाल क्रान्तिकारी गलैंचामजदुर संघको अध्यक्ष विशाल सुब्बाले नेपालको संविधानले जारी गरेको श्रम ऐन २०७४ र सामाजिक सुरक्षाकोष ऐन २०७४ कार्यान्वयनमा व्यवसायीहरूको तत्परता नदेखाएको समेत उनले गुनासो गरे । उनले भने, ‘श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको प्रतिनिधि सामाजिक सुरक्षाकोषका प्रतिनिधिसहित गलैंचा संघ नेपाल, निकासीकर्ता संघका प्रतिनिधिहरूसँग संवाद गर्न पटक–पटक अनुरोध गर्दासमेत बेवस्ता गरेको आरोप लगाए । उनले भने, ‘सरकारी निकायको रोहवरमाछलफलतथा संवाद गर्न पटक–पटक अनुरोध गर्दासमेत बेवस्ता गर्नु भनेको राज्य र देशको कानुनमाथि उपहास गर्नु हो ।’
समाजवादी गलैंचा श्रमिक संघका अध्यक्ष सुरेश मोक्तानले व्यवसायीहरूका नराम्रो खाले रवैयाको विरुद्ध गलैंचा श्रमिकहरूलाई आफ्नो पहिचानसहित पेशागत अधिकारका निमित्त एक जुट हुन अनुरोध गरे । ६ वटा घटक राष्ट्रिय संघहरूले संयुक्त रुपमा असार ३१ गते पेश गरेको ध्यानाकर्षण पत्रमा उल्लेखित मुद्दा नै गलैंचा श्रमिकको जीवनस्तर उठाउने आधार बताए । छठपछि हुने आन्दोलनका लागि तयार रहन श्रमिकहरूलाई आग्रह गरे ।