‘सरकारी नीति बनाउँदा निजी क्षेत्रको उपेक्षा भयो : वरिष्ठ उपाध्यक्ष ढकाल «

‘सरकारी नीति बनाउँदा निजी क्षेत्रको उपेक्षा भयो : वरिष्ठ उपाध्यक्ष ढकाल


नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई बाहिर राखेर नीति बनाउने गरेकाले उद्योगी व्यवसायीले समस्या भोग्नुपरिरहेको बताएका छन् ।
बाराको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको दोश्रो साधारण सभालाई शनिबार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले ल्याएको प्रतिस्थापन बजेटमा गरिएका व्यवस्था निजी क्षेत्रमैत्री नरहेको गुनासो गरे । “सरकारले ल्याएको कतिपय नीतिले नीजिक्षेत्रको ढाड सेक्ने काम गरिरहेको छ” ढकालले भने, “पछिल्लो समय प्लाष्टिक सिटको आयातका विषयमा सरकारले गरेको व्यवस्थाका कारण नेपाली व्यवसायीको सयौं कन्टेनर बोर्डरमा अलपत्र छ ।”
सरकारले निजी क्षेत्रसँग जोडिएका कुनैपनि नीति बनाउँदा सम्बन्धित पक्षसँग परामर्श लिन पनि सरकारलाई आग्रह गरे । “सरकारले बनाउने नीतिले दीर्घकालिन महत्व राख्ने भएकाले सम्बन्धित पक्षसँगको परामर्शमा नीति बन्नु पर्छ” उनले भने ।
सरकारले गर्नुपर्ने काममा निजी क्षेत्रले आफ्नो सामाजिक उतरदायित्वमार्फत योगदान गरिरहेकाले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने ढकालको भनाइ छ । हरेक उद्योगी व्यवसायीले आफ्नो सामाजिक उतरदायित्व अन्तर्गत सरकारले गर्नुपर्ने काममा सघाइरहेपनि सरकारले निजी क्षेत्रलाई प्रोत्साहनको सट्टा हतोत्साही बनाउने गरेको ढकालको आरोप छ ।
वीरगञ्ज–पथलैया औद्योगिक करिडोरमा रहेका उद्योगको संरक्षण र विकासमा सरकार गम्भीर बन्नुपर्ने ढकालले बताए । मुलुकको कुल राजस्वमा महत्वपूर्ण योगदान पु¥याउने भएपनि वीरगञ्ज–पथलैया करिडोरका उद्योगका लागि आवश्यक सडक, ढल जस्ता न्यूनतम पूर्वाधारको विकासमा पनि राज्यले ध्यान नपु¥याउनु दुःखद रहेको ढकालले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–२ का अध्यक्ष गणेश लाठले सरकारले वीरगञ्ज–पथलैया क्षेत्रलाई औद्योगिक करिडोरको मान्यता नदिँदा स्थानीयबासी र उद्योगीबीच सधैं विवाद हुने गरेको बताए । “सरकारले औद्योगिक क्षेत्र वा बसोबास क्षेत्र छुट्टयाइदिनुपर्ने हो तर त्यसो हुन सकेको छैन” लाठले भने ।
मुलुकको राजस्व र रोजगारीमा यहाँका उद्योगले पु¥याएको योगदानालाई सरकारले कदर नगरेको लाठको भनाइ छ । “हामीले राजस्व र रोजगारीमा पु¥याएको योगदानको बदलामा सरकारले एउटा धारासमेत जडान गरिदिएको छैन” लाठले भने ।
शनिबारबाट सुरु भएको साधारण सभाले नयाँ नेतृत्व चयन गर्नेछ । नगर उद्योग वाणिज्य संघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष मोहन शर्मा लामिछाने स्वतः अध्यक्ष हुनेछन् भने वरिष्ठ उपाध्यक्षसहित अन्य पदाधिकारी चयनका लागि निर्वाचन प्रकृया सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्