Logo

हिमपातले रोकियो नमुना बस्तीको काम

लाप्राक (गोरखा)-एक सातादेखिको हिमपातले लाप्राकको गुप्सीपाखामा एकीकृत नमुना बस्ती निर्माण नै रोकिएको छ । धार्चे गाउँपालिका ४ लाप्राकको गुप्सीपाखामा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भूकम्पपीडित लाप्राकवासीको लागि बनाउँदै गरेको ५ सय ७३ घरको निर्माण कार्य रोकिएको हो । बस्ती हिउँले ढाकिएपछि काम रोकिएको एनआरएनएका साइट म्यानेजर लक्ष्मण अर्यालले जानकारी दिए । “हिउँले बस्ती ढाकिएपछि काम गर्न सकिएन,” उनले भने, “यहाँका १ सय ३५ कामदारलाई विदा दिएका छौं, केही दिन घर गएका छन् ।” हिउँ जमेर चिसो बढेपछि एक सातायता काम गर्न नसकेको उनले बताए । गुप्सीपाखामा करीब ३ फिट हिउँ जमेको छ । २० गतेबाट मेसिन लगाएर भए पनि काम सुरु गर्ने तयारी भएको अर्यालले बताए । “हामीले वैशाख १२ मा घर हस्तान्तरण गर्न पनि काम छिटो गर्नुपर्नेछ,” उनले भने, “२० गतेसम्मको मौसम हेरौं, मौसम राम्रो नभए मेसिन लगाएर भएपनि हिउँ हटाएर काम सुरु गर्नेछौं ।” एकीकृत बस्ती निर्माणमा १ सय ६० जना नेपालीसहित एनआरएनएका १ सय ३५ कामदार कार्यरत छन् ।
हालसम्म ८९ घरमा छाना लगाइसकिएको साइट म्यानेजर अर्यालले बताए । ‘३ सय ८५ घरमा ट्रस हालीसक्यौ । दोस्रो तल्लामा १ सय ३० घरमा एसीब्लक लगाइसकेको छ । नमुना बस्तीका सबै घरमा पहिलो तलाको काम सकिएको छ । गुप्सीपाखाको १८.३ हेक्टर क्षेत्रलफल जग्गा स्वामित्वमा लिएर बस्ती निर्माण थालिएको हो । दुई तले ४ कोठे घर बनाइने छ । २०७३ माघमा बस्ती शिलान्यासका क्रममा एनआरएनका तात्कालीन अध्यक्ष शेष घलेले १ वर्षभित्र लाप्राकवासीलाई नयाँ घरमा सार्ने प्रतिबद्धता गरेका थिए । तर, २०७४ असोजसम्म काम नसकेपछि एकबर्षको समय थपिएको थियो । असोजमा पनि निर्माण नसकिएपछि घर हस्तान्तरणका लागि आउँदो वैशाखको मिति राखिएको छ ।
मौसम प्रतिकुलताका कारण निर्माणमा ढिलाइ भइरहेको साइट म्यानेजर अर्यालले बताए । “हामीले चाहेर पनि काम गर्न सकेका छैनौं,” उनले भने, “यहाँ वर्षामा बजारबाट सामान ढुवानी गर्न समस्या छ बाटो राम्रो छैन । हिउँदमा हिउँले काम गर्न दिदैन । फागुनसम्म हिउँ पर्छ । त्यसैले पनि ढिलो भएको छ । तर अब कामदार थपेर भएपनि वैशाख १२ सम्म काम सक्छौं ।” घर हस्तान्तरण गरे पनि नमुना बस्तीका अन्य पूर्वाधार भने चरणबद्ध रूपमा बनाउँदै जाने उनले बताए । प्रतिकुल मौसमका कारण वैशाख १२ सम्ममा घर बन्नसक्ने अवस्था नरहेको लाप्राकका लक्ष्मण गुरुङले सुनाए । “यहाँ त फागुनसम्म हिउँ पर्छ,” उनले भने, “हिउँमा काम हुँदैन अनि कसरी घर बन्छ वैशाखसम्म ?”

 

प्रतिक्रिया दिनुहोस्