विकास साझेदारद्वारा पुनर्निर्माण प्रगतिको प्रशंसा «

विकास साझेदारद्वारा पुनर्निर्माण प्रगतिको प्रशंसा


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको विकास सहायता सहजीकरण तथा समन्वय समितिले विकास साझेदारको समेत संलग्नतामा पुनर्निर्माण कार्यमा सन्तोषजनक उपलब्धि हासिल भएको निश्कर्ष निकालेको छ ।
सोमबार सम्पन्न समितिको १०औं बैठकले पुनर्निर्माणका क्रममा प्राप्त अनुभव तथा सिकाइ संप्रेषण गर्न मंसिरमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा विकास साझेदारबाट उच्चस्तरको सहभागिता रहने पनि निर्णय गरिएको छ । बैठकले विकास साझेदारबाट पुनर्निर्माणका क्रममा भएको संलग्नताबाट प्राप्त उपलब्धिलाई ग्रहणसमेत गरेको छ ।
कार्यक्रममा विश्व बैंक, एडीबी, यूएनडीपी, जाइका, एफसीडीओ, यूएसएआईडी, युनिसेफ, युएनओपिएस लगायतका विकास साझेदार निकायका नेपाल प्रमुख तथा प्रतिनिधिले नेपालको पुनर्निर्माणमा आ–आफ्ना निकायको प्राविधिक तथा वित्तीय सहयोग तथा प्रगतिको बारेमा धारणा राखका थिए ।
एसियाली विकास बैंकका कन्ट्री डाइरेक्टर अर्नाउड काउचोइसले मन्तव्य राख्दै भूकम्पपछिको सफल पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि प्राधिकरणलाई बधाई दिए । काउचोइसले नेपालको उत्थानशिलतामा प्राधिकरणसँग सहकार्य गर्न पाउँदा गर्व लागेको उल्लेख गर्दै बाँकी रहेका कामहरू सम्बन्धित निकायमा हस्तान्तरणको प्रक्रिया सहज ढंगले हुने विश्वास व्यक्त गरे ।
त्यस्तै, विश्व बैंकका वरिष्ठ विपद् जोखिम व्यवस्थापन विज्ञ कामरान अकबरले विपद् जोखिम न्यूनीकरण गरी उत्थानशील नेपाल निर्माणको उद्देश्यलाई विश्व बैंकको सहयोग निरन्तर रहने बताउँदै देशैभरिका विद्यालयहरूको संरचनात्मक सामथ्र्य अध्ययन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सहयोग गरेको जानकारी दिए ।
जाइकाकी कन्ट्री डाइरेक्टर युमिको आसुकुमाले जाइकाको सहयोग केवल भूकम्पपछिको भौतिक पुनर्निर्माणमा मात्र नभएर आगामी दिनमा आउनसक्ने विपद् जोखिम न्यूनीकरणका लागि पनि भएको बताउँदै अन्तर्राष्ट्रिय सम्मेलन सफल पार्नका लागि सहयोग गर्न तयार रहेको जानकारी दिइन् ।
समितिका अध्यक्ष एवं प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालको पुनर्निर्माणमा मित्र राष्ट्रहरू एवं विकास साझेदारबाट प्रदान गरिएको सहयोगका लागि आभार व्यक्त गर्दै आगामी दिनमा पनि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सहयोग निरन्तर प्राप्त हुने अपेक्षा गरे ।
अन्तर्राष्ट्रिय सम्मेलन आयोजनामा विकास साझेदार संस्थाहरूको संलग्नता र सहकार्यको ढाँचाबारे जानकारी गराउँदै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सम्मेलनमा उच्चस्तरको सहभागिताका लागि आग्रह गरे ।
पुनर्निर्माण र पुनस्र्थापनामा प्राप्त अनुभव अन्तर्राष्ट्रिय समुदायसामु बाँड्ने उद्देश्यले यही मंसिर २१–२३ मा अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले विपद् जोखिमबाट सुरक्षित नेपाल निर्माणका लागि भइरहेको विपद् उत्थानशील ढाँचाको तयारीबारे बैठकलाई जानकारी दिएका थिए ।
यससम्बन्धी ढाँचालाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्बन्धित मन्त्रालय तथा निकायसँगको पृष्ठपोषणसहित अन्तिम रूप दिई आगामी सम्मेलनमा प्रस्तुत गर्ने सहमति पनि बैठकमा बनेको छ ।
कार्यक्रममा समितिका सदस्य–सचिव एवं प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारीले सहभागीहरूलाई स्वागत गर्दै बैठकका एजेण्डा प्रस्तुत गरेका थिए । प्राधिकरणका कार्यकारी समिति सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तथा यसमा विकास साझेदारबाट गरिएको अपेक्षाबारे प्रस्तुतीकरण दिएका थिए ।
प्राधिकरणका योजना तथा बजेट व्यवस्थापन महाशाखा प्रमुख सहसचिव भगवान अर्यालले पुनर्निर्माणमा हालसम्म प्राप्त उपलब्धिहरु, विकास साझेदारबाट प्राप्त सहयोग तथा प्राधिकरणको बहिर्गमन योजनाबारे समितिलाई जानकारी गराए ।
भौतिक उपस्थिति र भर्चुअल माध्यमको मिश्रित मोडलबाट आयोजित कार्यक्रममा परराष्ट्र मन्त्रालय तथा अर्थ मन्त्रालयका प्रतिनिधिको पनि सहभागिता थियो ।
विकास सहायताद्वारा सञ्चालित पुनर्निर्माणसम्बन्धी कार्यमा संलग्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदार एवम् नागरिक समाजका बीच आवश्यक समन्वय र सहजीकरण गर्ने÷गराउने उद्देश्यले २०७३ कात्तिकमा समिति गठन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्