मेलम्चीको ठेक्का तोड्न बाटो खुल्यो

मेलम्ची खानेपानी आयोजनाको बाँकी काम पूरा गर्न साविकको इटालियन ठेकेदारसँगको सम्झौता अन्त्य गरेर नयाँलाई जिम्मेवारी दिइने भएको छ । यसको जिम्मेवारी भने इटालियन कम्पनीकै सब–कन्ट्र्याक्टरलाई दिने सम्भावना रहेको आयोजना स्रोतले जनाएको छ ।मेलम्ची खानेपानी आयोजनाको बाँकी काम पूरा गर्न साविकको इटालियन ठेकेदारसँगको सम्झौता अन्त्य गरेर नयाँलाई जिम्मेवारी दिइने भएको छ । यसको जिम्मेवारी भने इटालियन कम्पनीकै सब–कन्ट्र्याक्टरलाई दिने सम्भावना रहेको आयोजना स्रोतले जनाएको छ ।आयोजना समाप्त नहुँदै काम छोडेर भाग्न खोजेको इटालियन कम्पनी सीएमसीलाई ठेक्का खारेजी किन नगर्ने भन्दै त्यसको कारण भए १४ दिनभित्र जवाफ पठाउन सरकारले गरेको पत्राचारमा सीएमसी मौन बसेपछि पुरानो ठेक्का विधिवत तोडिन लागेको हो ।
खानेपानी मन्त्रालयले ठेकेदार कम्पनीले जवाफ नपठाएपछि ठेक्का तोड्न बाटो खुलेको जनाएको छ । एकतर्फी खारेज गर्दा भोलिका दिनमा कानुनी झमेला आउनसक्ने भएपछि सरकारले स्पष्टीकरण सोधेर विधिवत ठेक्का अन्त्यको बाटो खोलेको हो । मेलम्चीको बाँकी कामका लागि अब नयाँ ठेकेदार छनोट गर्ने प्रक्रिया सुरु गर्ने तयारी भएको छ । यसअघि सीएमसीलाई पठाइएको पत्रमा मेलम्ची खानेपानी समितिलाई कुनै जानकारी नदिई आयोजनास्थल छोडेर भागेको उल्लेख गर्दै यसका कारणसहित जवाफ दिन भनिएको थियो । त्यसैगरी आर्थिक रूपमा टाट पल्टेको भन्दै खारेजीका लागि इटाली सरकारलाई सीएमसीले निवेदन दिएको विषयमा स्पष्ट पार्न पनि उल्लेख गरिएको थियो । सीएमसीको माउ कम्पनी पछिल्लो समयमा इटलीमै आर्थिक रूपमा टाट पल्टेपछि सीएमसीले नेपालमा आयोजना बनाउन सक्छ की सक्दैन भन्ने अन्योल थियो । खानेपानी मन्त्रालयका सूचना अधिकृत टोलराज उपाध्यायले मेलम्चीका ठेकेदारको कुनै पनि जवाफ नआएको बताए ।
पुरानो ठेकेदार कम्पनीले जवाफ नदिएसँगै मन्त्रालयलमा नयाँ ठेकेदार कम्पनी छनोटको विषयमा बहस सुरु भइसकेको उनले बताए । उपाध्यायका अनुसार मेलम्चीकै उपठेकेदार कम्पनीहरूले नयाँ ठेक्का पाउने सम्भावना छ । “उप–ठेकेदारले नयाँ ठेक्का पाउने सम्भावना पनि बढी नै छ, अन्तर्राष्ट्रिय ठेकेदार कम्पनी छनोट हुन पनि सक्छ या नेपाली सेनालाई ठेक्काको जिम्मा दिन पनि सकिन्छ,” उनी भन्छन्, “नयाँ ठेक्का कसलाई दिने भन्ने विषयमा सामान्य वहसमात्रै चलेको छ, छिटै नै नयाँ ठेक्का कसलाई दिने भनेर निर्णय हुनेछ ।”इटालियन कम्पनीले आफैं छोडेर गएको तथा कामसमेत प्रभावकारी रूपमा अघि नबढेपछि सरकारका लागि आयोजना चाँडै पूरा गर्ने चुनौती छ ।
कम्पनीका अधिकारीहरू बिनाजानकारी नेपाल छोडेर भाग्न लागेको भन्दै सरकारले उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएपछि यसको विवाद सतहमा आएको थियो । अब भने मेलम्ची निर्माणको काममा देखिएको अन्योल अन्त्य हुने भन्दै मन्त्रालयले केही दिनमै काम सुचारु हुने जनाएको छ । विवादपछि सीएमसीको धरौटीसमेत रोक्का भएको छ । यसविरुद्ध परेको मुद्दामा समेत आयोजनाको पक्षमा फैसला गर्दै उच्च अदालत पाटनले धरौटी रोक्का गर्ने आदेश दिएको थियो । २०६५ सालमा सीसीआरसी नामक चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । २०६९ मा उक्त कम्पनीसँग पनि सम्झौता भङ्ग भएको थियो । मेलम्ची खानेपानी विकास समितिले इटालीको सीएमसी कम्पनीसँग २०७० असार ३१ गते दोस्रोपटक निर्माण सम्झौता गरेको थियो । सीएमसीलाई ७ अर्ब ७२ करोड ३४ लाखमा निर्माणको जिम्मेवारी दिने सम्झौता भएको थियो । खानेपानी मन्त्रालयका अनुसार हालसम्म मेलम्ची आयोजनाको काम ९० प्रतिशत सम्पन्न भइसकेको छ । तर, राष्ट्रिय योजना आयोगले भने ८० प्रतिशतमात्रै काम पूरा भएको जनाएको छ । बाँकी काम वैशाखसम्ममा सम्पन्न गर्ने लक्ष्य राखे पनि ठेकेदार कम्पनीसँगको विवाद बढेपछि मेलम्चीको पानी कहिले काठमाडांै आउँछ भन्नेमा थप अन्योल छ ।