राष्ट्रिय क्रिकेट टोलीलाई विमानस्थलमा भव्य स्वागत «

राष्ट्रिय क्रिकेट टोलीलाई विमानस्थलमा भव्य स्वागत

सरकारले जनही ५ लाख पुरस्कार दिने

युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज र ट्वान्टी–२० श्रृंखला जितेर सोमबार स्वदेश फर्केको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । खेलाडीहरुलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राखेप सदस्यसचिव केशवकुमार विष्ट, उपाध्यक्ष पिताम्बर तिम्सिनालगायतका साथै ठूलो संख्यामा शुभेच्छुक तथा क्रिकेटप्रेमीहरु विमानस्थल पुगेका थिए । खेलाडीहरुलाई विमानस्थलबाट बाहिरिने क्रममा रातो कार्पेट बिछ्याएर स्वागत गरिएको थियो ।
विजयी नेपाली टोलीलाई नेपाल सरकारले जनही ५ लाख रुपैयाँ नगदसहित सम्मान गर्ने भएको छ । विमानस्थलमा टोलीको स्वागतका लागि पुगेका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले जनही १० हजार रुपैयाँ नगद पुरस्कार दिएका थिए ।
विमानस्थलमा प्रतिक्रिया दिँदै राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले खेलाडीको मेहनतले शृंखला जित्न सफल भएको बताए । उनले सरकारले खेलाडीलाई पर्याप्त सेवा सुविधा नदिएको गुनासो पनि गरे । “सबैले आ–आफ्नो ठाउँबाट कोसिस गरे । विशेषगरी युवा खेलाडीले आफूलाई प्रमाणित गरेका छन्,” मुख्य प्रशिक्षक टमाटाले भने, “दुई वर्षदेखि खेलाडीले तलब पाएका छैनन् तर पनि राष्ट्रका लागि पसिना बगाइरहेका छन् । खेलाडीका लागि सम्बन्धित निकायले सेवासुविधा बढाउन आवश्यक छ ।”
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले कुनै एक जनाको प्रदर्शनले भन्दा पनि समग्र टोलीले राम्रो खेलेका कारण जित सम्भव भएको बताए । “युवा खेलाडी टोलीमा हुँदा हामीले अझ राम्रो प्रदर्शन गर्न सफल भयौं । आशा गरौं, उनीहरुले यो प्रदर्शनलाई आगामी दिनमा पनि कायम राख्नेछन्,” खड्काले भने ।
यसैबीच, नेपाली कांग्रे्रेसका सभापति शेरबहादुर देउवाले नेपाली क्रिकेट टोलीले पाएको सफलता र उच्चस्तरको प्रदर्शनले आफूलाई हर्षित बनाएको उल्लेख गरेका छन् । उनले सोमबार विज्ञप्तिमार्फत् राष्ट्रिय गौरव अभिवृद्धि गर्ने नेपाली क्रिकेट टिमलाई बधाई ज्ञापन गर्दै क्रिकेट टिमले प्राप्त गरेको सफलताको कांग्रे्रेस कदर गर्दछ भनेका छन् । आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा यस सफलताले नेपाली क्रिकेट खेलाडीलाई अझ उच्चस्तरको प्रदर्शन गर्न हौसला प्रदान गर्ने विश्वास व्यक्त गर्दै सभापति देउवाले क्रिकेट खेल मैदानको स्तरोन्नति तथा खेलाडीको वृत्ति विकास एवं मनोबल उच्च राख्ने कार्यक्रम ल्याउन सरकारको समेत ध्यानाकृष्ट गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्