Logo

कारागार पुग्ने सडक चौडा गरिने

लमजुङ सदरमुकाम बेसीसहरमा रहेको जिल्ला कारागार पुग्ने सडक चौडा गर्नका लागि पहल भएको छ । बेसीसहर–८, शेराफाँटमा रहेको जिल्ला कारगारसम्म सवारीसाधन गुड्न मिल्ने गरी सडक चौडा गर्नका लागि स्थानीयसँग सहमति भएको हो ।
बेसीसहर–८, शेरा बजारको मूल सडकदेखि कारागारसम्म करिब ५० मिटर दूरी साँघुरो हुँदा कारागारसम्म सवारीसाधन पु-याउन कठिन भएपछि सो सडक चौडा गर्न स्थानीय सँग सहमति भएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।
लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेल, प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्की, जिल्ला नापी कार्यालय प्रमुख हेलिना श्रेष्ठ, कारागार प्रमुख जगदिश मिश्र, जनप्रतिनिधि र स्थानीयको सहभागितामा स्थलगत अवलोकन र छलफल गरी सडक चौडा गर्ने सहमति भएको कारागार प्रमुख जगदिश मिश्रले बताए ।
हाल शेराबजारको मूल सडकदेखि कारागारसम्म गोरेटो बाटोमात्रै रहेको छ । उक्त गोरेटो बाटोमा दुईपाँग्रे सवारीसाधन भने गुडाउन सकिन्छ । तर कारागारजस्तो संवेदनशील ठाउँसम्म चारपांग्रे सवारी गुड्ने सडक अतिआवश्यक भन्दै स्थानीयसँग छलफल गरिएको प्रशासनले जनाएको छ ।
हाल भइरहेको गोरेटो बाटोलाई स्तरोन्नति गर्ने र उक्त बाटोको दुईतर्फी बनेका घरहरूको पेटी भत्काएर कम्तीमा १० फिट सडक बनाउने जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ । हालको गोरेटो बाटो दायाँबायाँ रहेका स्थानीय सन्तकुमार श्रेष्ठ र रामलाल श्रेष्ठले कारागारसम्म पुग्ने सडक चौडा गर्नका लागि सहमति दिएका हुन् । घर रहेको स्थानबाहेकमा भने कम्तीमा १३ फिट चौडा सडक बनाइने प्रशासनले जनाएको छ ।
२०२८ सालमा निर्माण भएको लमजुङ कारागार संरचना आँफैमा जीर्णसमेत बनेको छ । पुरानो सदरमुकाम कुन्छाबाट बेसीसहर सरेसँगै बेसीसहरमा कारागार संरचना निर्माण भएको थियो । तात्कालीन समयमा कारागारसम्म मोटरबाटो पु¥याउने गरी काम नभए पनि हालको आवश्यकता र संवेदनशिलतालाई ख्याल गर्दै स्थानीयसँग छलफल गरी सडक निर्माणको काम अघि बढाइएको कारागार प्रमुख मिश्रले बताए ।
पछिल्लो समय देशभरका कारागारलाई विस्थापित गर्दै सुधारगृहको रूपमा रूपान्तरण गर्ने सरकारको तयारी भए पनि पुरानो संरचनामा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा लमजुङ कारागारभित्र पनि समस्या छ । संख्याको आधारमा कारागारका लागि आठ रोपनी क्षेत्रफल आवश्यक पर्ने भए पनि करिब चार रोपनी क्षेत्रफलमा मात्रै लमजुङको कारागार रहेको छ । सोही क्षेत्रफलमा कार्यालयदेखि कैदीबन्दी बसोबास गर्ने संरचना निर्माण भएका छन् ।
कारागार पुरानो र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा उनीहरूलाई विभिन्न समस्या हुने गरेको कारागार प्रशासनले स्वीकार गरेको छ । खान, बस्न, सुत्नदेखि शौचायलय जानसमेत उनीहरूलाई कठिन भइरहेको र सम्बन्धित ठाउँमा समस्याको समाधान गर्न पहल गरिरहेको प्रशासनले जनाएको छ ।
सम्बन्धित निकायबाट उक्त कारागारमा नयाँ भवन बनाउन उपयुक्त हुन्छ हुँदैन भनेर माटो परीक्षणको कामसमेत भइसकेको थियो । नयाँ भवन बनाउनका लागि उपयुक्त भएको ठहरसमेत प्राविधिक टोलीले गरेको थियो । तर अहिलेसम्म पनि कुनै काम अघि बढ्न नसकेको कारागारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्