चमेलियामा ढिलाइले राज्यलाई १६ अर्ब घाटा

तोकिएको समयमा निर्माण नहुँदा ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाबाट मात्र मुलुकले १६ अर्ब रुपैयाँ घाटा बेहोर्नुपरेको छ । २०६४ सालमा निर्माण सुरु भएर २०६८ मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनामा ढिलाई हुँदा यति धेरै रकम मुलुकले घाटा बेहोर्नुपरेको हो ।
उचित विस्तृत अध्ययन नगरी र समयमै प्राविधिक तथा प्रशासनिक निर्णय नगर्दा चमेलियाले भने खराब जलविद्युत् आयोजनाको रूपमा पहिचान बनाएको छ । यसलाई नेपालको जलविद्युत् क्षेत्रको असफल आयोजनाको रूपमा समेत चित्रण गर्ने गरिएको छ ।
सुरुको लागत ८ अर्ब ३४ करोड रहेको आयोजनाले लागत बढेर सम्पन्न हुने लक्ष्य राखिएको आगामी डिसेम्बरसम्ममा १५ अर्ब ९९ करोड पुगेको छ । समयमै नबन्दा ७ अर्ब ६५ करोड लागत बढेको आयोजना सम्पन्न नभएर विद्युत् उत्पादन नहुँदा ६ वर्षमा ८ अर्ब ४७ करोड रुपैयाँ गुमाएको छ ।
चमेलिया जलविद्युत् आयोजनाको प्रक्षेपणअनुसार वार्षिक रूपमा १ सय ८४ दशमलब २१ गिगावाट आवर विद्युत् उत्पादन गर्ने लक्ष्य थियो । सुरुको सम्पन्न गर्ने मिति २०११ डिसेम्बर भए पनि समयमै सम्पन्न नभएर हाल सम्पन्न गर्ने अन्तिम लक्ष्य २०१७ डिसेम्बरलाई मानिएको छ ।
चमेलिया जलविद्युत् आयोजनाका प्रमुख अजय दाहाल सिभिलको काम सकिएको र डिसेम्बर २८ देखि सुरुङको परीक्षण लगायतका काम सकिने भएकोले डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको बताए । “आगामी डिसेम्बरसम्ममा आयोजनाको परीक्षण लगायतका काम सकेर उत्पादन गर्ने लक्ष्य छ, समयमै सकिने कुरामा विश्वस्त छौं,” उनले भने ।
सन् २००७ मा सुरु गरेर २०११ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको ६ आयोजना ६ वर्ष ढिला हुँदा प्रत्येक वर्ष १८४.२१ गिगावाट आवर विजुली विद्युत् प्राधिकरणले चरम लोडसेडिङको बेला गुमाउनुपरेको थियो । विद्युत् प्राधिकरणको औसत विक्री मूल्य सन् २०१७ मा प्रतियुनिट ९.८५ पैसा थियो ।
यसको आधारमा सो वर्ष १ अर्ब ८१ करोड ४४ लाख, सन् २०१६ को औसत मूल्य प्रतियुनिट ८.२७ को आधारमा १ अर्ब ५२ करोड ३४ लाख र सन् २०१५ को औसत मूल्य ७.२८ रुपैयाँको आधारमा १ अर्ब ३४ करोड १० लाख बराबरको विजुली समयमै सम्पन्न नहुँदा गुमाउनु परेको प्राधिकरणको तथ्यांकले देखाएको छ ।
त्यसैगरी प्रतियुनिट ७.१३ औसत मूल्य भएको सन् २०१४ मा १ अर्ब ३१ करोड ३४ लाख, प्रतियुनिट औसत मूल्य ६.९० भएको सन् २०१३ मा १ अर्ब २७ करोड १० लाख र प्रतियुनिट ६.५७ रुपैयाँ औसत बिक्री मूल्य भएको बेला सन् २०१२ मा १ अर्ब २१ करोड २ लाख रुपैयाँ बराबरको विजुली समयमै नबन्दा खेर गएको थियो ।
विज्ञहरूले आयोजना सुरु हुनुपूर्वको तयारी कमजोर, विस्तृत रूपमा अध्ययन हुन नसक्नु र चमेलियाले अनावश्यक र महँगा सवारी साधन किनेर ठूला नेताहरूलाई दिनेजस्ता कारणले आयोजना महँगो भएको बताइएको छ । आयोजना समयमै नबन्दा लागत बढेको र त्यसको कारण उत्पादन नभएर प्राधिकरणले घाटा बेहोर्नुपरेको भने विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले स्वीकारे ।
“आयोजना निर्माणको क्रममा सुरुङ खुम्चिएको, ठेक्कापट्टामा आएको समस्या लगायतको कारणले आयोजना निर्माणमा ढिलाइ भयो,” उनले भने, “आयोजना ढिलाईको कारण लागत त बढ्यो नै, समयमै विद्युत् उत्पादन नहुँदा यसले पनि असर ग¥यो, अब छिट्टै निर्माण हुने अवस्थामा पुगेको छ ।” आयोजना निर्माणपछि ६ घण्टा पिकिङ क्षमता समेत भएको आयोजनाले आगामी हिउँदमा लोडसेडिङ न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
ऊर्जा मन्त्रालयमा लामो समय काम गरेका पूर्वसचिव श्रीरञ्जन लाकौलको अनुभवमा चमेलिया जलविद्युत् आयोजना खराब बन्नुमा समयमै प्रशासनिक र प्राविधिक निर्णय नहुनुलाई लिन्छन् । “समयमै निर्णय भएनन्, सुरुङ खुम्चिने लगायतका समस्या देखियो, भेरिएसनमा पपिन धेरै विवाद भयो, यसकारण ढिलाइ भयो,” उनले भने, “समयमै बनाउन नसकेर असफल जस्तै बनेको चमेलिया जलविद्युत्बाट पाठ सिकेर आगामी आयोजनाहरूको कार्यान्वयन क्षमता बढाउनैपर्छ ।”