Logo

बढी धानका लागि राइस डक फार्मिङ

कुनै पनि किसानले खेतमा गर्ने काम हाँसले गर्छ भन्ने कुरा सुन्दा आश्चर्य लाग्नु स्वाभाविक हो । तर यो सत्य कुरा हो ।
वस्तुतः जापान धान खेतीका लागि प्रसिद्ध छ । यहाँ केही दशक अघिदेखि धान गोड्नका लागि राइस डक फार्मिङ प्रविधि अपनाइँदै छ । यो प्रविधि अपनाउँदा अन्य अवस्थाभन्दा २० प्रतिशतभन्दा बढी धान उत्पादन गर्न सकिने कुरा एक अध्ययनले देखाएको छ । वास्तवमा रोग तथा कीरा नियन्त्रण गरी धानको उत्पादकत्व अभिवृद्धि गर्ने उद्देश्यले यो प्रविधि प्रयोगमा ल्याइएको हो ।
हरियो धानको खेतमा हाँसहरूलाई छोड्दा यिनीहरूले आफ्नो चारो खोज्ने क्रममा धानको गाँजालाई गोड्छन् । यिनीहरूले आफ्नो चुच्चो र खुट्टाले माटो चलाउने काम गर्छन् । यसरी माटोलाई निरन्तर चलाएपछि धानको बोटलाई गोडमेल गर्न पुग्छ र हलक्क बढ्छ ।
हाँसहरूद्वारा धानको बोट गोडमेल गराउँदा झारपात उम्रन पाउँदैनन् । योबाहेक यिनीहरूले धान खेतमा पाइने कीरा–फट्याङ्ग्रा खाने हुनाले विभिन्न किसिमका रोग पनि नियन्त्रण हुन्छ । यो कुरा एक अध्ययनबाट प्रस्ट भएको हो ।
साधारणतया उक्त प्रविधिअनुसार १ हेक्टर धान खेतमा २ हजारसम्म हाँस छोडेमा राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ । परन्तु धानको बेर्ना रोपेको २२ देखि २५ दिनपछि मात्र धान खेतमा हाँसहरू छोड्न उपयुक्त हुन्छ, किनभने यो अवधिभित्र रोपेको धानको बेर्ना हाँसहरूले ढाल्न सक्दैनन् । यी हाँसहरू धानका प्रजातिअनुसार पसाउनु अधिसम्म अर्थात् अन्दाजी चार महिनासम्म धान खेतमा राख्न सकिन्छ ।
यस अवधिमा धान खेतमा एउटा हाँसले अन्दाजी चार किलोसम्म मल छोड्छ, जसले गर्दा माटो मलिलो भई धान उत्पादनसमेत बढ्छ । उक्त प्रविधि प्रयोग गर्दा प्रत्येक वर्ष बढ्दै गएको मलको समस्या पनि समाधान भई लगानी कम भई प्रतिफल बढ्नेछ ।
चार महिनासम्म धान खेतमा राखिएका हाँसले त्यहाँ प्राप्त कीरा–फट्याङ्ग्रा खाई निकै वजनदार हुन्छन् । यसर्थ यिनीहरूलाई मासु सेवन गर्नका लागि बेच्दा पनि धेरै फाइदा लिन सकिन्छ । यति मात्र होइन, पोथी हाँसहरूलाई अण्डा उत्पादनका लागि प्रयोग गरेर पनि धेरै लाभ लिन सकिन्छ ।
नेपालको सन्दर्भमा भन्ने हो भने यस वर्ष प्रथम पटक निजी क्षेत्रबाट स्थापित राष्ट्रिय खाद्यान्न बैंक लिमिटेडको लगानीमा झापाको गौरादह नगरपालिका–७ मा एक व्यक्तिको खेतमा ८ सयवटा स्थानीय जातका हाँस धान खेतमा छोडेर परीक्षणका रूपमा उक्त प्रविधिको प्रयोग गरिएको छ । तर, उक्त प्रविधिबाट फाइदा वा बेफाइदा हुने कुरा भविष्यले बताउनेछ । वास्तवमा उक्त प्रविधिबाट फाइदा लिन अधिकतम कृषकहरूलाई आवश्यक तालिम एवं परामर्श प्रदान गर्न नितान्त आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्