Logo

करका दर फरक बनाउन नाडाको माग


नाडाले नेपामा एसेम्बल हुने सवारी साधन तथा आयतीत तयारी सवारी साधनबीच करका दरमा फरक हुनु पर्ने माग गरेको छ ।
नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको ८ सदस्यीय प्रतिनिधि मण्डलले अर्थ मन्त्री जनार्दन शर्मासँग भेटी २०७८/०७९ को प्रतिस्थापन बजेटले अटोमोवाइल क्षेत्रमा पारेको प्रभावबारे विस्तृत रुपमा छलफल गर्दै उक्त माग गरेको हो ।
उपाध्यक्ष चौधरीले एसेम्बल गरी नेपालमा सवारी साधन उत्पदान गर्ने उद्योगले अनएसेम्बल अवस्थाका शीर्षक ८७.०२, ८७.०३ र ८७.११ मा पर्ने सवारी साधन आयात गर्दा लाग्ने अन्तशुल्क र त्यस्ता उद्योगले उत्पादन गरेको तयारी साधन बिक्री गर्दा लाग्ने अन्तशुल्क महशुलमा ५० प्रतिशत छुट दिने स्पष्ट व्यवस्था गरिएकोमा नाडाले त्यसको स्वागत गरेको बताए । उनले एसेम्बल कति पाटर्समा आउनु पर्ने हो, कुन पार्टस एसम्बलिङ्ग हो भन्ने बारेमा सरकारले त्यसको स्पष्ट वर्गिकरण गर्नुपर्ने बताए ।
चौधरीले नेपालमा गुणस्तरिय लुब्रिकेण्टसको आयात र उत्पादनका लागि सरकारले सोही अनुरुप नीति ल्याउनु पर्ने आग्रह गर्दै अनधिकृत स्पेयर पार्टसको आयात रोक्न आधिकारिक व्यवसायलाई प्रोत्साहित गर्नु पर्ने बताए । उपाध्यक्ष चौधरीले नेपालको उद्योग व्यवसायको प्रवद्र्धनका लागि नीति निर्माण गर्दा सरकारले नाडालाई पनि एउटा मुख्य स्टेकहोल्डरको रुपमा लिनु पर्ने माग गरे ।
नाडाका केन्द्रीय कार्य समिति सदस्य तथा मोटरसाइकल समितिका सभापति अभिक ज्योतिले नेपालमा १६० सीसीसम्मका मोटरसाइकल दुई तिहाईको संख्यामा बिक्री हुने बताउँदै अहिलेको सेगमेण्ट परिवर्तनले मोटरसाइकल प्रयोगकर्ताहरुमा आर्थिक भार थपिन पुगेको मात्र नभई अलमलमा समेत पर्ने बताए । सरकारले गरेको वर्तमान सेगमेण्टलाई पहिले कै अवस्थामा ल्याउँदा सबैलाई सहज हुने उनको भनाइ छ ।
दुगड ब्रदर्श एण्ड सन्सका प्रवन्ध निर्देशक विवेक दुगडले सरकारले २५० सीसी भन्दा माथीका मोटरसाइकललाई हेभी सवारी साधन मानेको तर नेपालको पहाडी धरातलिय अवस्थितिका कारण र पर्यटन प्रवद्र्धनका लागि उच्च सीसीका मोटरसाइकल आवश्यक पर्ने बताए । जवाफमा अर्थमन्त्री शर्माले सरकारले नेपालमा उद्योगको उत्थानका लागि उच्च प्राथमिकता दिएकाले सोही अनुरुपका नीतिहरु ल्याइएको बताए । यसबाट थप रोजगारी रोजगारी मात्र सिर्जना हुने नभई दक्ष जनशक्ती पनि तयार हुने मन्त्री शर्माको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्