Logo

भारतीय ट्रक ओभरलोड, नेपाली ट्रक रितै


भारतबाट आउने ओभरलोड मालबाहक ट्रकलाई नेपालमा नियन्त्रण नगर्दा नेपाली ट्रक काम नपाएर रितै बस्न बाध्य भएका छन् । भारतीय ट्रकले नेपालको सडक ऐन, ट्राफिक नियम कानुन बिपरीत ओभरटन बोकेर निर्वाधरुपमा चल्न पाए पछि नेपाली ट्रक काम नपाएर रित्तै थन्किन थालेका हुन् ।
तराई यातायात व्यवसायी संघका महासचिव जिबन श्रेष्ठले भारतीय ट्रकले नियम कानुन मिचेर क्षमता भन्दा बढी बोक्न पाउने अनि रोक्ने र कार्बाही गर्ने निकाय दूतावासबाट आउने फोनका कारण त्रसित हुने गरेको आरोप लगाए । भारतीय ट्रकका कारण नेपाली ट्रक काम नपाएर रित्तै बस्नु परेको उनले बताए ।
सीमा नाकाबाट नेपाल भित्रने सबैजसो भारतीय मालबाहक गाडीले ओभरलोड बोकेर नेपालका प्रमुख सहरसम्मै पु¥याउने गरेको छ । यसरी आउने गाडीलाई बाटोमा पर्ने ट्राफिक प्रहरीले रोकेको खण्डमा सामान्य जरिवानाबाहेक सोधखोज र कारण खोज्ने बित्तिकै भारतीय दूतावास हूँदै विभागमा दवाव आउने गरेकाले ट्राफिक प्रहरीले छाड्ने गरेको छ ।
कोरोनाले थलिएको नेपाली उद्योग कलकारखानाको उत्पादन र बिक्री घटेपछि नेपाली ट्रकले नेपालभित्रै ओसारपसारको काम कम पाउँदै गर्दा भारतीय ट्रकले ओभरटन बोके राजधानी र अन्य सहरमा सोझै पु¥याउन थाले पछि नेपाली ट्रक रित्तै बस्नु परेको महासचिव श्रेष्ठले बताए ।
मालबाहक सवारी साधनको भारवहन नियमनसम्बन्धी निर्देशिका–२०७४ अनुसार भारतबाट ओभरलोड बोकेर आउने गाडीले भन्सार विन्दुमै भारमिलान गरी सम्बन्धित ठाउँमा जानुपर्ने व्यवस्था छ । तर ओभरलोड बोकेर आउने भारतीय गाडीको भारमिलान हा सम्म हुन सकेको छैन ।
नेपालमा चल्ने मालबाहक ६ चक्के सवारीले ९.६ टन १० चक्केले १६.२, टन १२ चक्केले २१, टन १४ चक्केले २५ टन र १८ चक्केले ३० टन मालसमान बोक्न पाउने नियम छ । यही व्यवस्थाअनुसार नेपालको सडकमा समेत बढीमा ३० टन बोकेका सवारी गुड्न पाउने कानुनी व्यवस्था गरिएको छ । भारतीय एउटै मालबाहक गाडीले नेपालको सडकमा ९० टनसम्म लोड बोकेर दैनिक गुडने गरेको देख्न पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्