अल्लो प्रशोधन केन्द्र सञ्चालनको तयारी «

अल्लो प्रशोधन केन्द्र सञ्चालनको तयारी


लमजुङ सदरमुकाम बेसीशहरमा तीन वर्षअघि स्थापना भएको अल्लो प्रशोधन केन्द्र सञ्चालनको तयारी भएको छ । उद्योग स्थापना भएपनि विद्युत् जडान हुन नसकेका कारण अलपत्र अवस्थामा परेको प्रशोधन केन्द्र लगानीकर्ताहरुले वैकल्पिक श्रोत साधनको प्रयोग गरेर सञ्चालनमा ल्याउने तयारी गरेका हुन् ।
सदरमुकाम बेसीशहर–९, मजुवाखोला किनारमा स्थापना भएको उक्त प्रशोधन केन्द्रमा आवश्यक विद्युत् उपलब्ध हुन नसक्दा प्रशोधन केन्द्र सञ्चालनमा आउन नसकेको हो । प्रशोधन केन्द्र स्थापना भएसँगै विद्युत् जडान गरेपनि डबल फेजको विद्युत् भोल्टेजले पनि उद्योग नचलेपछि ट्रान्सफर्मर नै राख्नुपर्ने भएको हो ।
विद्युत् ट्रान्सफर्मरका लागि गण्डकी प्रदेश सरकारका तत्कालिन मुख्यमन्त्रीसहित सरोकारवालासँग अनुरोध गरीएपनि हालसम्म जडान हुन नसकेको उद्योग प्रवद्र्धक राजेश थापाले बताए । सबै संरचना निर्माण सम्पन्न भएर पनि लामो समय सञ्चालनमा ल्याउन नसकेपछि लगानीकर्ताहरुले वैकल्पिक माध्यामबाट उद्योग सञ्चालनको तयारी गरेका हुन् ।
जिल्लामा विद्युत् वितरणको जिम्मा लिएको लमजुङ विद्युत् उपभोक्ता संस्थाले ट्रान्सफर्मरको व्यवस्था नगरिदिएपछि हाल जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाल विद्युत् प्राधिकरणमार्फत ट्रान्सफर्मर राख्ने तयारी गरीएको थापाले बताए । प्रमुख जिल्ला अधिकारीसहितको टोलीले प्रशोधन केन्द्रको स्थलगत अवलोकन गरी विद्युत् व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएकाले चाँडै नै आवश्यकता अनुसारको विद्युत् जडान हुने प्रवर्तक थापाको भनाइ छ । उद्योगले सिधै प्राधिकरणको ग्राहक बनेर विद्युत् जडान गर्ने तयारी गरेको हो ।
विद्युत् जडानमा ढिलाई भएमा वैकल्पिक उर्जाको रुपमा बायो ग्याँसको प्रयोग गरेर भएपनि प्रशोधन केन्द्र सञ्चालन गरिने थापाको भनाइ छ । दुई करोड भन्दा बढी लगानी रहेको उद्योग तीन वर्षदेखि बन्द हुँदा व्यावसायिक समस्या परेको भन्दै वैकल्पिक माध्यामबाट भएपनि यहि भदौ महिना भित्रै उद्योग सञ्चालन गर्ने तयारी गरेको प्रवद्र्धक थापाले बताए ।
प्रशोधन केन्द्र सञ्चालन गर्नु अघि जनशक्ती तयार गरीने र यसका लागि घरेलु तथा साना उद्योग कार्यालयसँग समन्वय भएको थापाले बताए । आवश्यक जनशक्तिका लागि घरेलुले तालिम प्रदान गर्ने र तालिम सकिएसँगै प्रशोधन केन्द्र सञ्चालन गरिने प्रवद्र्धक थापाको भनाइ छ ।
अन्तर्राष्ट्रिय बजारमा समेत अल्लोको राम्रो सम्भावना भएकाले लमजुङ उद्योग वाणिज्य संघले एक गाउँ एक उत्पादनअन्तर्गत अल्लो छनोट गरी प्रशोधन केन्द्र स्थापना गरेको हो । प्रशोधन केन्द्रका लागि सबै उपकरण र संरचना तयार भएपनि विद्युत्का कारण सञ्चालनमा आउन सकेको छैन । हाल प्रयोग विहीन बनेका उपकरण र अन्य सामग्रीसमेत जिर्ण हुने अवस्थामा पुगेको सञ्चालकहरुको भनाइ छ ।
नेपाल सरकारको साझेदारीमा हाल विदेशी बजारलाई समेत लक्षित गरी अल्लो प्रर्वद्धनका लागि दुई करोड लगानी भएको छ । जसमध्ये उद्योग वाणिज्य संघ, बेसीशहर नगरपालिकालगायतका सरकारी निकायबाट ७० लाख रुपैयाँ अनुदान प्राप्त भएको थियो ।
प्रशोधन केन्द्र स्थापना भएको तीन वर्ष बितिसक्दा पनि विद्युत् अवरोधका कारण उद्योग सञ्चालन गर्न नपाउँदा लगानीकर्ताहरु निरास बनेका छन् । उद्योगका लागि लगानी गरेपनि प्रतिफल नपाउँदा आम्दानी शुन्य हुनुका साथै बैंक ब्याजले दैनिक नोक्सान हुँदै गएको प्रवद्र्धक हरुले बताएका छन् ।
गुरुङ समुदायले भांग्रालगायतका सामग्री बनाउन मात्र प्रयोग गर्ने अल्लो पछिल्ला दिनमा व्यवसायिक आकर्षण बढेको छ । गाउँघरमा त्यतिकै खेर गएको अल्लोलाई प्रशोधन गरी उद्योग नै सञ्चालन भएपछि यसको समूचित प्रयोगसँगै धेरैलाई रोजगारीको अवसर मिल्ने अपेक्षा गरीएको थियो । ग्रामीण भेगमा सामान्य उपयोग गरिँदै आएको अल्लोबाट पछिल्लो समय झोला, गलबन्दी, जुत्ता, चप्पल, कोट, पाइन्ट, टाइलगायतका सामान बन्ने गरेका छन् ।
जिल्लाका सिउरुङ, घलेगाउँ, भुजुङ, गौंडा, घेर्मुलगायतका ठाँउमा अल्लो प्रशस्त पाइन्छ । यी गाउँमा घुम्न आउने पर्यटकहरुलाई अल्लोबाट उत्पादित सामान बिक्री गरी स्थानीयले राम्रै आम्दानी गर्दै आएका छन् । श्रोत र संरचना अभावमा माग अनुसार अल्लोको सामग्री उत्पादन गर्न नसकिएको अल्लो उद्यमीहरु बताउँछन् ।
अल्लोको कपडा स्थानीय बजारमा प्रतिमिटर एकहजार दुई सय भन्दा बढी पर्ने अल्लो व्यवसायीहरु बताउँछन् । प्रशोधन केन्द्रका अभावमा पनि अल्लो व्यवसायबाट जिल्लाका स्थानीय महिलाहरुले मासिक १५ हजार रुपैयाँ भन्दा बढी आम्दानी गर्दै आएका छन् । गाउँमा उत्पादित अल्लोका सामग्री बजार पुग्न नपाउदै बिक्री हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्