हिमालयन हाइड्रो एक्स्पो ‘२०१९’ आज सकिँदै «

हिमालयन हाइड्रो एक्स्पो ‘२०१९’ आज सकिँदै

काठमाडौं-राजधानीको भृकुटीमण्डपमा जारी दोस्रो हिमालयन हाइड्रो एक्स्पो–२०१९ आज आइतबार सकिँदैछ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट मेनेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा सुरु भएको एक्स्पो आज सकिन लागेको हो । शनिबार एक्स्पोमा जलविद्युत् क्षेत्रका सरोकारवाला र सर्वसाधारणको भीड लागेको थियो । जलविद्युत् क्षेत्रमा आएका नयाँ प्रविधि र उपकरण प्रदर्शनीमा राखिएका छन् भने एक्स्पोमै जलविद्युत् क्षेत्रसँग सम्बन्धित विषयमा सेमिनारसमेत गरिएको छ । एक्स्पोमा ८५ भन्दा बढी प्रदर्शकले सयभन्दा बढी जलविद्युत् क्षेत्रसँग सम्बन्धित स्टल छन् । आइतबारसम्म चल्ने एक्स्पोमा जलविद्युत् प्रवद्र्धक, उपकरण निर्यातकर्ता, लगानीकर्ता, बैंक तथा विमा क्षेत्रका प्रतिनिधिको सहभागिता छ । एक्स्पोमा आधुनिक सोलार प्रणाली, विद्युतीय सवारी साधन, हाइड्रो मेकानिकलका साथै आधुनिक निर्माण उपकरण, टनेलिंग उपकरणका क्षेत्रमा प्रख्यात भोइथ, इपिरोक माइनिंग इन्डिया, वासरक्राफ्ट, एपीई पावर, जीइपीपीईआरटी हाइड्रोपावर, तोसिबा कर्पोरेसन, डिईसी डगंफेगं इलेक्ट्रिक मेसिनरी, जेसीबी, हुन्डाईलगायतका प्रदर्शनका आकर्षण हुन् ।
शुक्रबार एक्स्पोको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले जलविद्युत् क्षेत्रमा लगानीमैत्री वातावरण बनाउन नीति तथा कानुनलाई समय सापेक्षा सुधार गर्नुपर्ने बताए । जलविद्युत् क्षेत्रका लागि सबै सरोकारवाला निकायबीच सहकार्य र समन्वय आवश्यक रहेकोमा उनको जोड थियो । “हामी बिजुलीमा आत्मनिर्भर छैनौ । अर्बौ रुपैयाँको बिजुली आयात गरिरहेका छौं,” उनले भने, “सबैभन्दा पहिले हामी ऊर्जामा आत्मनिर्भर हुनुपर्छ ।”
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले लोडसेडिङ ९० प्रतिशतले घटेपछि उद्योगधन्दामा धेरै सहज भएको बताए । जलस्रोतमा निजी क्षेत्रको लगानी भित्र्याउन सहज वातावरणको आवश्यक्ता रहेकोमा उनको जोड थियो । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले एक्स्पोमा सहभागी विभिन्न मुलुकका लगानीकर्तालाई नेपालमा लगानी गर्ने उचित समय आएको बताए ।
इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईंले एक्स्पोले विकासकर्तालाई उपकरणलगायत खरिदका लागि प्रतिस्पर्धा बढेर लागत घटाउन सहयोग पुगेको बताए ।

कुलमान घिसिङ सम्मानित
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित भएका छन् । एक्स्पोमा कार्यकारी निर्देशकको पदमा रही राष्ट्रलाई आर्थिक समृद्धिका साथै उज्यालो नेपालको लागि पुर्याएको योगदानको उच्चकदर गर्दै घिसिङलाई सम्मान गरेको हो । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारबाट सुरु भएको हिमालयन हाइड्रो एक्स्पो २०१९मा घिसिङलाई सम्मान–पत्र प्रदान गरिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले कार्यकारी निर्देशक घिसिङलाई सम्मानपत्र प्रदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्