Logo

पूर्वाधार विकास कार्यालय लमजुङको वित्तीय प्रगति ७७%

लमजुङ-पूर्वाधार विकास कार्यालय लमजुङले गत आर्थिक वर्षमा ७७ प्रतिशत बढी वित्तीय प्रगति भएको जनाएको छ । संघ र प्रदेशबाट विकास निर्माणका लागि विनियोजित बजेटमध्ये आर्थिक वर्ष २०७७-७८ मा चालू र पुँजीगततर्फ गरी ७७ दशमलव ३१ प्रतिशत वित्तीय प्रगति भएको कार्यालयले जनाएको हो ।
गत आर्थिक वर्षमा संघ र प्रदेशबाट गरी पूर्वाधार विकास कार्यालयमा आएको एक अर्ब ३१ करोड, ८३ लाख ४९ हजार रुपैयाँमध्ये एक अर्ब एक करोड ९३ लाख ४५ हजार ५१२ रुपैयाँमात्रै खर्च भएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ । संघ र प्रदेशमा गरी कुल बजेटको ५७ दशमलव ३१ प्रतिशतमात्रै खर्च भएको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख इन्जिनियर सुमन गिरिले जानकारी दिए ।
कार्यालयका अनुसार कुल बजेटमध्ये पँुजीगततर्फ ७७ दशमलव ६१ प्रतिशत बजेट खर्च भएको छ भने चालूतर्फ ५२ दशमलव १२ प्रतिशतमात्रै खर्च भएको छ । संघ र प्रदेशबाट गरी गत आर्थिक वर्षमा पुँजीगततर्फ एक अर्ब ३० करोड ३१ लाख ३२ हजार बजेट आएकोमा एक अर्ब एक करोड १४ लाख १४ हजार ९८४ रुपैयाँ खर्च भएको छ । यसैगरी चालूतर्फ एक करोड ५२ लाख १७ हजार आएकोमा ७९ लाख ३० हजार ५२८ रुपैयाँमात्रै खर्च भएको छ ।
गत आर्थिक वर्षमा पूर्वाधार विकास कार्यालय लमजुङमा प्रदेशतर्फ सडक, मोटरेबल पुल, झोलुंगे पुल, भवन एवं परामर्श शीर्षकमा एक अर्ब १५ करोड १५ लाख ५७ हजार बजेट आएकोमा ८७ करोड ५० लाख ९२ हजार ४३५ रुपैयाँ अर्थात ७५ दशमलव ९९ प्रतिशत खर्च भएको छ । त्यस्तै संघीय सरकारतर्फ सडक, पुल, जनता आवास कार्यक्रम शीर्षकमा ११ करोड ११ लाख २५ हजार आएकोमा १० करोड २२ लाख, ८९ हजार एक सय नौ रुपैयाँ अर्थात ९२ दशमलव चार प्रतिशत खर्च भएको छ । त्यसैगरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट निर्वाचन पूर्वाधार शीर्षकमा आएको चार करोडमध्ये तीन करोड ३६ लाख रुपैयाँ अर्थात् ८४ प्रतिशत वित्तीय प्रगति भएको कार्यालय प्रमुख गिरिको भनाइ छ ।
पूर्वाधार विकास कार्यालय लमजुङमा गत आर्थिक वर्षमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत विभिन्न शीर्षकमा आएको चार लाख ५० हजारमध्ये चार लाख ३३ हजार ४४० अर्थात् ९६ दशमलव ३२ प्रतिशत खर्च भएको कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा जिल्लामा यो वर्ष विकास निर्माणका कामले निकै गति लिएको कार्यालयको दाबी छ ।
पूर्वाधार विकास कार्यालयका अनुसार गत वर्ष जिल्लामा विभिन्न सडक, मोटरेबल पुल, झोलुंगे पुल, जनता आवास, भवन निर्माणजस्ता योजना सञ्चालनमा रहेका थिए । जसमध्ये एक निर्वाचन क्षेत्र एक सडकअन्तर्गत दुईवटा सडक निर्माणाधीन रहेकोमा एउटा सडक निर्माण सम्पन्नको चरणमा पुगेको कार्यालयले जनाएको छ । त्यसैगरी प्रादेशिक सडक ‘क’ अन्तर्गत दुईवटा योजना क्रमागत निर्माणाधीन रहेका छन् भने आठवटा प्रादेशिक सडक ‘ख’ अन्तर्गत ६ वटा निर्माण सम्पन्न भइसकेका छन् । जिल्लामा स्थानीय तह जोड्ने दुईवटा सडक रहेकोमा एउटा सडक निर्माण सम्पन्नको चरणमा पुगेको छ भने एउटा निर्माणाधीन छ ।
पूर्वाधार विकास कार्यालयमार्फत गत आर्थिक वर्षमा जिल्लामा ११ वटा झोलुंगे पुल रहेकोमा ६ वटा निर्माण सम्पन्न भइसकेका छन् । गत आर्थिक वर्षमा १० वटा सडक पुल योजना रहेको एउटामात्रै निर्माण सम्पन्न भएको छ भने सातवटा निर्माणाधीनअवस्थामा छन् ।
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत क्षेत्र क मा २५ योजना रहेकोमा २४ वटा सम्पन्न भएका छन् भने निर्वाचन क्षेत्र ख अन्तर्गत २२ वटा योजना रहेकोमा सवै सम्पन्न भइसकेको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ । त्यस्तै गत आर्थिक वर्षमा भवन निर्माणसम्बन्धी ११ योजना रहेकोमा सबै सम्पन्न भएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार गत आर्थिक वर्षमा संघीय सशर्ततर्फ पाँचवटा सडक योजना रहेकोमा चारवटा सम्पन्न भएका छन् भने एउटा निर्माणाधीन रहेको छ । पूर्वाधार विकास कार्यालय लमजुङले जनता आवास कार्याक्रमअन्तर्गत पनि ९५ प्रतिशत वित्तीय प्रगति भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्