सडक विस्तार गर्दा निजी जग्गामा क्षति «

सडक विस्तार गर्दा निजी जग्गामा क्षति

सिद्धाकोथानदेखि जुँगूसम्म २० वर्षपछि पहिलो पटक सडक अवरुद्ध भयो । पाखुराको भरमा २० वर्षअघि खनेको सडक राम्रो बनाउने गरी पहिलो पटक डोजर चलाएपछि यो वर्ष सडक पूर्णरूपमा बन्द हुन पुग्यो । १२ महिना नै चल्ने दोलखाका थोरै कच्चि सडकमध्ये पर्ने यो सडकमा अहिले कुनै पनि सवारी चल्न सक्ने अवस्था छैन ।
सिद्धाकोथानदेखि सुरीसम्म पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले विस्तार थालेपछि हिलो र ठाउँ–ठाउँमा गएको पहिरोका कारण बन्द हुन पुगेको हो । सडक विस्तारका क्रममा सवारी आवागमनमा कनै अवरोध नपु¥याउने सम्झौता गरेर काम सुरु गरेको मोतीदान–गर्जुमुखी–विरुवा जेभीको अहिले साइडमा कुनै उपस्थिति नै छैन ।
सडक विस्तारका क्रममा जथाभावी माथिको जग्गा काटेर तल्लो साइडमा माटो थुपार्दा स्थानीयको बालीनाली समेत क्षति पुगेको छ भने भू–क्षयले स्थानीयको जग्गा समेत विग्रेको छ । मुआब्जाबिना स्थानीयले निःशुल्क उपलब्ध गराएको जग्गामा दायाँबायाँ बराबर जग्गा लिनु पर्नेमा सजिलो भागतिर मात्र बढी जग्गा काट्दा कतिपयको सुकुम्बासी हुने गरी जग्गा गएको स्थानीयको गुनासो छ । त्यसमाथि माटो काटेर भीर बनाएर छाड्दा पहिरोले थप क्षति भएको छ ।
बैतेश्वर गाउँपालिका–४ सिद्धाकोथानदेखि गौरीशंकर गाउँपालिका–५ सुरीसम्म ३९ किलोमिटर सडक ग्राभेल, नाली, ६ मिटर चौडाको बन्ने छ । सडक बनेपछि सडक १२ महिना चल्न योग्य हुने पूर्वाधार कार्यालयको विश्वास छ ।
त्यसैगरी पूर्वाधार कार्यालयले नै ठेक्का आव्हान गरी बनाएको शैलुङ गाउँपालिका–६ र ७ को टुँडीखेलदेखि गोठपानीसम्म सडक पनि ठाउँ–ठाउँमा पहिरो र हिलोको जोखिममा परेको छ । सडक एसबीडी निर्माण सेवाले लिएको काम १ करोड ४४ लाखमा पूर्वाधार कार्यालयले ठेक्का लगाएको थियो ।
सडक चौडा, सोलिङको काम ठेक्कामै गर्नु पर्ने भए तापनि अहिले सोही सडकमा गाउँपालिका र वडाको बजेटबाट समेत काम हुँदा स्थानीयले कामको दोहोरोपनाको आशंका गरेका छन् । ‘सडककै कारण केही घर जोखिममा परेका छन्, सम्झौताअनुसारको सोलिङको काम समेत भएन’ स्थानीय सागर बस्नेतले भने ‘अहिले वडाको बजेटले समेत काम भइरहेको छ एकै ठाउँ दोहोरा बजेट किन ?’ ठेकेदारले काम गर्दा वास्ता नगरेका जनप्रतिनिधिहरुसमेत अहिले मध्य वर्षामा पनि सडक मर्मत भनेर बजेट लगानी गर्नु उचित नभएको स्थानीयको भनाइ छ ।
हिलो र ठाउँ–ठाउँमा पहिरोले मोटरसाइकल समेत गुडाउन गाह्रो भएको छ । सडककै कारण सागुते मावि छेऊमा ७ घर जति जोखिममा परेको उनीहरुको भनाइ छ । ठेकेदारकै कारण जुँगू–सुरी जस्तै भीरकोट–झुले सडकसमेत जोखिममा परेको छ ।

प्रतिक्रिया दिनुहोस्