नेप्सेसँगै कारोबार रकम पनि बढ्दै «

नेप्सेसँगै कारोबार रकम पनि बढ्दै


सेयर बजार सूचक (नेप्से) ले दिनहुँ नयाँ रेकर्ड कायम गरेसँगै कारोबार रकम पनि बढ्न थालेको छ । एक साताभित्रै तेस्रो पटक बिहीबार रेकर्ड कायम गरेको सेयर बजारमा कारोबार रकम पनि साढे १७ अर्ब नाघेको छ ।


मंगलबार ५१.६८ अंकले वृद्धि भई ३१६१.४५ विन्दुको रेकर्ड बनाएको नेप्से बुधबार त्यसलाई तोड्दै ३१६२.६ अंकमा पुगेको थियो । यसलाई पनि ब्रेक गर्दै बिहीबार नेप्से १६.४१ अंकले बढेर ३१७९ अंकमा पुगेको छ । यो हालसम्मकै उच्च रेकर्ड हो ।
नेप्से सूचकले रेकर्ड कायम गर्दा कारोबार रकम पनि बढ्न थालेको छ । बिहीबार २२५ कम्पनीका तीन करोड ६६ लाख कित्ता सेयर किनबेच हुँदा १७ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।


जेठ अन्तिममा नेप्से सूचक तीन हजारमाथि पुग्दा बजारमा एकैदिन २० अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो । त्यसपछि बजारमा आएको गिरावटसँगै दैनिक कारोबार रकम पनि घटेर चार अर्बमा झरेको थियो । नयाँ आर्थिक वर्षको सुरुवातसँगै सेयर बजार लगातर उकालो लागिरहेको छ ।

कोरोना महामारीकै बीचमा सूचीकृत कम्पनीहरूको प्रगति गरेको वित्तीय विवरणका साथै सेयर बजारप्रति नयाँ अर्थमन्त्रीको सकारात्मक धारणका कारण पनि लगानीकर्ताहरू उत्साहित देखिएका छन् ।


यसैगरी कोभिड महामारी लम्बिएसँगै अन्य क्षेत्रको लगानी समेत सेयर बजारमा आएकाले बजारमा सकारात्मक प्रभाव परिरहेको छ । सहज रूपमा अनलाइन कारोबार गर्न सकिने सुविधाका कारण पनि सेयर बजारमा लगानीकर्ताको संख्यासमेत बढिरहेको छ ।


बिहीबार १३ उपसमूहमध्ये सात उपसमूहको सूचक बढेको छ भने बाँकी ६ उपसमूहको घटेको छ । बजारमा सबैभन्दा बाहूल्य रहेको बैंकिङ समूह ८.९९ अंकले बढेको छ । यसैगरी विकास बैंक ३४४.४१, फाइनान्स ३१.७७, उत्पादनमूलक ९९.२५, जीवन बीमा ३१.०५, म्युचुअल फण्ड ०.०८, लगानी १.७१ अंकले बढेका छन् ।

यस दिन व्यापार समूह ५९.१७, होटेल तथा टुरिजम ३७.८४, जलविद्युत् २४.०८, निर्जीवन बिमा १२.२३, अन्य ९.१ र लघुवित्त ५.६५ अंकले घटेका छन् । यस दिन ९४ कम्पनीको मूल्य बढेको छ भने ८८ कम्पनीको घटेको छ । यसैगरी ४ वटा कम्पनीको मूल्य स्थिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्