नगरपालिकाको आधा योजना अधुरै «

नगरपालिकाको आधा योजना अधुरै

पाँचथर-फिदिम नगरपालिकामा अहिले २ सय ६० योजना छन् । योजनामध्ये २९ योजना सम्पन्न भइसकेका छन् । ३७ योजना सम्झौता भई काम थालनी भएका छन् भने १ सय ९४ योजनामा हालसम्म सम्झौता हुन सकेकै छैन ।
पाँचथरको फिदिम नगरपालिकाको चौथौ नगरसभा हिजोबाट भएको छ । नगरको चौतर्फी विकास योजना प्रभावकारी बनाउन आयोजना गरिने सभा सुरु भएको हो । सभामा प्रस्तुत तथ्यांकअनुसार नगरको पछिल्लो प्रगतिलाई हेर्ने हो भने सन्तोष मान्नुपर्ने अवस्था छैन । चालू आवको सातौं महिना सुरु हुँदासम्म आधाभन्दा धेरै योजना सुरु नै भएका छैनन् । चालू आवको बाँकी पाँच महिनामा सबै योजना पूरा गर्नुपर्ने हुन्छ । यस आवको अन्त्यतिर धमाधम योजना सक्ने गरी काम गर्ने चलन यो वर्ष पनि उस्तै छ ।
फिदिम नगरपालिकाको वडागत हिसाबमा योजना हेर्ने हो भने फिदिम नगरपालिका–४ सबैभन्दा अघि देखिएको छ । ४ नम्बरमा भएका ५० योजनामध्ये १३ वटा योजना पूरा भएका छन् । अरु वडामा त्योभन्दा कममात्रै काम भएको छ । सबैभन्दा कम काम ९ र १० नम्बर वडामा भएको छ । तथ्यांकअनुसार ति वडामा एउटा पनि योजना पूरा भएका छैनन् । अरु वडामा सम्झौता भएर योजना सञ्चालनमा छन् । ९ नम्बर वडामा भएका २२ योजनामध्ये कुनैमा पनि सम्झौतासम्म भएको छैन ।
सभाको उद्घाटन संघीय सांसद वशन्तकुमार नेम्बाङले गरे । उद्घाटन समारोहमा बोल्दै उनले फिदिम नगर समृद्ध र नमुना नगर बन्न सकोस् भन्ने शुभकामना ब्यक्त गरे । सभामा बोल्दै नेम्बाङले जिल्लालाई उज्यालो जिल्ला बनाउन विद्युतीकरणका लागि मात्रै राज्यले अहिलेसम्म पाँचथरमा एक अर्ब ५२ करोड आठ लाख रुपैयाँ लगानी गरेको जानकारी दिए । फिदिम नगरका सबै वडा विद्युत्को पहुँचमा पुगेको सांसद नेम्बाङको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्