पोखरा–काठमाडौं रुटमा ठगी «

पोखरा–काठमाडौं रुटमा ठगी

पोखरा–काठमाडौं रुटमा संचालन हुने हाइस माइक्रो बसमा यात्रुहरू दैनिक ठगिने गरेका छन् । नेपाल सरकारले तोकेको भाडादरभन्दा माइक्रो बसले एक सय ११ रुपैंया बढी प्रतियात्रु असुल्दै आएको पुष्टि भएको छ ।
नेपाल सरकारले २०७२ भदौ २५ गते सार्वजनिक यातायातका सवारी साधनहरूको भाडा दरमा उल्लेख भए अनुसार पोखरा काठमाडौं रुट २ सय २ किलो मिटर दूरीमा ३ सय ८९ रुपैंया उल्लेख गरिएको छ । तर विगत साढे दुई वर्षदेखि नै पोखरा– काठमाडौं रुटमा संचालन हुने प्रायः १४ सिटे माइक्रो बसमा २१ सिटसम्म बनाएर ४ सय ७५ देखि ५ सय रुपैंयासम्म लिने गरेको पाइृन्छ ।
यस विषयमा नियमन निकायलाई पनि जानकारी छ तर यस विषयमा यातायात व्यवस्था कार्यालय, जिल्ला ट्राफिक कार्यालय, जिल्ला प्रशासन कार्यालयसमेत मौन रहेका छन् । पोखरादेखि काठमाडौं जाँदा जिल्ला ट्राफिक कार्यालय कास्कीको अगाडिबाट जाने माइक्रो बसलाई नाका प्रहरी चौकी, दुलेगौडा, दमौली, आँबुखैरेनी, मुग्लिङ, थानकोट, कलंकीलगायतका ठाउँमा सवारीसाधनको चेकिङ हुने गरे पनि कुनै पनि ठाउँमा यसको प्रभावकारी अनुगमन हुन सकेको छैन ।
गण्डकी यातायात व्यवस्था कार्यालय पोखराका प्रमुख अच्युतराज रेग्मीले केही सवारी साधनले सरकारले तोकेको भन्दा बढी भाडा लिने गरे पनि आफूहरूले सबैलाई अनुगमन गर्न नसकेको बताए । उनका अनुसार डिलक्स सेवा दिने यात्रुवाहक बसहरूले २० प्रतिशतसम्म अतिरिक्त शुल्क लिन मिल्ने बताए । सरकारले तोकेको भाडाभन्दा एक रुपैंया पनि कसैले बढी लिएको प्रमाणसहित कार्यालयमा आएमा सवारी साधनमाथि कारबाही गर्ने उनले बताए ।
पृथ्वीराजमार्ग बस संचालक समिति, नेपाल माइक्रो यातायात कम्पनी, सगुन यातयात कम्पनी, आरामदायी माइक्रो भिमाद, स्थानीय श्रृङ्गा यातायात, गण्डकी यातायात व्यवसायी समिति, धौलागिरी यातायात व्यवसायी समितिबाट संचालित माइक्रो बसहरूले पोखरा–काठमाडौं तथा काठमाडौं–पोखरा हुँदै स्याङ्जा, वालिङ लगायतका क्षेत्रमा संचालन हुने माइक्रो बसमा यात्र गर्ने यात्रुहरू ठगिएका छन् । पोखरा काठमाडौं रुटमा दैनिक करिब ७० वटा माइक्रो बसहरू संचालन हुन्छन् । सामान्यतया १४ सिटे माइक्रोमा यात्रा गर्दा पनि करिब एक दिनमा प्रति यात्रुको एक सय ११ रुपैंयाले १ लाख ८ हजारभन्दा बढी रुपैंया ठगी हुने गरेको छ । वार्षिक रूपमा करिब ३ करोड ८० लाख रुपैंयाभन्दा बढी ठगी भएको देखिन्छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी अञ्चलद्वारा संचालित २१ वटा विभिन्न संघ संस्थामा हाल करिब ३० हजार सवारीसाधनहरू सञ्चालित छन् । यी मध्ये माइक्रो बस मात्र ४ सय वटा रहेको समितिका सचिव भानुभक्त बरालले बताए । आफूहरूले वैज्ञानिक भाडादर लागु गरेको उनले दाबी गरे । यातायात विभागले हाइस माईक्रोमा डिलक्स सेवा भनी छाप लगाएर दिएको आधारमा आफूहरूले भाडा दरभन्दा २० प्रतिशत अतिरिक्त शुल्क लिने गरेको बताए ।
हाइस माइक्रो बसको १४ सिटे सानो प्रकृतिको गाडी भएकाले गर्दा अतिरिक्त सेवासहितको लक्जरियस सेवा भनी शुल्क लिनै नमिल्ने यात्रुहरूले गुनासो गर्दै आएका छन् । हाल संचालन हुने अधिकांश माइक्रो बसमा एसी, सिटको प्रकृतिलगायतमा हुनु पर्ने सेवा समेत उपलब्ध छैन । पोखरामा संचालन हुने माइक्रो बसले पनि चढ्ने बित्तिकै १३ रुपैया लिनुपर्नेमा अधिकांश माइक्रो बसहरूले १५ रुपैंया लिने गरेका छन् । ज्येष्ठ नागरिकहरूका लागि एउटा बसमा कम्तीमा दुई सिट छुट्याउनु पर्ने र ५० प्रतिशत छुट दिनु पर्नेमा उक्त निर्णय समेत अधिकांश गाडीले लागु नगरेको ज्येष्ठ नागरिकहरूको गुनासो छ ।

 

प्रतिक्रिया दिनुहोस्