मुआब्जा माग्दै सडक अवरुद्ध «

मुआब्जा माग्दै सडक अवरुद्ध

नुवाकोट-राष्ट्रिय गौरवको आयोजनाको रूपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजनाअन्तर्गत नुवाकोटको पिपलटारदेखि ढुंगेसम्मका प्रभावित बासिन्दाले मुआब्जा माग गर्दै आइतबार दुई घण्टा सडक अवरुद्ध गरेका छन् ।
आयोजना अन्तर्गत पीपलटार–ढुंगे करिब नौ किमि सडक बालाजु–त्रिशूली सडक खण्डमा पर्ने र सो सडकको सीमा निर्धारण वि.सं २०३४ सालको राजपत्रमा उल्लेख गरिएको भन्दै मुआब्जा नदिने जनाएपछि प्रभावित बासिन्दाले सवारी साधन सञ्चालनमा अवरोध पु¥याएका हुन् । मुआब्जा पीडित संघर्ष समितिको आयोजनामा मध्यान्ह १२ बजेदेखि अपरान्ह दुई बजेसम्म गरिएको बन्दले यहाँको छोटो तथा लामो दूरीका सवारीसाधन ठप्प बनेका थिए ।
बन्दपछि आयोजित कोणसभामा चरणबद्ध आन्दोलनका कार्यक्रम अन्तर्गत सवारी बन्द गराएको र मागको सुनुवाइ नभए थप संघर्षका कार्यक्रम ल्याउन बाध्य हुने समितिका संयोजक लिलानाथ न्यौपानेले चेतावनी दिए । “स्थानीयवासी विकासको विरोधी भनेर निर्माणकार्य रोक्ने पक्षमा छैनौं,” उनले भने, “एउटै आयोजनामार्फत भइरहेको कार्यको कहीँ दिने र कहीँ नदिने विभेदविरुद्धमा आन्दोलित भएका हौं ।”
यो आयोजना अन्तर्गत धादिङको गल्छीदेखि नुवाकोट हुँदै रसुवा र चीनको सीमाक्षेत्र रसुवागढी नाकासम्म सडक विस्तार भइरहेको छ । सडकको गल्छी–देवीघाटको मुआब्जा निर्धारण गरी रकम वितरण भइरहेको छ । यस्तै, विदुर नगरपालिका–१ ढुंगेदेखि मैलुङसम्मको पनि मुआब्जा निर्धारणको प्रक्रियामा रहेको योजना प्रमुख सुबोधकुमार देवकोटाले जानकारी दिए । उनको अनुसार त्रिशूली–ककनी–बालाजु खण्डमा पर्ने पासाङ ल्यामु राजमार्ग क्षेत्रको दायाँबायाँ जग्गाको सीमा निर्धारण वि.सं २०३४ मा सडक विस्तारको क्रममा सडकको पहुँचमा आइसकेकाले हालको सडकमा पर्ने जग्गाको मुआब्जा निर्धारणका लागि कानुन अभावमा पिपलटार–ढुंगेसम्मको भने मुआब्जा दिन नसक्ने अवस्था छ ।
पिपलटार–ढुंगे सडक खण्ड नुवाकोटको सदरमुकामसहित मुख्य–मुख्य बजार क्षेत्रमा पर्दछ । मुआब्जा माग गर्दै प्रभावित बासिन्दाले यसअघि चरणबद्ध रूपमा विरोध प्रदर्शन गरेका थिए भने आगामी दिनमा जिल्ला बन्दसम्मको घोषणा गरेका छन् । यहाँबाट प्रतिनिधित्व गर्ने सांसदले प्रतिनिधिसभाको संसद बैठकदेखि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर मुआब्जा उपलब्ध गराउन ध्यानाकर्षणसमेत गराएका छन् ।
। विभिन्न चरणमा विरोधका कार्यक्रम गर्दै आएका स्थानीयले सडक निर्माणकार्यमा भने अवरोध पु¥याएका छैनन् । निर्माणकार्य तीव्र गतिमा अघि बढिरहेको छ । ‘गल्छी–रसुवागढी’ सडकको पृथ्वी राजमार्गस्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाट–त्रिशूली–रसुवाको मैलुङ–स्याफ्रुबेसी–रसुवागढी हँुदै चीनको केरुङ प्रवेशद्वारसम्म जोड्ने सडक निर्माणको काम भइरहेको छ । उक्त सडक ८२ किमि दूरीको छ । आयोजनाको समग्र काम हाल ३५ प्रतिशत सम्पन्न भएको छ । चीनसँगको सीमा क्षेत्र रसुवागढीदेखि धादिङको गल्छीसम्मको सडक निर्माणका लागि नेपाल सरकारले ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजनाको लागि नौ अर्ब ५० करोड बजेट उपलब्ध गराएको छ ।
गल्छीबाट सुरु भएर रसुवागढीसम्म पुग्ने सडकको निर्माण ठेकेदार पक्ष, नेपाली सेना र चीन सरकारमार्फत तीन खण्डमा भइरहेको छ । गल्छीबाट मैलुङसम्मको ४६ किमि सडक कोभेक–तुदी–रसुवा कन्स्ट्रक्सन जेभीमार्फत भइरहेको छ ।
रसुवाको मैलुङदेखि स्याफ्रुबेसीसम्म १८ किमि सडकको ट्रयाक खोल्ने जिम्मेवारी पूरा गरी नेपाली सेनाले गरी गतचैत ३० मा आयोजना पक्षलाई हस्तान्तरण गरिसकेको छ । स्याफ्रुबेसीबाट रसुवागढीसम्मको १८ किमि सडक चीन सरकारमार्फत निर्माण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्