Logo

आफन्त विस्तार प्रतियोगिताका पुरस्कृत सार्वजनिक

नेपालीहरुले बनाएको व्यावसायिक सामाजिक सञ्जाल ‘आफन्त’ ले ‘आफन्त विस्तार प्रतियोगिता’ को पुरस्कृतहरुलाई सार्वजनिक गरेको छ । गोलाप्रथाबाट पाँच जना बिजेताको नाम सार्वजनिक गरिएको हो ।
बिजेताहरुमा सुस्मिता डगौरा, सुशील मोक्तान, सुजितप्रसाद कुशवाहा, निशा पराजुली र विमलधन राई रहेका छन् । भाग्यशाली बिजेताहरुलाई जनही १० हजार रुपैयाँ र व्यवसाय विकास तालिम प्रदान गरिने आफन्तका अध्यक्ष श्याम गिरीले बताए ।
लघु, घरेलु तथा साना उद्योग व्यवसाय र पेशा प्रवद्र्धन गर्नुका साथै उद्यमशीलता विकास गर्ने उद्देश्यले आफन्त नामक सामाजिक सञ्जाल एक वर्ष अगाडि सञ्चालनमा आएको हो । नेपालीले नेपालीकै लागि बनाएर सञ्चालनमा ल्याएको ‘आफन्त’ वेवसाइट तथा एप दुवै माध्यममा उपलब्ध छ ।
आफन्त सञ्जाल गाउँघरमा दिदीबहिनीहरुले उत्पादन गरेको अचार, जंगलबाट संकलन गरेको निगुरोमात्रै नभएर साना तथा लघु उद्यमीहरुका उत्पादनलाई कसरी सहज रुपमा बजारीकरण गर्न सकिन्छ भनेर खोजी गर्ने क्रममा यो आइडिया आएको आफन्त नेपाल प्रालिका अध्यक्ष गिरीले बताए ।
कृषि, औद्योगिक लगायत अन्य स्थानीय उत्पादक र थोक तथा खुद्रा व्यापारी र उपभोक्ताबीच वस्तु खरिद बिक्रीबारे जानकारी लिने दिने माध्यमका साथै निर्यातमूलक वस्तु उत्पादनकर्ता र बाह्य खरिदकर्ता र व्यापारीबीच जानकारी आदान प्रदान गर्ने माध्यमको रुपमा आफन्तलाई अगाडि बढाइएको उनले बताए ।
विभिन्न कालखण्डमा नेपालमा रहेर वा नरही नेपाललाई माया गर्ने गैर नेपाली र नेपाली समुदायबीच अन्तरक्रिया गर्ने माध्यम पनि आफन्त रहेको अध्यक्ष गिरीले बताए । बिक्रेता र क्रेतालाई जोड्ने पुलका रुपमा काम गर्ने ‘आफन्त’ लाई नेपालीहरूको अनलाइन साझा चौतारी बनाउन खोजिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्