सामाजिक सञ्जालमा बढ्दो विकृति «

सामाजिक सञ्जालमा बढ्दो विकृति

सूचना तथा सञ्चार जगत्ले तीव्र रूपमा गति लिएको छ । यतिसम्म सञ्चार जगत्ले सफलता हासिल गरेको छ कि लाग्छ, सूचना प्रविधि भएन भने हामी सायद बाँच्न सक्दैनौं । कोरोनाको सन्त्रास त्यसमाथि निषेधाज्ञा, यदि यस समयमा सूचना प्रविधि जस्तै फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबलगायतका सामाजिक सञ्जालको माध्यम नभएको भए मानिसहरू कोरोनाबाट नभई घरभित्र थुनिएर अनि डिप्रेसनबाट पीडित भएर नै मर्ने थिए होला । सूचना तथा इन्टरनेटको उपयोगले धेरै क्षेत्रमा युगान्तकारी परिवर्तन भएको छ । यससँगै सामाजिक सञ्जाल प्रयोग गर्ने मानिसको संख्या दिन–प्रतिदिन रफ्तारमा बढ्दै छ । यो निकै सकारात्मक कुरा हो ।
जति धेरै मानिसमा सूचना र सञ्चारको पहुँच बढ्छ उति नै शिक्षा, स्वास्थ्य, वातावरण आदि क्षेत्रमा सामाजिक चेतनाको स्तर पनि बढ्छ । यससँगै मानिसले समाजमा विकास र सुशासनका लागि खबरदारी पनि गर्न सक्छन् । सामाजिक सञ्जालको मार्फतबाट हामीलाई यो अनुभव नै हुँदैन कि हाम्रा आफन्तहरू हामीबाट कोसौं टाढा छन् । निःशुल्क वा कम खर्चमा धेरैभन्दा धेरै मानिसलाई सूचना र जानकारी दिने माध्यम बनेको छ सामाजिक सञ्जाल ।
बालबालिकादेखि वृद्धहरूले समेत इन्टरनेटको माध्यमबाट प्रायः हरेक प्रश्नको जवाफ प्राप्त गर्न सक्छौं । घर बसीबसी केही सीपमूलक कार्य जस्तै सिलाइबुनाइ, पाक् शिक्षा, खेर गइराखेका सामानहरूको पुनर्प्रयोगदेखि लिएर कम्प्युटरसम्बन्धी ज्ञानसमेत हामीले गुगल एप तथा युट्युबको माध्यमबाट लिन सक्छौं । तर, एउटा भनाइ नै छ नि, ‘बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड’ भनेझैँ केही व्यक्तित्वहरूका कारणले गर्दा अहिले सामाजिक सञ्जालमा विकृति पनि बढिरहेको छ । अहिलेको समयमा अधिकतम रूपमा प्रयोग गरिने टिकटक एपमा यति धेरै विकृति छाएको छ कि कहिलेकाहीं त लाग्छ, यहाँ पनि यसलाई प्रतिबन्ध गरे हुन्थ्यो । अश्लील भिडियो, तस्बिरहरू पोस्ट गर्ने, अपशब्द तथा नराम्रा टिप्पणीहरू गर्ने र यहाँसम्म कि वृद्ध व्यक्तिहरूले समेत अर्धनग्न कपडा लगाएर अभिनय गरेको देख्दा परिवार तथा बालबालिकासँग बसेर हेर्न आफैंलाई लाज लाग्ने गर्छ । साधारण कपडा लगाएर पनि टिकटक बनाउन सकिन्छ, हैन र ?
प्रशंसनीय नृत्य, अभिनय, संगीत गाउन सिक्ने, हास्यमूलक प्रस्तुति देखाउने, आफूसँग केही उपलब्धिमूलक सीप भएमा अनुभव बाँड्नेजस्ता अन्य ज्ञानमूलक कार्य पनि गर्न सकिन्छ । ‘कला र संस्कृतिले भरिएको देश नेपाल’ भनेर नारा लगाएर मात्र हुँदैन । यस्तै कर्तुतका कारणले गर्दा समाजमा विभिन्न प्रकारको महिला तथा अन्य हिंसा बढिराखेको छ । राम्रो अभिनय तथा कला प्रस्तुत गर्ने व्यक्तित्वहरूले मिडियामा राम्रो काम तथा सफलता पाएका पनि छन् र विभिन्न युट्युबरहरूले अन्तर्वार्ता लिएर उनीहरूको कलालाई सम्मान पनि गरेका छन् । राजनीतिक दलका व्यक्तिहरूको नामलाई तथा तस्बिरको दुरुपयोग गरी, अन्य व्यक्तिको शरीरमा टाउको जोडी बदनामसमेत गरिराखेका हुन्छन् । यस्ता कर्तुत गर्ने केही गिरोहहरू पक्राउ परेको समाचार पनि सुन्नमा आइराखेको थियो । झनै युट्युबमा सामान्य चलचित्र, संगीत तथा अन्तर्वार्ताको भिडियो होला भनेर खोलेर हेर्दा भित्र अश्लील भिडियोहरू राख्ने गर्छन् । परिवार तथा बालबालिकासँग बसेर यस्ता सञ्जाल चलाउन अहिले निकै नै असहज भएको छ । यस्तो विकृतिले गर्दा अहिलेका युवा पिँढीहरूमा बढी नकारात्मक असर परेको छ । त्यस्तै बालबालिकामा पनि मोबाइल तथा इन्टरनेट चलाउने यति धेरै लत बसिसकेको छ कि अब ठूला व्यक्तिभन्दा पनि साना बालबालिकालाई मोबाइल तथा इन्टरनेट अनिवार्य भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्