Logo

समस्याग्रस्त सहकारीको समस्या समाधान गर्न प्रदेश संघले सहजीकरण गर्ने


बागमती प्रदेश कार्यक्षेत्रभित्र समस्याग्रस्त सहकारीको समस्या समाधान गर्नका लागि बागमती प्रदेश सहकारी संघले सहजिकरण गर्ने भएको छ । संघको प्रथम वार्षिकोत्सवका अवसरमा बोल्दै संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले प्रदेशका समस्याग्रस्त सहकारीको समस्या समाधानमा पहल गर्ने बताएका हुन् ।
“बागमती सबैभन्दा बढी सहकारी भएको प्रदेश हो, सबैभन्दा बढी समस्या पनि यही छन्” शर्माले भने, “समस्या समाधानका लागि संघले पहल गर्छ ।” सहकारी ऐनमा सहकारीलाई अनुगमन गर्ने र कारबाहीका लागि सिफारिस गर्ने अधिकार संघमा भएकाले यसका लागि संघले काम आफ्नो भूमिका निर्वाह गर्ने बताए ।
संघले प्रथम वार्षिकोत्सवको अवसरमा बुधबारदेखि ललितपुरमा कार्यालय समेत स्थापना गरेको छ । अध्यक्ष शमाले सहकारीका बाँझिएका ऐन संशोधनका विषयमा पनि पहल गरिरहेको जानकारी दिए । हाल जिल्ला सहकारी संघहरुसँग सहकार्य भइरहेको भएपनि अन्ततः संघीयता लागु हुनुपर्ने र जिल्ला संघ खारेज हुनुपर्ने उनले बताए ।
संघमा जिल्ला संघ, विषयगत जिल्ला संघ र प्रारम्भिक सहकारी संस्था गरी करिब १ सय १० सदस्य आवद्ध छन् । संघ दर्ताको क्रममा ५६ संघ आवद्ध थिए । संघले जिल्ला संघ र प्रारम्भिक सहकारी संस्थाबाट सेयर समेत संकलन गर्दै आएको छ ।
सदस्यबाट प्राप्त सेयरलाई उत्पादनमुलक व्यवसायमा लगानी गर्ने सोच बनाएको र यसका लागि रणनीतिक योजना समेत बनेको संघले जनाएको छ । बागमती प्रदेशमा २ हजार ८५० सहकारी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्