निगममा प्वाल टाल्ने काम भएको छ : मन्त्री यादव «

निगममा प्वाल टाल्ने काम भएको छ : मन्त्री यादव

असहायलाई सहुलियत दिने र अन्यलाई परलमूल्यमा वितरण गर्न सके ग्यासमा देखिएका समस्या सवै समाधान हुने मन्त्री यादवको भनाइ छ ।

 उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपाल आयल निगममा विस्तारै प्वाल टाल्ने काम भएको बताएका छन् । निगमको ४९ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री यादवले अहिले आएर निगमको प्वाल टाल्ने काम भइरहेको बताए । “निगम लामो समयदेखि प्वालै प्वाल परेको एउटा सरकारी संस्था हो,” उनले भने, “यसमा हाकिम, ढुवानीकर्ता, सचिव, मन्त्रीदेखि बिक्रेता सवैले चुहिएको ठाउँमा भाँडा थाप्ने गरेकाले माथि उठ्न सकेको छैन ।”
मन्त्री यादवले ट्यांकरमा लकिङ गर्दा पनि तेल चोरी नरोकिएको बताए । “निगमको सुधार गर्न धेरै चुनौति रहेकाले यसभित्र रहेका विकृति र विसंगति बन्द नगरी मुलुककै कल्याण हुँदैन,” उनले भने । खाना पकाउने एलपी ग्यासको दोहोरो मूल्य लागू गर्नुपर्ने पनि उनले बताउ । नेपालमा सहुलियत जति ठूलाबडाले लिइरहेकाले असहाय जनतालाई ग्यासमा सहुलियत दिइनुपर्ने उनको भनाइ छ । असहाय जनतालाई सहुलियत दिने र अन्यलाई परलमूल्यमा वितरण गर्न सके ग्यासमा देखिएका समस्या सवै समाधान हुने उनको भनाइ छ ।
कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले राजनीतिक, प्राविधिक र बजारका कारणले पूर्णरूपमा स्वचालित मूल्य लागू गर्न नसकिएको बताए । इन्धनको खपत बढ्दै गए पनि २०५८ सालदेखि भन्डारणस्थल निर्माण कार्य नभएकाले चुनौती भएको उनको भनाइ छ ।
निगमका नवनियुक्त कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले निगमभित्रका विकृति र विसंगति हटाएर सुदृढ बनाउने बताए । निगमलाई सुधार गर्न शून्य सहनशीलताको नीतिलाई कडाईका साथ लागू गरिने उनले जानकारी दिए ।
निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईले गत वर्षदेखि इन्धनको स्वचालित मूल्य लागू गरेकाले निगमको आर्थिक सुधार हुँदै गएको बताए । “स्वचालित मूल्यको फर्मुलाअनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेजति स्थानीय बजारमा मूल्य घटाउन सकिएको छैन,” उनले भने, “अन्तर्राष्ट्रिय मूल्यअनुसार मूल्य कायम राख्न स्वचालित फर्मुलालाई पुनः मूल्यांकन गरिने छ ।” फर्मुलामा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य जति घटबढ भए पनि स्थानीय बजारमा दुई प्रतिशत भन्दा बढी घटबढ गर्न नपाइने व्यवस्था छ । १ हजार ९ सय वटा ट्यांकरमा पूर्णरूपमा लकिङ प्रणाली जडान गरिसकेको जानकारी दिँदै भट्टराईले यसबाट प्राविधिक नोक्सान बचत हुनुका साथै बिक्रेताले सही परिमाणमा तेल पाउने गरेको बताए । “निगमले आफ्नो नाफाबाट चुक्ता पुँजी बढाएर ११ अर्ब पु-याएको छ,” उनले भने, “यसलाई आगामी वर्षमा १५ अर्ब रूपैयाँ पु-याउने लक्ष्य छ ।” वार्षिक दुई खर्ब बढी करोबार गर्ने निगमको चुक्ता पुँजी २९ करोड मात्र थियो । निगमले चुक्ता पुँजीलाई बढाएर ३० अर्ब पु-याउने लक्ष्य लिइएको छ ।

हवाई इन्धनको मूल्य प्रतिलिटर १० रूपैयाँ घट्यो
नेपाल आयल निगमले हवाई इन्धनको आन्तरिक बिक्रीमूल्य प्रतिलिटरमा १० रूपैयाँ घटाएको छ । बिहीबार राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य प्रतिलिटर १० रूपैयाँ घटाइएको हो । अब हवाई मूल्य प्रतिलिटर ९४ रूपैयाँ ५० पैसा पर्ने निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य घटाए पनि अन्तराष्ट्रियतर्फको मूल्य भने नघटेको निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्