Logo

वैदेशिक रोजगारीबाट फर्केर कृषि र पशुपालनमा रमाउँदै ओली

दोलखा – रोजगारका लागि आकर्षक गन्तव्य वैदेशिक रोजगारी हो । अहिले धेरै युवाहरू रोजगारीका लागि विदेश जाँदा गाउँका खेतबारी बाँझै हुन थालेका छन् । श्रीमान् रोजगारीमा विदेश गए तापनि श्रीमती छोराछोरी पढाउन भन्दै सहर पस्दा गाउँका अधिकांश घरहरूमा ताला लागेका छन् भने कतिपयमा बुढाबूढीले मात्र घर कुर्नु परेको छ ।
तर कालिञ्चोक गाउँपालिका–३ पुटुङका एक युवा भने वैदेशिक रोजगारी छाडेर गाउँमै व्यावसायिक कृषि र पशुपालनमा लागेका छन् । कतारमा ३ वर्ष र मलेसियामा २ वर्ष रोजगारी गरेका पुटुङका रामचन्द्र ओली अहिले व्यवसायिक रुपमा तरकारी खेती र पशुपालनमा लागेका हुन् ।
सुरुमा गाउँका युवाहरू बैदेशिक रोजगारीका लागि जान थालेपछि उतै लागेका ओली २ वटा देशमा जाँदा पनि चित्त नबुझेपछि गाउँमै फर्केर स्वरोजगारमूलक कृषितिर लागेका हुन् । विदेशमा बसेर काम गर्दा यत्तिकै मेहेनेत गर्दा आफ्नै गाउँमै धेरै आम्दानी गर्न सकिने लागेर गाउँ फर्केको बताउँछन् ।
‘खाने मुखलाई जुँगाले छेक्दैन’ भने झै आफ्नो पर्याप्त जग्गा नभए तापनि गाउँकै जग्गा भाडामा लिएर उनले खेती गरेका हुन् । उनले २ वर्षदेखि अकबरे खुर्सानी १ हजार ५ सय बोट लगाएका छन् । खुर्सानीसँगै ८ वटा प्लाष्टिक टनेल बनाएर ८ सय बोट गोलभेडा पनि छ । यसका लागि उनले छिमेकीसँग ६ रोपनी जग्गा भाडामा लिएका छन् ।
गत वर्ष ९० हजार खुर्सानीबाट आम्दानी लिएका ओलीले यस वर्ष विरुवा पनि परिपक्क भएकाले यस वर्ष राम्रै फल्ने अनुमान गरेका छन् । तरकारीका लागि गोलभेडा र अकबरे खुर्सानी लाभदायक भएकाले धेरै किसिमका तरकारीभन्दा यही २ वटामा मात्र लागेको उनले बताए ।
तरकारी खेती गरेको भन्दा केही तल गाईगोठ छ । एक वर्षदेखि गाई पाल्न थालेका ओलीले ९ वटा जर्सी गाई पालेका छन् । त्यसका लागि घाँस र दाना बाहिरबाटै ल्याउनुपर्छ । गाई दूध दोलखा डेरीलाई बिक्री गर्ने गरेका छन् । डेरी उनको गोठसम्म दूध संकलनका लागि पुग्ने गरेको छ ।
दोलखाको उत्तरी क्षेत्रको मुख्य बजार सिंगटीभन्दा ३ किलोमिटर मात्र टाढा रहेको उनको कृषि फर्म र गाई गोठ छ । तरकारी आफैं बजार पु¥याउने गरेका छन् । कहिलेकाँही व्यापारीहरू नै फर्मसम्म पुग्ने गरेका छन् । शुभेच्छा कृषि तथा पशुपालन फर्म दर्ता गरेरै काम थालेका ओलीलाई श्रीमती सर्मिला भण्डारीले सघाउँदै आएकी छिन् ।
घरमै ४ सय बोइलर कुखुरा पनि पाल्दै आएका छन् । कुखुरालाई दाना, पानी, गाईको स्याहार र गोलभेडा र खुर्सानीको गोडमेलमा श्रीमान् श्रीमतीलाई भ्याइनभ्याइ हुन्छ । ‘अली बढी काम भएको बेला खेताला लगाउँछौं,’ श्रीमती सर्मिलाले भनिन् ‘अरु काम त सबै आफैं भ्याउँछौं ।’ अरू कतिपय कामै छैन भन्दै सहर र विदेश पुग्छन् हामीलाई यहीं भ्याइनभ्याइ छ,उनले भनिन् ।
कृषि र पशुपालनका लागि भन्दै स्थानीय र प्रदेश सरकारले ठूलो रकम खर्च गर्दै आएको छ । तर २ वर्षदेखि यही यसलाई व्यावसायिक रूपमा गर्दै आएका यि दम्पतीलाई सरकारी अनुदानको बारेमा जानकारी नै छैन । ३५ लाख लगानी गरेका ओली अहिलेसम्मको कामले सन्तुष्टि मिलेको बताउँछन् । कठिन कामका लागि लाखौं खर्च गरेर विदेश जानुभन्दा त्यही लगानी यहीं कृषि र पशुपालनमै गरे विदेशभन्दा बढी गाउँमै कमाउन सकिने ओलीको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्