उद्योग संगठन मोरङमा सीप विकास इकाई स्थापना «

उद्योग संगठन मोरङमा सीप विकास इकाई स्थापना


औद्योगिक क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको मागलाई सम्बोधन गर्न उद्योग संगठन मोरङले सीप विकास इकाई सञ्चालनमा ल्याएको छ । उद्योगलाई आवश्यक दक्ष जनशक्ति र बजारमा उपलब्ध जनशक्तिबीच रहेको भिन्नता ‘मिसम्याच’ का कारण उद्योग व्यवसायले भोग्दै आएको दक्ष जनशक्ति अभावको समस्यालाई सम्बोधन गर्न तालिम प्रदायक संस्था र उद्योगबीच समन्वय गरी दक्ष जनशक्तिको उपलब्धतालाई सहजीकरण गर्ने उद्देश्यले संगठनमा छुट्टै सीप विकास इकाई कार्यान्वयनमा ल्याइएको संगठनका अध्यक्ष सुयश प्याकुरेलले बताए ।


संगठनमा स्थापित इकाईले उद्योगलाई आवश्यक पर्ने दक्ष जनशक्ति तालिम प्रदायक संस्थाहरुसँगको सहकार्य सम्बन्धीत उद्योगमा औद्योगिक प्रशिक्षार्थी ‘अप्रेन्टिसीप मोडेल’ मा तालिम सञ्चालनका लागि समन्वकारी भूमिका निर्वाह गर्ने बताइएको छ । पाइलट कार्यक्रमका रुपमा संगठनले सिटिइभिटीको मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट मेकानिकल र इलेक्ट्रिकल विषयमा २४ महिने डुयल भेट अप्रेन्टीसीप र १८ महिने कार्यस्थलमा आधारित तालिम सञ्चालन गर्ने कार्यक्रम रहेको अध्यक्ष प्याकुरेलले बताए ।
तालिमको समन्वयका साथै इकाईले उद्योगहरुबाट दक्ष जनशक्तिको क्षेत्रगत माग संकलन गर्ने तथा सो मागका आधारमा अन्य क्षेत्रगत विषय पनि क्रमशः थपिँदै लगिने भएकोे छ । माग र आपूर्तिको डाटाबेस अद्यावधिक गर्ने, तालिम सञ्चालनमा समन्यव गर्ने र समयानुकुल तालिमको विषय र पाठ्यक्रम परिमार्जन र नीतिगत सम्बोधनका लागि यस क्षेत्रका सरोकारवालाहरु निजी क्षेत्र, तालिम प्रदायक संस्थाहरु एव सरकारी नियमन निकायबीच निरन्तर नीतिगत संवाद श्रृङ्खलाहरुमार्फत नीतिगत सहजिकरण गर्नेगरी सीप विकास इकाईको कार्ययोजना रहेको संगठनका महानिर्देशक चुडामणि भट्टराईले स्पष्ट पारे ।
हेल्भेटास इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा सञ्चालनमा ल्याइएको यस कार्यक्रमले दक्ष जनशक्ति उत्पादनका मूख्य सरोकारवालाहरु निजी क्षेत्र, सरकार र तालिम प्रदायक शैक्षिक संस्थाबीच तालिम सहजिकरण, नीतिगत सुधार र रोजगारी श्रृजनाका लागि समन्वय गर्न दिगो नीति फोरमका रुपमा आफ्ना कार्यक्रमहरु सञ्चालन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्