पोथीभन्दा भाले धेरै
कञ्चनजंघा संरक्षण क्षेत्रमा नाउर गणना

जिल्लाको कञ्चनजंघा संरक्षण क्षेत्रमा नाउर गणना (ओलाङ्चुङ्गोला बाहेक) सकिएको छ ।
२ हजार ३५ वर्ग किमि क्षेत्रफलमा भाले नाउर बढी पाइएको छ । १ हजार ४२१ नाउरमध्ये पोथी नाउरको संख्या ४९५ मात्र छ । तीमध्ये २७ वटा भाले वा पोथी भनेर पहिचान गर्न नसकिएको हो । ८० वटा बच्चा छन् । ४ वटा ब्लगमा विभाजन गरेर ३ वटा ब्लगमा गणना गरिएको संरक्षण अधिकृत गणेश तिवारीले जानकारी दिए । तिवारीका अनुसार सबैभन्दा बढी घुन्सा–खम्बाचेन ब्लगमा ६ सय ४२ वटा नाउर पाइएको छ । याङ्मा ब्लगमा ५३२ र राम्जेर ब्लगमा २४७ वटा छन् । ओलाङ्चुङ्गोला–मौमा ब्लगमा गणना हुन बाँकी छ ।
संरक्षण अधिकृत तिवारीले भने, “कोबिड–१९ जोखिमले बस्तीक्षेत्र प्रवेश निषेध छ । त्यही भएर परिस्थिति सहज बनेसँगै गणना सुरु हुन्छ ।” ओलाङ्चुङ्गोला चिनको तिब्बतसँग सीमा जोडिएको क्षेत्र हो । उक्त क्षेत्रमा नाउर गणनाका लागि गत वैशाख १९ गते सम्झौता भएको छ । संरक्षण क्षेत्र र हिउँ चितुवा संरक्षण उपसमिति ओलाङ्चुङ्गोलासँग सम्झौता गरेको हो । ३ हजार ८ सय मिटरमाथिका क्षेत्रमा टेलिस्कपबाट गणना गरिएको हो । गणनाका लागि करिब ३० जना खटिएको थियो । पानी पिउन खोला झर्ने र चरनका बेला गणना सम्भव हुन्छ । नाउर समूहमा लस्करै लागेर हिँड्ने गर्छ । गणनाका लागि मौसमले पनि साथ दिनुपर्छ । अनुकूल मौसम भएको हुँदो हो त कम्तीमा २ हप्तामा गणना सकिन्छ । यद्यपि यो पटक पानी धेरै परेको र कुहिरो तथा हुस्सु बढी लागेकाले गणना कठिन बनेको कार्यालयले जनाएको छ । जेठ र असारभन्दा तुलनात्मक रूपमा चैत र वैशाख गणनाका लागि अनुकूल मानिन्छ । तर कोरोना संक्रमणका कारण चैत र वैशाख असहज बन्यो ।
अध्यक्ष खगेन्द्र फेम्बोका अनुसार संरक्षण क्षेत्रभित्रको नाउर संरक्षण समुदायको योगदानमा सम्भव बनेको हो । अध्यक्ष फेम्बोले भने, “नाउर सिकारका लागि ६÷७ वर्षअगाडि प्रक्रिया बढेको थियो । तर केही वर्ष गणना स्थगित भएकाले सिकार गर्न सम्भव भएन् ।” अब सम्बन्धित विभाग र मन्त्रालयसँग समन्वय गरेर नाउर सिकारको प्रक्रिया सञ्चालन गर्ने परिषद्को तयारी छ । एउटा नाउरको सिकारका लागि लाखौ रुपैयाँ राजस्व संकलन हुन्छ । बुढो उमेरका नाउर त्यतिकै मरेर जानुभन्दा संरक्षणमा टेवा मिल्ने गरी समुदायको आम्दानीसँग जोड्न सकिन्छ । नाउर अध्ययन गरेर सिकार खुल्ला गर्न मिल्ने गरी नियमावलीमा समेत उल्लेख भएकाले आगामी योजनामा समावेश गर्नुपर्ने खाँचो आंैल्याइएको छ । मुलुककै एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्ष रहेको छ ।
सरकारले २०५४ साल साउनमा १ हजार ६५० वर्ग किमि क्षेत्रफललाई कञ्चनजंघा संरक्षण क्षेत्रको रूपमा घोषणा गरेको थियो । तर २०५५ सालमा पुनः क्षेत्र विस्तार गरेर २ हजार ३५ वर्ग किमि क्षेत्रफल कायम गरेको छ । कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापनको जिम्मेवारी स्थानीयस्तरमा गठन भएको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्लाई २०६३ साल असोज ६ गते हस्तान्तरण गरिएको हो । तत्कालीन वन राज्यन्त्री गोपाल राईसहित संरक्षणविद् तथा विभिन्न क्षेत्रमा कार्यरत व्यक्तित्वले हस्तान्तरण कार्यक्रम सम्पन्न गरेर फर्कने क्रममा हेलिकप्टर दुर्घटना हुँदा २४ जनाको ज्यान गएको थियो ।