नेपालगन्जमा न्यानो लुगा, कम्बल र सिरक डस्नाको व्यापार बढ्यो «

नेपालगन्जमा न्यानो लुगा, कम्बल र सिरक डस्नाको व्यापार बढ्यो

नेपालगन्ज-पुसको दोस्रा सातामा आएर बाँके बर्दियालगायत यस क्षेत्रमा जाडो एक्कासि बढेपछि नेपालगन्जमा न्यानो लुगा र कम्बलसहित सिरक डस्नाको व्यापार पनि अत्याधिक बढेको छ ।
जाडोको बेला पश्चिम नेपालका अधिकांश पहाडी जिल्लाहरू र बाँके बर्दियामा समेत अधिकांश न्यानो लुगा तथा सिरक डस्नाहरू नेपालगन्जबाटै जाने भएकाले अहिले यहाँ ती सामाग्रीको ब्यापार बढेको व्यापारीहरूले बताएका छन् ।
नेपालगन्जको बीपी चोकमा रहेका करिब एक दर्जन जति सिरक डस्नाका थोक र फुटकर दुवैथरी पसलहरूमा अहिले सिरक डस्ना खरिद गर्नेहरू दिनदिनै बढ्दै गएका छन् भने स्थानीय त्रिभुवन चोकमा कम्बल र न्यानो लुगा खरिद गर्नेहरूको घुइँचो लाग्न थालेको छ ।
बाँके र बर्दियालगायत भेरी र कर्णालीका विभिन्न हिमाली र पहाडी जिल्लामा समेत सिरक डस्नाहरू बीपी चोकबाटै सप्लाई हुँदै आएको छ ।
बीपी चोकस्थित चाँद सिरक इन्टर प्राइजेजका सञ्चालक मोहम्मद एस खानले अहिले एकदिनमै सयौंको संख्यामा सिरक डस्नाको बिक्री भइरहेको जनाएका छन् । उनले अझै करिब २ महिनासम्म सो बिक्री निरन्तर जारी रहने पनि बताए ।
बाँके बर्दियालगायत सुर्खेत, कालिकोट, दैलेख, जुम्ला र मुगुसम्म यहाँका सिरक डस्ना जाने गरेकोले व्यापार निकै राम्रो हुने गरेको उनले बताए ।
चिसो धेरै हुने पहाडी जिल्लाका व्यवसायीले बढी खरिद गर्ने गरेकोले पनि बिक्रि राम्रो हुने गरेको यहाँका व्यापारीको भनाइ छ ।
यस्तै नेपाल सिरक सप्लायर्सका सञ्चालक सलिम राइनले बर्सेनि सिरक डस्नाको माग बढ्दै गएकोले मागअनुसार पूरा गर्न समस्या परेको बताएका छन् ।
उनले अहिले माग अत्याधिक रहेकाले आफ्ना कालिगढले दिनरात मेहनेत गरेर सिरक र डस्ना बनाउने काम गरिरहेको पनि जनाए । सिरक डस्नाको व्यवसाय बढेपछि धेरै युवाहरूले राम्रो रोजगारीसमेत पाएका छन् । सिरक डस्ना बनाउने काममा बाँके बर्दियालगायत पूर्वी जिल्लाका मधेसी मुस्लिम युवाहरू बढी छन् ।
चाँद सिरक इन्टर प्राइजेजमा सिरक, डस्ना ताग्दै आएका नेपालगन्ज–११ का रफिक खानले हातमा सीप भएपछि दुःख पाउनु नपर्ने बताए । प्रतिगोटा सिरक र डस्ना तागेअनुसार ज्याला लिने उनले सिजनको बेलामा सरदर दैनिक १ हजारसम्म आम्दानी गर्ने गरेको बताए । बाँके डुडुवा गाउपालिका होलियाका नरेन्द्र यादवले सिरक डसना तागेरै महिनाको २० देखि २५ हजार आम्दानी गर्ने गरेको बताएका छन् । आफूले स्वदेशमै बसेर राम्रो रोजगारी पाएको जनाउँदै उनले आफ्नो लागि यही नै विदेस जस्तो भएको बताए ।
नेपालगन्ज–१२ का महमुद अन्सारीले आफूले खाना बस्ने व्यवस्थासहित मासिक २० हजार बढी तलब पाउने गरी बिगतका केही वर्षदेखि नेपाल सिरक सप्लायर्समा काम गर्दै आएको जनाए । हाल आएर धेरै युवाले सो काम गर्न थाले पनि अझै सिरक डस्ना बनाउने राम्रा कालिगढको अभाव रहेको व्यवसायीहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्