चारवटै ठूला विमानस्थलको प्रगति सुस्त

लामो समयदेखि चासो र चर्चामा रहेका मुलुकका प्रमुख चारवटै विमानस्थल निर्माण र विस्तारको प्रगति भने सुस्त देखिएको छ । चारवटै विमानस्थल निर्माणलाई राष्ट्रिय गौरवका आयोजनामा राखिए पनि यसको प्रगति भने निरासाजनक देखिएको हो ।
निर्माणको जिम्मा लिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको नागरिक उड्डयन प्राधिकरणको सुस्तताको फाइदा उठाउँदै निर्माण कम्पनीहरूले बिलम्ब गरिरहेका हुन् ।
सरकारले विस्तार गर्ने भनिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार कार्य समयमा निर्माण सम्पन्न हुन नसकेपछि अलपत्र अवस्थामा रहेको छ । यस्तै, बाराको निजगढमा निर्माण गर्ने भनिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सुरु गर्ने भनिए पनि वर्षौंदेखि चर्चा बढी काम भने सुस्त गतिमा रहेको छ ।
सन् २०१८ मै निर्माण सम्पन्न गर्नेगरी सुरु गरिएको भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको पनि प्रगति सुस्त रहेको छ । अहिलेकै गतिमा निर्माण हुने हो भने सन् २०२० सम्म पनि सम्पन्न हुने छाँट देखिएको छैन । अर्को पोखरामा निर्माण गर्ने भनिएको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य एकवर्ष अगाडि नै सुरु हुनुपर्नेमा हालसम्म पनि सुरु हुन सकेको छैन ।
संसदका विभिन्न समितिले पटक पटक चासो दिएर कार्य छिटो सम्पन्न गर्न निर्देशन तथा अनुगमन गरेता पनि निर्माणको जिम्मा पाएका निकायहरूले महत्व नदिँदा कुनै पनि आयोजनाहरू ठिक ढंगले अगाडि बढ्न नसकेको हो ।
बिहीबार संसदको विकास समितिमा नेपालमा गौरवका आयोजनहरूको विषयमा लामो छलफल चलेका थियो । छलफलमा बोेल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले लामो समयदेखि चर्चा मात्रै भएको तर प्रगति हुन नसकेको विषयलाई स्वीकार गरे ।
“म मन्त्री भएर आएपछि निजगढ विमानस्थल निर्माण कार्यमा भएका अवरोधलाई चिरेर अगाडि बढाएको छु,” मन्त्री देवले भने । पोखरा तथा भैरहवा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको विषयलाई पनि चासो दिएर सम्बन्धित निकायमा दवाव दिइरहेको समेत देवले बताए ।
निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल
विगत १७ वर्षदेखि चर्चामा रहेको विमानस्थल निर्माणको लागि गत वर्षसम्म तारबार लगाउने कार्य ५ प्रतिशत सम्पन्न भएको छ । विमानस्थल निर्माण हुने क्षेत्रमा १४ किलोमिटर काँढेतार लगाउने कार्य गत वर्षदेखि सुरु गरिएको थियो ।
१७ वर्षपछि बल्ल वातावरणिय प्रभाव मुल्यांकन रिपोर्ट अन्तिम चरणमा पुगेको छ । भने रुख कटानको जिम्मा सेनालाई लगाउने निर्णय गर्दै कार्यान्वयनको चरणमा रहेको छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
सन् २०१८ को जनवरीबाटै सञ्चालनमा ल्याउने भनिएको भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य ३० प्रतिशत मात्रै सम्पन्न भएको छ । यही गतिमा निर्माण गर्ने हो भने सन् २०२० सम्म पनि सम्पन्न हुने स्थिति छैन ।
“अहिले ठेकादारले गति दिन थालेको छ, महिनैपिच्छे प्रगति पठाउन भनेका छौ,” मन्त्री देवले भने । भैरहवा विमानस्थल खासगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रूपमा निर्माण थालिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिन दिन साँघुरो बन्दै गएको तथ्यलाई मध्यनजर गर्दै चिनियाँ ठेकदारलाई समयमा कामको गति दिन आग्रह गरेको देवले बताए ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल
सन् २०१९ भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अहिलेसम्म पनि निर्माण कार्य सुरु हुन सकेको छैन । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ वैशाख १ मा शिलान्यास गरेको उक्त विमानस्थल हालसम्म पनि निर्माण कार्य सुरु हुन सकेको छैन । ठेकेदारहरू फिल्डमा गइसकेको साइड वर्क गरिहेको मन्त्री देवले जानकारी दिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार योजना
सन् २०१७ भित्रै सम्पन्न गर्नेगरी विस्तार कार्य सुरु गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पनि काम गर्न प्रगति १६ प्रतिशत मात्रै भएपछि ठेक्का तोडिएको थियो । विस्तारको जिम्मा पाएको सान्जोसेले निर्माण सम्पन्न गर्ने म्याद सकिँदा मात्रै १६ प्रतिशत काम सम्पन्न गरेपछि ठेक्का तोडिएको थियो ।
६ महिनाभित्रै अर्को कम्पनीलाई जिम्मा लगाउने भनिए पनि हालसम्म निर्माणको जिम्मा अर्को कम्पनीलाई लगाउन सकिएको छैन । नागरिक उड्डयन प्राधिकरणले ४ भागमा छुट्याएर अहिले ठेक्का गरेर कम्पनी छनोटको प्रक्रिया जारी राखेको छ ।