वन्यजन्तु संरक्षणका लागि बन्धन प्रजनन

बढ्दो वातावरण विनाशका र चोरी–सिकारीका कारण आज विश्वका धरै वन्यजन्तुहरूको लोप भएको छ भने केही लोप हुने अवस्थामा छन् । त्यसैले विश्वभर संरक्षित सूचीका वन्यजन्तुलाई बन्धन प्रजनन गर्न थालिएको छ ।
दक्षिण अमेरिकाका पेरु, चिली, अर्जेन्टिना र बोलिभिया मुलुकका उच्च पहाडी क्षेत्रमा भिकुना प्रजातिको वन्यजन्तु पाइन्छ । यसको ऊन मसिनो र लुगा न्यानो हुनाले धेरै माग छ । तर, चोरी–सिकारीका कारण यसको संख्या दिन–प्रतिदिन घट्दै गयो । सन् १९७४ तिर उक्त वन्यजन्तु लोपोन्मुख अवस्थामा पुगेकाले यसलाई संरक्षित सूचीमा सूचीकृत गरियो । त्यस बेला उक्त वन्यजन्तुको संख्या ६ हजारमात्र थियो ।
उक्त वन्यजन्तुको संख्या घट्दो क्रममा रहेकाले उपयुक्त देशहरूमा बन्धन प्रजनन कार्यक्रम लागू गरियो । यो कार्यक्रम कार्यान्वयन भएपछि उक्त वन्यजन्तुको संख्या ९५ हजारभन्दा बढी पुगेको छ । यसबाट ऊन उत्पादन वृद्धि भई उक्त देशहरूको राजस्व पनि बढेको छ ।
विषेशतः एकसिङ्गे र दुईसिङ्गे प्रजातिका गैंडा विश्वप्रसिद्ध छन् । यी गैंडामध्ये दुईसिङ्गे गैंडाका लागि दक्षिण अफ्रिका प्रसिद्ध छ । तर, बढ्दो वातावरण विनाश र चोरी–सिकारीले गर्दा लोप हुन आँटेको उक्त गैंडाको संरक्षणका लागि बन्धन प्रजनन कार्यक्रम लागू गरेपछि यसको संख्या केही बढ्न थालेको छ । हाल उक्त गैंडाको संख्या १ हजार ५ सय पुगेको छ ।
विगतमा थाइल्यान्डमा जल प्रदूषणका कारण गोहीको संख्या निकै घटेको थियो । तर, सरकारले बन्धन प्रयोजन कार्यक्रम लागू गरेपछि हाल यहाँ गोहीको संख्या केही बढेको छ ।
वातावरण विनाश र चोरी–सिकारीका कारण विश्वमा कस्तूरी मृगको संख्या दिन–प्रतिदिन घट्दो क्रममा छ । यसै सन्दर्भमा सन् १९८२ मा भारतको उत्तराखण्डको शिथौरागढ क्षेत्रमा, चीनको सिचुवान प्रान्तअन्तर्गत सान्छी र मङ्गोलियाको खिम्तिई पहाडमा बन्धन प्रजनन विधि अपनाई कस्तूरी पालन गरिएको थियो । यीमध्ये चीनको अनुभव उल्लेखनीय छ ।
सन् २०१७ सम्ममा चीनमा स्थापित दुई बन्धन प्रजनन केन्द्रमध्ये पहिलो केन्द्रका २० हजार कस्तूरी मृगबाट प्रतिवर्ष १ सय किलोग्राम बिना संकलन गरिन्छ, जसबाट सरकारलाई धेरै राजस्व प्राप्त हुन्छ ।
सन् १९९८ मा नेपालको ललितपुरस्थित गोदावरीमा कस्तूरी मृग पालनको प्रयास गरिएको थियो । तर, उचित व्यवस्थापन गर्न नसकिएकाले उक्त प्रयास विफल भयो ।
नेपालले पनि केही वर्षयता बन्धन प्रजनन विधिद्वारा पशुपन्छीको संरक्षण गर्दै आएको छ । यसै सन्दर्भमा उदाहरणका लागि चितवन राष्ट्रिय निकुञ्जको प्रधान कार्यालय, कसरामा सन् १९७८ मा घरियाल गोही प्रजनन केन्द्र र सन् २००८ मा गिद्ध प्रजनन केन्द्र स्थापना गरियो । यसैगरी अन्य लोपोन्मुख पशुपन्छीहरूको संरक्षणका लागि पनि बन्धन प्रजनन गर्न निकै आवश्यक भएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को पाँचौं संशोधनले वन्यजन्तुको अध्ययन, अनुशन्धान तथा पालन गर्न चाहने व्यक्ति वा संघसंस्थाले तोकिएबमोजिम अनुमति लिई माउ बीउ वन्यजन्तु उपलब्ध गराउन सक्ने अवस्था छ । यतिमात्र होइन, यसरी व्यावसायिक उत्पादित वन्यजन्तु वा तिनीहरूबाट तयार गरिएका वस्तु तोकिएबमोजिम उपभोग, बिक्री–वितरण र निकासी गर्न सक्ने व्यवस्था छ ।
हालसालै संशोधन गरिएका ऐनमा पनि व्यावसायिक रूपमा वन्यजन्तु पालन गर्न सक्ने व्यवस्था गरिएको छ । त्यसैले आगामी दिनहरूमा यसलाई अर्थोपार्जनमुखी बनाउन सम्बन्धित पक्षको ध्यान जानु आवश्यक छ ।