Logo

मसलाजन्य र फलफूलसहितका डेढ लाख वृक्षरोपण


डिभिजन वन कार्यालय दोलखाले आयमूलक मसलाजन्य तथा फलफूलका बिरुवासहित डेढ लाख बिरुवा वितरण गरेको छ । वनका कार्यक्रम पनि आयमूलक बनाउनका लागि सार्वजनिक जग्गामा वृक्षरोपणका साथै निजी जग्गामा समेत वन तथा आयमूलक कामका लागि बिरुवा वितरण गरेको हो ।
डिभिजन वन कार्यालयले आर्थिक वर्ष ०७७/७८ को प्रगति समीक्षा कार्यक्रम गर्दै डिभिजन वन कार्यालय दोलखाका प्रमुख शिव सापकोटाले मागका आधारमा मसलाजन्य र फलफूलका बिरुवा बढी वितरण गरेको जानकारी दिए । प्रमुख सापकोटाका अनुसार मसलाजन्य बिरुवामा सबैभन्दा बढी टिमुरका बिरुवा वितरण गरेको छ । आफ्नो योजना पूरा गरी समीक्षा गर्ने डिभिजन कार्यालय दोलखामै पहिलो हो । डिभिजन प्रमुख सापकोटाका अनुसार सामुदायिक वनमा फलफूल कार्यक्रमअन्तर्गत शैलुङ गाउँपालिकाको दार्खामहभीर र दमारथामी सामुदायिक वनको १०.२२ हेक्टरमा ४ हजार ९० वटा ओखरका बिरुवा खरिद गरी उपभोक्तामार्फत रोपण गरिएको छ ।
सामुदायिक वनमा थिनिङ तथा सुधार कटानअन्तर्गत भीमेश्वर नगरपालिकाको खोरथली र विशेष सामुदायिक नाम्दुबाट २१ हजार ८२२ क्युफिट काठ दाउरा उत्पादन भएको छ । खहरे खोला क्षेत्रमा पहिरो रोकथामका लागि मेलुङको काली मालिकादेवी सामुदायिक वनमा ४ सय बाँसको राईजोम रोपिएको उनले बताए । त्यसैगरी वन क्षेत्रभित्र पर्ने हाइटेन्सन लाइन मुनिको खाली कालिञ्चोकस्थित पैंयुबोटे सामुदायिक वनमामा ओखर, टिमुर र अमृसो गरी एक हजार ५० गोटा बिरुवा रोपिएको छ ।
सार्वजनिक क्षेत्र र निजी आवादी क्षेत्रमा कृषि वनलाई पनि व्यावसायिक रूपमा खेती गराउनका लागि प्रस्ताव आह्वान गरेर ठूलो क्षेत्रमा जडिबुटी तथा फलफूल खेतीमा किसानलाई आकर्षित गर्न कार्यालयले काम गरेको वन अधिकृत गणेश थापाले जानकारी दिए । उनले कम्तीमा १०० रोपनीभन्दा बढी क्षेत्रफलको निजी जग्गामा जडिबुटी खेतीको प्लान्टअन्तर्गत जिरी, हावाका ४ स्थानका किसानमार्फत निजी जग्गामा २ हजार लौठसल्ला रोपिएको बताए ।
जडिबुटी खेतीअन्तर्गत नै एकै स्थानमा ४० रोपनीभन्दा बढी क्षेत्रमा खेती गर्ने गरी जिरी, शैलुङ र कालिञ्चोक क्षेत्रमा ६ जना किसानमार्फत ७ हजार २ सय सतुवाको विरुवा रोपिएको छ । सतुवा लोपोन्मुख जडिबुटीमा पर्छ । त्यसैगरी कालिञ्चोक गा.पा ६ स्थित बालथली सामुदायिक वन र भातेखोला सामुदायिक वनमा ३० हजार ८ सय चिराइतोको विरुवा वृक्षरोपण भएको जानकारी दिए ।
भीमेश्वर नगरपालिकाको कर्मभुमी कृषक समूहले एक सय रोपनी क्षेत्रमा ९ हजार ३६० टिमुरको बिरुवा वितरण गरिएको छ । यो कृषकको मागका आधारमा वितरण गरेको छ । स्थानीय तहको सहकार्यमा सार्वजनिक, बाँझो, पर्ति, ऐलानी, गुठी खाली जमिनमा वृक्षारोपण कार्यक्रमअन्तर्गत वैतैश्वर गा.पा ५ को ढुङ्गेश्वरी वन क्षेत्रको २ हेक्टरमा टिमुर तीन सय र विभिन्न जातका डाँलेघाससहित एक हजार ७ सय बिरुवा रोपिएको छ । विद्यालयको खाली जग्गामा फलफूलखेती कार्यक्रमअन्तर्गत भीमेश्वर नगरपालिकाको बुढाभीमसेन मा.वि, कुटीडाँडा मावि र सेतीदेवी आधारभूत विद्यालयलाइ एक हजार सुन्तला र कागतीका बिरुवा वितरण गरी वृक्षारोपण गरिएको छ ।
पकेट क्षेत्रमा जडिबुटी उत्पादन तथा खेती विस्तारका लागि शैलुङ्ग, वैतेश्वर, गौरीशंकर गाउँपालिका र भीमेश्वर नगरपालिकाभित्रका तीनवटा फर्म र व्यक्तिलाई मागका आधारमा टिमुर र ओखर जातका ११ हजार ५४८ गोटा विरुवा उपलब्ध गराइएको पनि उनले बताए । त्यसैगरी व्यक्ति र समूहको मागका आधारमा ११ हजार ५५० गोटा सुन्तला, कागती, ओखर, एभोकाडोका विरुवा वितरण गरिएको समेत उनले बताए ।
डिभिजन वन कार्यालयको आफ्ना नर्सरीबाट कल्की फूल, किम्बु, पाटेसल्ला, लप्सीलगायतका बिरुवा २५ हजार र जिरीको नर्सरीबाट गोब्रेसल्ला, धुपी, पैंयूलगायत १३ हजार ४ सय बिरुवा उत्पादन गरी वितरण भएको छ ।
आयोजनागत कार्यक्रमअन्तर्गत शैलुङ्गको टिम्मुरे तिनसल्ले वन क्षेत्र र जिरीको कालोभीर वन क्षेत्रको २६ हेक्टर क्षेत्रमा ओखर, टिमुर, डालेघाँस ६ हजार गोटा बिरुवा वृक्षारोपण भएको छ । डिभिजन वन कार्यालय मार्फत पर्यटन प्रवद्र्धन र वातावरण संरक्षणका लागि समेत जिरी, गौरीशंकर, शैलुङ र भीमेश्वर नगरपालिकामा पदमार्ग, बगैंचा व्यवस्थापन लगायतका कार्यक्रम सञ्चालन भएको अर्का वन अधिकृत सुमन घिमिरेले जानकारी दिए ।
डिभिजन वन कार्यालयको ८ करोड १० लाखमध्ये ६ लाख ३३ हजार खर्च भएको छ । जसमा कुल बजेटको ७८ प्रतिशत खर्चमध्ये पुँजीगततर्फ ८४.५७ प्रतिशत र साधारणतर्फ ७१.५३ प्रतिशत खर्च भएको डिभिजन प्रमुख सापकोटाले बताए । वार्षिक कार्यक्रमअन्तर्गत सबै कार्यक्रम पूरा भए तापनि पुँजीगत खर्चमा टेण्डर गर्दा केही घटाघटमा ठेक्का परेकाले केही बजेट बचत हुँदा कम देखिए र कर्मचारी दरबन्दीअनुसार नहुँदा साधारण खर्च कम देखिएको हो । वन कार्यालय प्रदेश सरकार मातहत समायोजन भएपछि प्राविधिक तथा प्रशासनिक कर्मचारी अभाव छ ।

प्रतिक्रिया दिनुहोस्