Logo

खानेपानी योजनामा रेडक्रसको लापरबाही


दैलेखको नौमूले गाउँपालिका–३ को द्धारीमा नेपाल रेडक्रस दैलेखले खानेपानी निर्माणमा चरम लापरबाही गरेको हो । हालै निर्माण गरेका धारामा पानी नआएपछि स्थानीले पानी खान पाएका छैनन् भने रेडक्रसले योजना निर्माणमा चरम लापरबाही गरेको हो ।
खानेपानी योजनाको काम निर्माण सम्पन्न भैसक्दा समेत द्धारीको आचार्य टोल, गोतामे टोललगायतका टोलका नागरिकले पानी खान नपाएको गुनासो गर्दै आएका छन् । खानेपानीको धारा बनेको एक महिना भैसक्दासमेत पानी नआएपछि स्थानीयले पानी खान नपाएको स्थानीय टीका खत्रीले बताइन् । खानेपानीको धारा ठिकै बनेको छ तर धारामा पानी नआएपछि स्थानीय पुरानो खानेपानी योजना कै पानी खाइरहेको र त्यो पनि बिग्रिएपछि मूलको पानी खान बाध्य छन् ।
स्थानीय विराट आचार्यले २०÷२२ दिन श्रमदान गरे पनि पानी खान नपाएको बताए । आचार्यले भने, “स्थानीले पानी खानकै लागि २०/२२ दिन श्रमदान गरेका छन् । पानी खान त परै जावस काम गरेका मजदुरले समेत रकम पाएका छैनन् । अझ प्रतिधारा एक हजारका दरले पैसा पनि संस्थालाई बुझाएका छौँ तर अहिलेसम्म रेडक्रसले निर्माण गरेका धाराको पानी खान नपाउँदा पुरानो योजना र मूलकै पानी खाइरहेका छौँ ।” आचार्यले अन्य टोल बस्तीका नागरिकले हिउँछिराको पानी खाइरहे पनि संस्थाको लापरबाहीका कारण आचार्य टोल, गोतामे टोललगायतका टोलमा निर्माण भएका धारामा पानी नआउँदा समस्या भइरहेको बताए । उनले पुरानो योजनाको पानी बिग्रिँदा दिनमा ८/१० पटक बनाउन जाँदा पनि खानेपानीको समस्या रहेको बताए ।
नेपाल रेडक्रस सोसाइटी दैलेखले नौमूले गाउँपालिका–३ द्धारीमा हिउँछिरा खानेपानी योजनाबाट ६९ वटा सार्वजनिक र एक विद्यालयमा धारा निर्माण गरेको छ । रेडक्रसले निर्माण गरेका ६९ वटामध्ये १८ वटा धारामा रेडक्रसको लापरबाहीका कारण पानी नआउने स्थानीयले बताए । आचार्य टोल, गोतामे, डाँडाटोलदेखि तल्लोबारीका स्थानीयले प्रतिधारा एक हजारका दरले पैसा उठाएर संस्थालाई बुझाए पनि पानी खान नपाएको बताए । यसैगरी अन्य टोलमा कहिलेकाँही पानी आउने गरेको र पानी भर्नकै लागि कुरेर बस्नु पर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ ।
झण्डै २६ लाखको लागतमा निर्माण भएको हिउँछिरा खानेपानी योजनामा नेपाल रेडक्रस सोसाइटी दैलेखको लापरवाहीका कारण नौमूले गाउँपालिका–३ द्धारीका विभिन्न टोल बस्तीका स्थानीयले पानी खान नपाएको बताएका छन् । धारा निर्माण भए पनि धारामा पानी कहिले आउला भनेर आस गरेर बसेको स्थानीयको भनाइ छ ।
यसैगरी नेपाल रेडक्रस सोसाइटी दैलेखले नौमूले गाउँपालिकाको साझेदारीमा पाँच सय थान फिल्टरसमेत वितरण गरेको छ । रेडक्रसले वितरण गरेका फिल्टर अधिकांश फुटेका पाइएका छन् । धारामा पानी नआउने भएपछि फिल्टरको के काम भन्दै स्थानीयले प्रश्नसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्