नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता

नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले आफ्नो पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा रहेको बताएका छन् । गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि उनले सरकार अनि राज्य प्रणालीको सुरुवात नै नागरिकको जीवनरक्षाका लागि भएको र शासन व्यवस्थाभित्रको नागरिकको जीवनरक्षा नै आफ्नो पहिलो दायित्व भएको बताए । जुनसुकै कारणले होस्, कुनै पनि नागरिकले अकालमा मृत्युवरण गर्नु हुँदैन भन्ने नै मूल मर्मका साथ काम गर्ने उनले स्पष्ट पारे । “गृह मन्त्रालयका थुप्रै कार्यक्षेत्रहरू छन् । त्यसलाई पनि हामीले परिष्कृत गर्दै राम्रो गराउँदै जाने हो ।” उनले राजनीतिक विचारधाराबाट परिचालित नभई काम, कर्तव्य, भूमिका र योगदानको आधारमा सुरक्षा निकायलाई प्रोत्साहित तथा उत्साहित गरी मनोबल बढाउने भूमिकामा आफू रहने स्पष्ट पारे । प्रस्तुत छ, गृहमन्त्री खाँडसँग गरिएको कुराकानीको सार :
अत्यन्तै चुनौतीपूर्ण अवस्थामा तपाईले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । आगामी दिनमा आफ्नो चुनौती के देख्नुभएको छ ?
म एउटा नेपाली कांग्रेसको सिपाही हुँ । मुलुकको एउटा जिम्मेवार नागरिक पनि हुँ । त्यसकारण मैले गृह मन्त्रालयलाई एउटा नागरिकको आँखाबाट हेर्छु । जनप्रतिनिधिका रूपमा जनप्रतिनिधिले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा मैले मेहनत गर्छु । त्यसकारण मैले के अनुभूत गरेको छु भने यो मन्त्रालय आउनुभन्दा अगाडिदेखि नै सरकार सञ्चालन गर्ने क्रममा सरकारका बारेमा पहिलो अनुभूति दिने नै यो मन्त्रालय हो, सरकार छ भनेर । मानौँ, जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन जानुप¥यो । त्यहाँ गृह मन्त्रालयमातहतको जिल्ला प्रशासन कार्यालय हुन्छ । त्यसैगरी कहीँ केही प्रकोप भयो, त्यहाँ गृह मन्त्रालयको सुरक्षा निकाय पुग्नुप¥यो । त्यसले गर्दा जनतालाई सरकार छ, सरकार मेरो साथमा छ, दुःखसुखमा साथ दिन्छ भन्ने अनुभूति दिनुपर्छ भन्ने मेरो मान्यता र सोच हो । त्यसका लागि नै म कार्यरत रहन्छु ।
तपाईंसँग रक्षा मन्त्रालय चलाएको अनुभव छ, सुरक्षाको मनोबल बुझ्नुहुन्छ होला, कतिपय राजनीतिक हस्तक्षेपका कारण सुरक्षाकर्मीको मनोबल सबैभन्दा कमजोर भएको छ । तपाईंको भूमिका राजनीतिक हस्तक्षेप बढाउनमा केन्द्रित हुन्छ वा मनोबल बढाउनमा ?
गृह मन्त्रालयअन्तर्गतका राष्ट्रसेवकहरू होस् या नेपाल सरकारका सम्पूर्ण राष्ट्रसेवक कर्मचारी मित्रहरू हुनुहोस्, या शिक्षक, प्राध्यापक सबै हुनुहोस्, या सुरक्षा निकायमा कार्यरत अधिकृत र जवानहरू होस् सबैले मुलुकको निर्माणका लागि महŒवपूर्ण योगदान पु-याइरहनुभएको छ । तर, हाम्रो मन्त्रालय मातहत भएका सम्पूर्ण सुरक्षाकर्मी र राष्ट्रसेवकहरूले आवश्यक परेमा चौबीसै घण्टा खट्नुपर्छ । ज्यानको जोखिम राखेर गर्नुपर्छ । अहिले कोरोना महामारी छ । कहीँ बाढी छ । पानीमा नागरिक डुबिरहेको छ । बाढीले बगाइरहेको छ । पुलिसले त हाम्फालेर रेस्क्यु गर्नुप¥यो नि । उसले कोरोना महामारी छ भनेर मास्क खोज्न थाल्दैन नि । आफ्नो जीवनलाई जोखिममा राखेर पनि नागरिकको रक्षा गर्ने दायित्व बोकेका सुरक्षाकर्मी र राष्ट्रसेवकलाई हामीले सम्मान गर्नैपर्छ । उहाँहरूलाई पर्याप्त साधन, स्रोत दिन सकेका छैनौँ । पर्याप्त सुविधा दिन सकेका छैनौँ । तैपनि ती राष्ट्रसेवक र सुरक्षाकर्मीहरूको यो देश हाम्रो हो, हामी यो देशका नागरिक हौँ र हाम्रा परिवारका सदस्यहरू पनि नागरिक हुन् । त्यसकारणले परिवारका सदस्यप्रतिको मेरो जुन कर्तव्यबोध छ, जुन दायित्व छ, देशका नागरिक र देशप्रति पनि मेरो दायित्व बोध छ भनेर त्यो दायित्व बोध भएका कारणले उहाँहरू काम गरिरहनुभएको छ । यस्तो बेलामा हामीले उहाँहरूलाई प्रोत्साहित गर्ने, उत्साहित गर्ने र उहाँहरूको मनोबल बढाउने नै हो ।
सुरक्षा निकायमा, विशेष गरेर नेपाल प्रहरीमा पछिल्लो समय आएर जघन्य प्रकृतिको अपराधको अनुसन्धान गर्ने प्रहरीको एउटा टिम छ, तर गृह मन्त्रालयले जहिले पनि निजामतीबाट पनि छानबिन समिति बनाउँछ अनि ती घटनाको सत्यतथ्य बाहिर आउनुको सट्टा अनुसन्धान प्रभावित हुन्छ वा भनौं निष्कर्षमा नै पुग्न नसकेका अवस्था छन् । उदाहरणका लागि निर्मला पन्तको हत्याको घटनालाई नै हेरौं ।
यसमा मिडियाले पनि सहयोग गर्नुपर्छ । कुनै घटना घट्यो । नेपाल प्रहरीले त तत्काल त्यहाँ अनुसन्धान थाल्छ । उसको त त्यो दायित्व र कर्तव्यभित्रै पर्छ । तर, त्यसको तथ्य छानबिन गरेर बाहिर ल्याउन केही समय पनि लाग्छ । फेरि छानबिन भइरहेको बेलामा सबै कुराहरू छानबिनका रिपोर्टहरू बाहिर ल्याउनु पनि उचित नहोला । किनभने कतिपय कुरा छानबिन भइराखेको हुन्छ । पत्ता लगाउन खोजिरहेको हुन्छ । जम्मै कुरा भन्ने हो भने त सम्बन्धित अपराधी भागिरहेको पनि हुन्छ । त्यस कारणले त्यसको गोपनीयता राखेको पनि होला । तर, जनस्तरबाट आवाज उठ्छ, हामीले पनि उठाइन्छ । पुलिसले छानबिन गर्नै सकेन । पुलिसले अपराधीलाई पक्रनै सकेन, जाँचबुझ नै गर्न सकेन विभिन्न स्तरबाट त्यो कुरा उठ्दाखेरि छानबिन समिति बनाइदिऊँ भनेर मन्त्रालयले छानबिन समिति बनाइदिन्छ । छानबिन बनाउँदाखेरि पनि प्रहरीले त्यसमा अनुसन्धान त गर्नैपर्छ । त्यसकारणले यसमा कतिपय यस्ता मुद्दाहरू होलान्, कतिपय यस्ता घटना होलान् जहाँ तथ्यगत छानबिन गर्नुपर्ला । कहीँ संसदीय छानबिन समिति चाहिएला । कहीँ न्यायिक छानबिन समिति चाहिएला । कहीँ प्रशासनिक छानबिन समिति चाहिएला । तर, कुनै घटना भयो र त्यो घटना बाहिर आयो, जनमानसमा एउटा आक्रोश जाग्यो भने त्यो घटनाको तथ्य पत्ता लगाउने भन्दा पनि जनमानसमा उठेको आक्रोशलाई शान्त पार्नका लागि छानबिन समिति बनाइदिएका घटनाहरू पनि होलान् । त्यस कारणले कतिखेर साँच्चै छानबिन समिति बनाउने, कतिखेर पुुलिसमाथि पूरै भरोसा गरेर पुलिसलाई हामीले साथ दिने, त्यसका लागि बरु आवश्यक सामग्री, उपकरणहरू दिने कि त्यसमा तपार्इंहरूले पनि मद्दत गर्नुस्, म पनि लागौंला ।
हिजो तपाईं विपक्षी दलको प्रमुख सचेतक हुनुहुन्थ्यो । प्रश्न गर्ने ठाउँमा हुनुहुन्थ्यो । कैयौँ घटनामा तपाईंले आफैंले प्रश्न गर्नुभएको छ । आज तपाईं जवाफ दिने ठाउँमा र जिम्मेवारी लिने ठाउँमा आउनुभएको छ । यी दुई भूमिकाको सन्तुलन कसरी मिलाउनुहुन्छ ?
घटना भयो । त्यतिखेर प्रश्न उठाइयो । जिज्ञासा उठाइयो । जानकारी सरकारसँग मागियो । किनकि आम नागरिकसँग, जनप्रतिनिधिसँग घटनाका बारेमा केही तथ्यहरू थाहा हुन्छ । केही कुरा देखिन्छ, सुनिन्छ तर सत्य, यथार्थ थाहा नहुन सक्छ । त्यस कारणले यो घटनाका बारेमा यथार्थ कुरा जनतासमक्ष ल्याइयोस् भनेर जनप्रतिनिधिले माग गर्नु त्यो सही कुरा हो । तर सरकारले, सरकारको प्रतिनिधि या मन्त्रीले त्यसमा सत्यतथ्यको जानकारी दिने हो । विगतमा हामीले जुन ढंगले प्रश्न उठाएका छौँ ती प्रश्नहरूको जवाफ कतिपय सवालमा आफैँ दिने ठाउँमा पनि पुगिन्छ । त्यस कारणले खास गरेर हाम्रो यो बहुदलीय शासन व्यवस्था त्यो पनि बहुलवादमा आधारित बहुदलीय लोकतन्त्रमा सरकार कहिले प्रतिपक्षमा पुग्छ, कहिले प्रतिपक्ष सरकारमा पुग्छ । त्यसैले यसलाई सहजै रूपमा लिनुपर्ने हुन्छ । विगतका कतिपय सन्दर्भहरूलाई हामीले अध्ययन पनि गर्नुपर्छ र त्यो अध्ययनबाट हामीले पाठ लिएर आउने दिनमा अझै राम्रो पनि गर्न सक्नुपर्छ ।
तपाईंका प्राथमिकताहरू के–के हुन् ?
पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा हो । किनकि यो राज्य प्रणालीको दुनियाँमा प्रादुर्भाव किन भयो, सरकार किन बन्यो, समुदायमा हामी किन बस्यौँ भन्दा हाम्रो जीवनरक्षाका लागि हो । मान्छेले आफ्नो जीवनरक्षाका लागि मान्छे मान्छेसँग मिलेर समुदाय बनायो, राज्य प्रणालीमा सुरुवात ग¥यो । जुनसुकै सरकारले पनि मेरो शासन व्यवस्थाभित्रको नागरिकको जीवनरक्षा मेरो पहिलो दायित्व हो, कुनै पनि नागरिकले अकालमा मृत्युवरण गर्नु हुँदैन भन्ने नै हाम्रो मूल प्राथमिकता हो । त्यस कारणले विभिन्न घटना–परिघटनाबाट मान्छेको ज्यान जाने कुरा होस्, चाहे यो कोरोना महामारीबाट मान्छेको ज्यान जाने कुरा होस्, संक्रमणका कारणले, जुन खालको हाम्रो अर्थव्यवस्था पनि थिलथिलो भएको छ, यसैलाई नै हामीले प्राथमिकताका साथ अगाडि लाने हो । गृह मन्त्रालयका थुप्रै कार्यक्षेत्रहरू छन् । त्यसलाई पनि हामीले परिष्कृत गर्दै राम्रो गराउँदै जाने हो ।
तपाईंले पद बहाली गरेलगत्तै विभिन्न सुरक्षा अधिकारीहरूसँग छलफल गर्नुभएको थियो । के कुराकानी भयो ?
उहाँहरूले यो मन्त्रालयको सांगठनिक ढाँचा, यसको काम, कर्तव्य, कार्यक्षेत्रका बारेमा जानकारी गराउनुभयो । मैले आफ्नो अनुभव र उहाँले जानकारी गराएको कुराहरूमा आफ्ना धारणा राखें र सबैलाई धन्यवाद दिएँ । त्यसपछि यो मन्त्रालय मातहतका सुरक्षा निकायहरूसँग आफ्नो–आफ्नो निकायमै छलफल हुन्छ । त्यसपछि विभिन्न तहगत विभागहरू छन्, उनीहरूसँग पनि छलफल हुन्छ । अहिले खाली मैले पदबहाली गरें । सचिवजीले यहाँको स्थितिका बारेमा र यसको सांगठनिक ढाँचाका बारेमा, काम, कर्तव्य, अधिकार र भूमिकाका बारेमा, केही समस्या र चुनौतीहरूको बारेमा ब्रिफ गर्नुभयो । मैले एउटा नागरिकको चस्मा लगाएको जुन अवस्थामा म छु, मैले एउटा नागरिकले गृहका बारेमा, नागरिकले सुरक्षाका बारेमा, सुरक्षाकर्मीका बारेमा जे धारणा राख्छ, त्यो मैले राखें । हामी स,बै मिलौँ । मूलभूत रूपमा नेपालको जुन शासन प्रणाली छ, यो शासन प्रणालीमा नेपाली जनता नै मालिक हुन् र हामीहरू राजनीतिकर्मी, जनप्रतिनिधिहरू सेवक हौँ । तपाईंहरू राष्ट्र सेवक पनि जनताको सेवक हो । त्यस कारणले हामी एकआपसमा हातेमालो गरौँ । जनतालाई मालिक बनाउने, मालिकको अनुभूति दिने, संविधानमा, विधिमा, कानुनमा मालिक त बनाइयो, तर मनमा, अनुभूतिमा जनतालाई साँच्चै सरकार सेवक भएछ, जनप्रतिनिधि सेवक भएछन्, हामी मालिक भएछौँ भन्ने अनुभूति दिन सकौँ । त्यसका लागि सामूहिक प्रयत्न गरौँ । म तपाईंहरूसँग मित्रवत् व्यवहार गर्छु । म तपाईंहरूको साथीका रूपमा आएको छु भने मैले ।
सशस्त्र प्रहरीको बीओपी स्थापनाको कार्य आक्रामक ढंगले अघि बढिरहेको छ । यसमा तपाईंको प्राथमिकता के रहन्छ ? प्रहरीको समायोजन, सरुवा–बढुवाको बारेमा के छ ?
बीओपीका बारेमा, नेपालको भूमिको रक्षा गर्ने काम हाम्रो हो । सरकारको हो । नागरिकको सुरक्षा गर्ने दायित्व पनि हाम्रो हो । बीओपीले राष्ट्रिय भूमिको रक्षा र नागरिकको रक्षामा मद्दत पु¥याउँछ भन्ने नै हामी सबैको विश्वास हो र त्यसले निरन्तरता पाउँछ । जहाँसम्म सरुवा, बढुवाको कुरा गर्नुभयो, त्यसमा कार्यक्षमताकै आधारमा गर्नुपर्छ भन्ने मेरो मान्यता हो । एउटा सामान्य नागरिकले पनि के भन्छ भने यसले राम्रो जनताको मन जित्ने काम गरेको छ । जनतालाई सम्मानित गर्दै आफ्ना कामहरू सम्पन्न गरेको छ भने कतिपय जिल्लामा सिडियोलाई, राष्ट्रसेवक कर्मचारीलाई, पुलिस प्रशासकलाई अभिनन्दन गरेर खाँदा र मालाले ढाकेर पठाइदिएका पनि छन्, सम्मान गरेर बिदाइ हुने बेलामा । कतिपय ठाउँमा साटाक सुटुक हिँड्नुपर्ने अवस्था पनि छ । यो सन्तुलन मिलाएरै गर्नुपर्ने हुन्छ । मैले यसमा अध्ययन गर्नै बाँकी छ । भर्खर आएको छु । सबैको सल्लाह मलाई चाहिन्छ, कसरी मैले जानें, बाहिर जनमानसमा के छ भन्दाखेरि बढुवामा ब्याचका ब्याच जम्प गराउनु राम्रो होइन भन्ने छ जनतामा । एकदमै विशेष दख्खल हासिल गरेको, कुनै विज्ञता हासिल गरेको, कुनै त्यस्ता ठूला घटनाहरूलाई बडो गम्भीरताका साथ अनुसन्धान गरेर ठूलो स्याबासी लायक काम गरेकाहरूलाई काम गर्नेले सम्मान पाउँछ, काम गर्नेले स्थान पाउँछ भनेर इम्प्रेसन दिन गर्ने कुरा अलग हो । नभएदेखि ब्याचका ब्याच मिचेर गर्नु राम्रो होइन भन्ने आमजनताको भनाइ छ । त्यसप्रति म गम्भीर छु ।
कोभिड महामारीमा अग्रभागमा खटिएका सुरक्षा निकायलाई दिने भनेको भत्ता अहिलेसम्म पनि नपाएको अवस्था छ । यसबारेमा के गर्नुहुन्छ ?
कोभिड महामारीमा सुरक्षा निकाय र राष्ट्रसेवक कर्मचारीहरू खटिनुपरेको छ । जनताको सुरक्षाका लागि पनि सरकारको प्रतिबद्धता छ । सबैलाई भ्याक्सिन छिटोभन्दा छिटो लगाउने, सबैको उपचार गर्ने, सबै संक्रमितहरूको जीवन बचाउँ, त्यसका लागि सरकार दत्तचित्त छ । त्यसका साथसाथै फ्रन्टलाइनमा बस्ने राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायका सुरक्षाकर्मीहरूको जीवनरक्षाको दायित्व पनि सरकारको हो । मन्त्रालयको हो । विभागको हो । त्यतापट्टि पनि हामी गम्भीर छौँ । उहाँहरू संक्रमित नहुनुहोस् । त्यसका लागि आवश्यक सामग्रीहरू उपलब्ध गराउने, आवश्यक प्रशिक्षण दिने, आवश्यक भ्याक्सिनहरू दिने, संक्रमित भइहाल्यो भने ती सुरक्षाकर्मी र राष्ट्रसेवकको पनि जीवनरक्षा गर्ने, तिनको पनि उपचार गर्ने दायित्व हाम्रो हो भनेका छौँ । त्यसका लागि मैले उहाँहरूसँग ब्रिफिङमा पनि भनेको छु कि राम्रो कामको लागि सराहना गर्छु र तपाईंहरूको जीवनरक्षाका लागि सरकार साथमा छ । मन्त्रालय तपाईंहरूको साथमा छ । उहाँहरूलाई उत्साहित र प्रोत्साहित गर्ने काम गर्छौं ।