Logo

कतार र ओमानमा अलपत्र श्रमिकको उद्धार

कोभिड संक्रमणका कारण विदेशमा बेखर्ची भई अलपत्र परेका श्रमिकको उद्धार प्रक्रिया बल्ल सुरु भएको छ । सरकारले कोभिड संकटका कारण रोजगारी गुमाएका, बेखर्ची बनेका, बिरामी र अन्य समस्यामा परेका दुई हजार श्रमिकको निःशुल्क उद्धार गर्ने घोषणा गरे पनि बल्ल उद्धार सुरु भएको हो । सरकारले बल्ल ८४ अलपत्र श्रमिकको उद्धार गरेको छ ।
वैदेशिक रोजगार बोर्डले एक हप्तामा कतारको डिटेन्सन सेन्टरमा रहेका ७८ जना श्रमिकको उद्धार गरी नेपाल ल्याएको छ । विदेशबाट आउन चहाने र प्राथमिकतामा परेका नेपालीको संख्या धेरै भएपछि उद्धार प्रक्रिया सुस्त भएको श्रमिकले बताउँदै आएका छन् । थप श्रमिकको उद्धारका लागि बोर्डले श्रम गन्तव्यमा रहेका नेपाली दूतावासलाई पत्राचार गरी अलपत्र श्रमिकको तथ्यांक पठाउन अनुरोध गरेको छ । कतिपय श्रम गन्तव्यबाट आफ्नै खर्चमा फर्कन चाहने श्रमिक हवाई टिकट नपाएको र टिकट पाएकाले पनि महँगोमा खरिद गर्नुपरेको गुनासो गरेका छन् ।
बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले सरकारले विदेशमा अलपत्र भएका श्रमिकको निःशुल्क उद्धार प्रक्रिया सुरु भएको बताए । उनका अनुसार, हाल ओमनमा तीन महिनाअघि रोजगारी गुमाएर बेखर्ची बनेका ६ जना महिला श्रमिकको उद्धार गरी नेपाल ल्याएर हाल होटल क्यारेन्टिन राखिएको बताए । उनीहरूलाई केही दिनभित्र घर फर्काउने तयारी भइरहेको बोर्डले जनाएको छ । यसैगरी साउदी अरबबाट ३५ जना श्रमिको उद्धारका लागि नियोगमा हवाई टिकट पठाउन अनुरोध गरिएको बोर्डले जनाएको छ । बोर्डले निःशुल्क उद्धार गरी नेपाल ल्याइएका श्रमिकको होटल खर्च, पीसीआर परीक्षण खर्च र घर फर्कनेलगायतका खर्च बेहोर्दै आएको छ ।
नेपाल फर्कन सूची तयार भएकामध्ये अधिकांश भिसा र करार समाप्त भएका र रोजगारी गुमाएका छन् । यसैगरी बेतलवी बिदा लिएका र जटिल स्वास्थ्य समस्या भएका धेरै श्रमिक रहेको कतार दूतावासले जनाएको छ । कतारबाट प्राथमिकता सूची रहेकामध्ये ९० प्रतिशत संक्रमणका कारण रोजगारी गुमाएका छन् । यसैगरी कतार र मलेसियामा काम गरिरहेका र अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्धका कारणले कतारमै बस्न बाध्य भई स्वदेश फिर्ता हुन नपाएका नेपाली धेरै छन् ।
हवाई भाडामा गरिएको परिवर्तन र आउन चाहनेको संख्या धेरै हँुदा सरकारले व्यवस्थित उद्दार गर्न नसकेको श्रमिकको भनाइ छ । सरकारले आफ्ना नागरिक कसरी ल्याउने भन्ने सम्बन्धमा ठोस निर्णय गर्न नसक्दा उद्दार व्यवस्थापन नै अस्तव्स्त भएको हो । यसका साथै उद्दार गर्ने नेपालीको संख्या बढी भएका कारण पनि कतिपय नियोगलाई व्यवस्थापन गर्न समस्या भएको छ । कतिपय देशमा उद्धारका लागि तय भएको तालिका समेत परिवर्तन गरिएका कारण समयमा नेपाल ल्याउन नसकिएको श्रमिकले जनाएका छन् ।
रोजगारदाताले हवाई टिकट खरिद गरी उडान रद्द भएका र लामो समयदेखि रोजगारी गुमाएकाले खर्च जोहो गर्न नसक्दासमेत उद्दारमा समस्या परेको नियोगले जनाएका छन् । सरकारले उद्धारका लागि हवाई टिकट र व्यवस्थापन खर्च निर्धारण गरेपछि पैसा नहुने धेरै श्रमिक अलपत्र परेका छन् । यसैगरी हवाई टिकट भए पनि उडान नियमित नहुँदा अलपत्र पर्ने नेपालीको संख्या अझ बढी छ ।
विभिन्न देशमा रहेका दूतावासको प्रारम्भिक तथ्यांकअनुसार प्रमुख श्रम गन्तव्य साउदी अरब, कतार, यूएई, मलेसिया, बहराईन, ओमानलगायतका देशबाट प्राथमिकतामा परेका र रोजगारदाताले हवाई टिकट दिएका नेपालीको संख्या लगभग ४० हजार रहेको देखिन्छ । यसमध्ये पनि कतार, साउदी, यूएई र मलेसियाबाट सरकारी मापदण्डअनुसार उद्धार प्राथमिकतामा परेको संख्या लगभग २५ हजार रहेको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले बुधबारसम्म ४ लाख ७४ हजार ४४९ नेपालीको विभिन्न ३० भन्दा बढी देशबाट उद्धार गरिएको जनाएको छ । यसमध्ये सबैभन्दा बढी यूएई १ लाख ४३ हजार ८१९, कतार १ लाख १२ हजार ८०८, मलेसियाबाट ४९ हजार ७५४, सउदी अरब ४३ हजार ६४० रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्