जुत्ता मेलामा ग्राहकहरूको उत्साहजनक सहभागिता «

जुत्ता मेलामा ग्राहकहरूको उत्साहजनक सहभागिता

काठमाडौं- गत शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरूको १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनीमा दर्शक तथा उपभोक्ताको उत्साहजनक सहभागिता देखिएको छ ।
शनिबार ३० हजारभन्दा बढीले अवलोकन गरेको प्रदर्शनीमा विभिन्न सेलिब्रेटीले पनि प्रदर्शनीको अवलोकन गरेको प्रदर्शनीका संयोजक नवराज गौतमले जानकारी दिए । शनिबार रक्षामन्त्री इश्वर पोख्रेल, अभिनेत्री संचिता लुइँटेल, प्रियंका कार्कीलगायतले प्रदर्शनीको अवलोकन गरेका छन् । त्यस्तै आइतबार काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले प्रदर्शनीको अवलोकन गरेकी छन् । संयोजक गौतमका अनुसार सोमबार अभिनेता निखिल उप्रेती, मिस नेपाल शृंखला खतिवडाले अवलोकन गर्ने कार्यक्रम छ । विभिन्न ब्रान्डका स्वदेशी जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरूको प्रदर्शनीमा उपभोक्तालाई १० देखि १५ प्रतिशतसम्म छुटसमेत दिइएको गौतमले बताए ।
‘राष्ट्र समृद्धिको आधार, स्वदेशी उत्पादनको प्रयोग’ भन्ने मूलनाराका साथ जारी प्रदर्शनीमा देशभरि छरिएर रहेका साना, मझौला एवं ठूला उद्योगहरूद्वारा उत्पादित जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरूको सबै उत्कृष्ट उत्पादनहरू एउटै छानामुनि स्वस्थ तरिकाले ११ वटा प्रायोजकहरूको भव्य पेभिलियनसहित १४० वटा स्टलहरू प्रतिस्पर्धात्मक रूपमा रहेको आयोजकले जानकारी दिएका छन् ।
विदेशी जुत्ता, चप्पल तथा छालाजन्य वस्तुको आयात प्रतिस्थापन गर्ने उद्देश्यले संचालित यस किसिमका औद्योगिक प्रदर्शनीले नेपाली जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरूको वजार प्रवर्धन हुनुका साथै आयात प्रतिस्थापनलाई न्यूनीकरण गराई निर्यात प्रवर्धन गर्नका लागि अत्यन्तै ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ । यो प्रदर्शनीमा १४० वटा स्टल छन् जसमा जुत्ता, चप्पल उत्पादन गर्ने उद्योगहरू, छाला जन्य वस्तु उत्पादकहरू, र यस उद्योगहरूका लागि कच्चापदार्थ उत्पादन गर्ने उत्पादक तथा वितरकहरूको समेत सहभागिता छ । जसमा छालाका जुत्ता, स्पोर्टस् जुत्ता, क्याजुअल जुत्ता, स्कुल कलेजका युनिफर्मका जुत्ता, जेन्टस तथा लेडिज चप्पल एवं यस उद्योगसँग सम्बन्धित कच्चा पदार्थहरू तथा फुड स्टलहरू छन् । प्रदर्शनीमा अशक्तता तथा ज्येष्ठ नागरिकहरू, स्कुल तथा कलेजबाट अवलोकनका लागी युनिफर्ममा आउने विद्यार्थीहरूलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाएको छ भने राष्ट्रिय पोसाक लगाएर आउनेलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्