लुम्बिनीमा आज सडक खाना महोत्सव «

लुम्बिनीमा आज सडक खाना महोत्सव

रुपन्देही-बुद्धजन्मस्थल लुम्बिनीमा ‘लुम्बिनीमा जाऔं, लुम्बिनीमा खाऔ, लुम्बिनीमा रमाऔ’ नारा सहित आज (सोमबार) लुम्बिनी सडक खाना महोत्सव (स्ट्रिट फुड फेस्टिबल) आयोजना हुँदैछ ।
अंग्रेजी नयाँ वर्ष २०१९ को पूर्वसन्ध्यामा वर्ष २०१८ को अन्तिम दिन ३१ डिसेम्बर (आज सोमबार) सडक खाना महोत्सव हुन लागेको हो । भैरहवा, बेलहिया, लुम्बिनी तथा रुपन्देहीका अन्य क्षेत्रमा रहेका पर्यटकीय होटल तथा रेस्टुराँ व्यवसायीहरूको सस्था सिद्धार्थ होटल एसोसिएसन (सान) नेपाल, लुम्बिनी च्याप्टरको आयोजनामा हुने सडक खाना महोत्सवको तयारी अन्तिम चरणमा पुगेको सानका उपाध्यक्ष तथा सडक खाना महोत्सवका संयोजक मिथुन मान श्रेष्ठले बताए ।
लुम्बिनीको पर्यटन प्रबद्र्धनार्थ आयोजना हुन लागेको यो सडक खाना महोत्सव पहिलो दुई वर्ष नेपाली नयाँ वर्षको अबसरमा र त्यसपछि अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजना हुदै आइरहेको छ । खाना महोत्सवमा ७० भन्दा बढी वटा स्टल रहने र त्यस्मा नेपाली विभिन्न जातजातिका खाना, विदेशीमा भारतिय,चाइनिज, थाई, कम्बोडियन, कोरियन, श्रीलंकन, युरोपियन देशका खानाका परिकारहरूका बिभिन्न स्टल रहने संयोजक श्रेष्ठले बताए ।
पछिल्लो समय लुम्बिनीमा हुने कुनै पनि कार्यक्रमहरूमा सबैको चासोसँगै सहभागिता पनि बढ्दै गएको छ । विगतमा भएका सडक खाना महोत्सवमा उल्लेखिय रूपमा सहभागिता हुँदै आएकोमा यस पटक पनि खानाका पारखीहरूको उपस्थिति रहने आयोजक सस्थाका सदस्य गोबिन्द ज्ञवालीले बताए । सडक खाना महोत्सवमा सहभागिताका लागि लुम्बिनी क्षेत्रका स्थानीय, भैरहवा, बुटवलसँगै रुपन्देहीका अन्य ग्रामीण क्षेत्र, कपिलवस्तु, सीमावर्ती भारतीय बजार तथा लुम्बिनी भ्रमणमा आउने बिदेशी पर्यटकहरूको समेत सहभागिता रहने आयोजकले बताएका छन् ।
सडक खाना महोत्सवमा सहभागी हुन आउनेहरूका लागि लुम्बिनी क्षेत्रका होटल व्यवसायीहरूले आवासमा २५ र बिभिन्न खानामा १५ प्रतिशत छुटको व्यवस्था उपलब्ध हुने आयोजकले जनाएका छन् ।
लुम्बिनीमा हुने सडक खाना महोत्सवलाई पश्चिम नेपालकै विशिष्ट पर्वको रुपमा आयोजना हुने खानाका स्टल मात्र नभई स्थानीय घरेलु सामग्री, ह्यान्डीक्राफ्टस धातु तथा पत्थरका मूर्ति, माला, लोकल गार्मेन्टसका स्टलसमेत रहने हुँदा सहभागी हुन आउनेलाई थप आकर्षण हुने आयोजकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्